र्थमन्त्री डा. रामशरण महतले अर्थतन्त्रका सबै पक्ष सकारात्मक भएकै बेला पनि शेयर बजार गिर्दो अबस्थातिर जानुमा चलखेलले भएको हुनसक्ने आशंका गर्नुभएको छ । आईतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले शेयर बजारमा अस्वभाविक खेल भएको आशंका उब्जिएकाले मन्त्रालय गंभीर भएको जनाउनुभयो । उहाँले शेयर बजार यसरी ओरालो लाग्नुको कारण नभएको भन्दै सरकारले गंभीर ढंगले अध्ययन गरिरहेको पनि उल्लेख गर्नुभयो ।
केही सिमित नाफाखोर ब्यक्तिहरुले बजारलाई प्रभावित पार्ने खेल खेलेको उहाँको आशंका छ । अर्थतन्त्रका सबै सुचक राम्रा र सुचिकृत कम्पनीहरुले आकर्शक लाभांश वितरण गरिरहंदा पनि शेयर बजार घट्नुपर्ने कारण नरहेको उहाँको तर्क छ ।
केही महिना अघि १०८३ विन्दुमा पुगेको नेप्से गत साता ८५० भन्दा तल गएको थियो । महतलाई अर्थतन्त्रका ज्ञाता मानिए पनि उहाँकै कार्यकालमा शेयर बजार निराशा जनक हुनुलाई धेरैले आश्चर्यको रुपमा लिएका छन् । महत नै अर्थमन्त्री हुँदा २०६५ सालमा नेप्से ११७५ को विन्दुमा टेकेको थियो ।
अर्थमन्त्री महतले देशमा विदेशी लगानीको वातावरण बन्दै गएको भन्दै केही महिनाभित्रै जलविद्युत क्षेत्रमा ३ खर्बको लगानी भित्रिने दावी गर्नुभएको छ । त्यसैगरी देशको अर्थतन्त्रलाई सवल बनाउन र ब्यापार घाटा कम गर्न निर्यात प्याकेज घोषणाको तयारी पनि सरकारले गरिरहेको उहाँले जनाउनुभएको छ । यसैबीच, अर्थ मन्त्रालयमा चौविसैघण्टा सेवा उपलब्ध हुने गरी जनगुनासो सुन्न विगुल कक्ष सुरु गरिएको छ ।
Mero Lagani
Nov 30, 2014