Monday, October 20, 2014

केही वित्तीय सस्थामा अझै समस्या छ, राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठको अन्तर्वार्ता

सबैमा होइन, केही सस्थामा यो समस्या छ । संस्थालाई व्यापारीकरण गर्ने, परिवारको व्यवसायजस्तो ठान्ने प्रबृत्ति छ । ती संस्थाहरुले पठाउने विवरण हेर्दा राम्रो देखिन्छ, तर हाम्रो सुपरिवेक्षण समूहले अनुगमन गर्दा उनीहरुले उपलब्ध गराएको विवरणभन्दा ठिक उल्टो अवस्था पनि देखिने गरेको छ ।
---
ऐनलाई मिचेर निर्देशन दिएको भन्ने कुरा गलत होे । हामी ऐनभित्रै रहेर नीति निर्देशनहरु दिन्छौं । सबै कुराहरु ऐनमा उल्लेख भएको हुँदैन । ऐनमा प्रस्ट नभएका कुराहरु त्यसैको मर्मभित्र रहेर हामीले नियमावली, विनियमावली र निर्देशनमार्फत प्रस्ट पारेका हुन्छौं । निक्षेपकर्ताको हितका लागि राष्ट्र बैंकले समय समयमा विभिन्न निर्देशनहरु दिन सक्ने छ भनेर ऐनमा नै लेखिएको छ ।
---
ग्राहकले ऋण लिँदा बैंकलाई के के शुल्क तिर्नुपर्ने हो त, यसका बारेमा उसले थाहा पाउनु पर्छ । बैंक वित्तीय संस्थाले नजिक र टाढाका मान्छेहरुलाई भेदभाव गर्ने अवस्था पनि हुनु भएन । नजिककालाई सेवा शुल्क नलिने, लिए पनि ०.२५ प्रतिशत मात्र लिने, टाढाकालाई दुई प्रतिशतसम्म लिने देखिएको छ । यसमा हामीले कडाइ गर्नुपर्ने देखिएको छ ।
---
संख्या धेरै हुँदा तिनीहरुलाई नियमन तथा निरीक्षण गर्न हाम्रो जनशक्तिले नपुग्ने हुनसक्छ । अहिले भएको संख्यालाई बढाउनु भन्दा सेवा नपुगेका क्षेत्रमा भएकै संस्थाहरुलाई पु¥याउन पहल गरिरहेका छौं । काठमाडौंको रिङरोडभित्र थप शाखा आवश्यक छैन । रिङरोड वाहिर शाखा खोल्नु पर्छ भनेर नीतिगत पहलहरु गरिहेका छौं । सदरमुकाम वा नगरपालिका बाहिर शाखा हुनुपर्छ भनेर त्यही अनुसार काम गरिहेका छौं । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा अस्वस्थ प्रतिस्पर्धा छ ।


केन्द्रिय बैंकको नियमन बलियो नभएका कारण बैंक तथा वित्तीय सस्थामा समस्या देखिएको हो भनेर राष्ट्र बैंककै अधिकारीहरुले स्वीकारेका छन् । अहिले विस्तारै यस्ता समस्या कम हुदै गएका छन् । तर, राष्ट्र बैंकले राम्रा भनेका सस्था केही महिनामै धरासयी पनि हुने गरेका छन् । बिजमाण्डू सम्वाददाता सुदर्शन सापकोटाले नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक मनमोहनकुमार श्रेष्ठलाई सोधे, सबै सूचना हुँदा हुदैपनि केन्द्रिय बैंक नै सस्था धरासयी हुदैछ भन्ने किन ढीला थाहा पाउँछ ?

बैंक तथा वित्तीय संस्थामा देखिएको समस्या केही वर्ष अघिसम्म नियमन कमजोर भएर हो भनिन्थ्यो । अहिले वित्तीय क्षेत्रको अवस्था समग्रमा ठिकठाकै देखिन्छ । अहिले राष्ट्रबैंकको नियमन क्षमता सुदृढ भएको हो ?

बैंक तथा वित्तीय संस्थाहरुका लागि नियमन विभागबाट जारी भएका नीति, निर्देशनहरुको प्रभाव पक्का पनि परेको छ । संस्थागत सुशासनसँग सम्बन्धि हामीसँग आएका उजुरीहरु, कुनै किसिमका जिज्ञासाहरुलाई हामीले धेरै हदसम्म संवोधन गरेका छौं । हामी आफैले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिषयहरुलाई अध्ययन तथा अनुसन्धान गरेर पनि निर्देशनहरु जारी गरेका छौं ।
बाणिज्य बैंकहरुभन्दा पनि केही विकास बैंक र फाइनान्स कम्पनीहरुमा संस्थागत सुशासनका कमजोरीहरु धेरै भेटिएका छन् । उनीहरुको कमीकमजोरीलाई सुधार्न गरिएका कारवाहीको असर अन्य बैंक तथा वित्तीय संस्थाहरुमा पनि परेका कारणले गर्दा तुलनात्मक रुपमा विगतमा भन्दा अहिले पक्का पनि सुशासनमा सुधार आएको छ । हामीले ऋणीलाई पनि बैंकिङ कसुरमा लैजाने प्रकृया अगाडि बढायौं । कतिपयलाई कारवाही गरेका छौं । सम्वन्धित निर्णयकर्ता वा ऋण स्वीकृत गर्ने अधिकारीहरुले गलत नियतबाट निर्णय गरेको रहेछ भने उनीहरुलाई पनि कारवाहीको दायरामा ल्याएका छौं । धितोको अधिक मूल्यांकन गर्ने, कमसल धितोमा ऋण दिने वा धितो राख्नेहरुलाई पनि कारवाही हुन थालेको छ । हाम्रा नीति नियम, कारवाहीबाट अहिले संस्थागत सुशासन बलियो भएको छ ।
हामी नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत कारवाही गर्छौ । ऐनले जरिवानाको व्यवस्था गरेको छ । जरिवाना हुने वित्तिकै सञ्चालकहरु पदबाट बाहिरिन्छन् । यसका कारण सञ्चालकहरु जो पायो त्यही नियुक्त हुने वा जुन पायोत्यही संस्थामा सञ्चालक हुन लगानीकर्ताहरु हच्किरहेको अवस्था छ । गल्ति वा अनियमितता गरे उन्मुक्ति पाउँदैनौं, जुनसुकै बेला कारवाहीमा पर्न सकिन्छ भन्ने सरोकारवालाहरुमा परेको छ । यसले धेरै हदसम्म संस्थाहरुमा सुधार आएको छ ।

बैंक वित्तीय संस्थाका उपल्ला व्यवस्थापक वा सञ्चालकहरु राष्ट्र बैंकको निर्देशन एउटा ठाउँमा छ, हामीले पनि तत्कालको नाफा होइन संस्थालाई बलियो बनाएर लैजानु पर्छ भन्ने ठानेपछि सुशासनका समस्याहरु हट्दै गएको बताउँछन् ?

हाम्रो पनि प्राथमिकता त्यही नै हो । हामीले पनि संस्थाहरुलाई दीर्घकालसम्मका लागि बलियो बनाउनु पर्छ भनेका हौं । क्षणिक मुनाफा देखाउने, मुनाफाका कारण संस्था बलियो देखिने कुराहरु गर्नु हुदैन । बैंक वित्तीय संस्थाका दुई चार वटा ठूला ऋण विग्रिने वित्तिकै ठूलो समस्या आउँछ । बैंक तथा वित्तीय संस्थाले लगानी गरेर विग्रिएका कर्जामा बैंक व्यवस्थापनका कमजोरीहरु देखिन्छन् । कमजोरीहरुलाई हामीले हेर्ने, औंल्याउने हो । सर्ट टर्ममा त्यही संस्थाहरु राम्रो देखिने र निरीक्षणका क्रममा जोखिमको स्तर देखाइ दिएपछि त्यो संस्थामा नराम्रो अवस्था आएका उदाहरणहरु पनि हामीसँग छन् । एउटै क्षेत्रमा बढी लगानी गरिरहेका संस्थाहरुलाई हामीले छरिएर लगानी गर्न भनिरहेका हुन्छौं । उनीहरुको जोडवल त नियमित आम्दानी भइरहेको क्षेत्रमा राष्ट्र बैंकले वेवास्ता गरिदेओस भन्ने हुन्छ । तर हामी जोखिमको स्तर हेरेर उनीहरुका समस्या औंल्याइ दिन्छौं, सुधार गर्न निर्देशन दिन्छौं । जोखिममा आधारित सुपरिवेक्षण गरिरहेका हुन्छौं ।


नेपाल राष्ट्र बैंकले आन्तरिक, वाह्य दुबै निरीक्षण तथा सुपरीवेक्षण गरिरहेको हुन्छ । तपाईले यति भन्दा भन्दै यत्रो निरीक्षण हुने संस्थाहरु एउटा क्वाटरमा धेरै राम्रो तर अर्को क्वाटरमा आउँदा वर्वादै भएको उदाहरण पनि देखिएको छ । राष्ट्र बैंकले किन ढिला थाहा पाउँछ समस्या ? 

कुनै पनि संस्थाहरु एउटा क्वाटरमा ठिक अर्को क्वाटरमा खराव निश्चियनै देखिए । यसमा के हुन्छ भने, आजकाल छ महिना मात्रै पनि ऋण तिर्ने भाका नाघ्यो भने त्यो संस्थाको स्थिति नाजुक हुन्छ । छ महिनामा नै उसको नोक्शानी वापतको रकम (प्रोभिजनिङ) ५० प्रतिशत पुगिसकेको हुन्छ । एउटा ठूलो ऋणको ५० प्रतिशत प्रोभिजनिङ मात्रै भयो भने पनि संस्थाको खराव कर्जा, पुँजी कोषमा असर परिसकेको हुन्छ । मैले भन्न खोजेको संस्थाको अवस्था छ महिनामा नै धेरै फरक भइसकेको हुन्छ । हामीलाई ढिलो थाहा भएर समस्या वाहिर आएको होइन, उनीहरुले दिएको ऋण उठ्ने अवस्था नभएका कारण समस्या भएको हो । छ महिनाअघिको असल कर्जा छ महिनापछि विग्रिएर खराव कर्जामा आउने वित्तिकै संस्था समस्यामा गएको हो । बैंकहरुले कुन कुन क्षेत्रमा कति कति ऋण लगानी गरिरहेका छन् भनेर हामीले विश्लेषण गर्नु परेको कारण नै यही हो । हाम्रो विश्लेषणको निस्कर्षपछि दिएको निर्देशन पालना गरेर कतिपय संस्था सुधार भएर सफल रुपमा सञ्चालन भइरहेका छन् । कतिपयले पालना गर्न नसकेका कारण थप विग्रिएर गएका पनि छन् । 

हामी यसरी बुझौं,  जसले संस्था चलाइरहेका छन् उनीहरु जोखिम न्युनीकरणभन्दा पनि नाफामा नै बढी केन्द्रित हुन्छन् । केन्द्रीय बैंकले नै तिमीहरुको जोखिम यहाँ यहाँ छ भन्दिनु पर्छ, उनीहरु जोखिम विश्लेषण गर्दैनन् ? 

संस्थालाई कसरी अगाडि वढाउने भन्ने सञ्चालक र प्रमुख कार्यकारीको मूख्य भूमिका हुन्छ । उनीहरुको जुन भिजन हुन्छ, जुन किसिमको व्यवसायिकता हुन्छ त्यो कुरा केही संस्थाहरुमा कमजोर देखिन्छ । सबैमा होइन, केही सस्थामा यो समस्या छ । संस्थालाई व्यापारीकरण गर्ने, परिवारको व्यवसायजस्तो ठान्ने प्रबृत्ति छ । ती संस्थाहरुले पठाउने विवरण हेर्दा राम्रो देखिन्छ, तर हाम्रो सुपरिवेक्षण समूहले अनुगमन गर्दा उनीहरुले उपलब्ध गराएको विवरणभन्दा ठिक उल्टो अवस्था पनि देखिने गरेको छ । हामीले पनि सबै फाइल त हेर्ने होइन, स्याम्पल हेर्ने हो । कतिपय विवादमा आएका ऋणहरुको विवरण हेर्छौं, उजुरी परेका फाइलहरु पनि हेर्छौं । मुख्य २० ऋणी वा ३० ऋणीका फाइल हेर्छौं । अफसाइड सुपरिवेक्षणमा राम्रो देखिएको संस्था अनसाइड सुपरिवेक्षण गर्दा पुँजी कोष नपुगेको, खराव कर्जाले आकास छोएको पनि भेटिने गरेको छ । यो किन हुन्छ त भन्दा बैंक तथा वित्तीय संस्था चलाउनेहरुको सर्ट टर्म भिजन भएका कारणले हो । राष्ट्र बैंकको निरीक्षण अहिले आउँदैन, अर्को पटक आउँदासम्म यो फाइल मिलिसकिहाल्छ, अहिले साधारणसभा गरिहालौं, लिनु पर्ने लाभांस पनि लिइहालौं भनेर सोच्ने र त्यही अनुसार लगानी गर्ने प्रबृत्ति पनि देखिन्छ ।  यसवाहेक हामीले विशेष निरीक्षण पर्ने गरिरहेका हुन्छौं । यसमा हामी विशेष कर्जाका फाइलहरुमा केन्द्रीय हुन्छौं । 

तपाईहरुलाई कतिपय अवस्थामा दैनिक, नभए साप्ताहिक त्यो पनि नभए मासिक रिपोर्टिङ हुन्छ । तर पनि संस्थामा भ्वाङ परेपछि मात्र राष्ट्र बैंकले थाहा पाउने गरेको देखिन्छ । यसमा प्रभावका कुरा पनि हुन्छ ? 

त्यस्तो होइन । हामीले ढिलो थाहा पाउने होइन, वाहिर अरुले थाहापाउँदा राष्ट्र बैंकले नै ढिला जानकारी पाएर सुचना यतिखेर आयो भन्ने परेको हो । हामीसँग त अनलाइन तथ्यांकहरु आइरहेका हुन्छन् । हामी अनलाइन तथ्यांकहरुलाई विश्लेषण गर्छौं । विश्लेषणका आधारमा गलत भेटिए सचेत गराउने काम नियमित भइरहेको हुन्छ । निर्देशन पालना भइरहेकोे छ÷छैन भनेर हेर्ने छुट्टै डेक्स छ । उसले आफ्नो नियमित काम गरिहेको हुन्छ । निर्देशनबाट पालन हुन्छ भने सुरुमा निर्देशन दिन्छौं । निर्देशनबाट नभए कारवाही गर्छौं । कतिपयले निर्देशन पालना नगरेका पनि देखिन्छ । 

राष्ट्र बैंकको क्षमता बढाउन धेरै खालका लगानीहरु पनि भइसकेका छन् । समस्या पत्ता लगाउने र सुधारको उपाय अवलम्बनमा राष्ट्र बैंककै जनशक्ति र यसको क्षमता चाही पर्याप्त छ ? 

मुलुकको जनसंख्याको करिव करिव ४० प्रतिशतमा मात्र बैंकिङ सेवा पुगेको छ । अझ ६० प्रतिशतमा पुगेको छैन । संख्यात्मक हिसावले बैंक तथा वित्तीय सस्थाहरु धेरै छन् । संख्या धेरै हुँदा तिनीहरुलाई नियमन तथा निरीक्षण गर्न हाम्रो जनशक्तिले नपुग्ने हुनसक्छ । अहिले भएको संख्यालाई बढाउनु भन्दा सेवा नपुगेका क्षेत्रमा भएकै संस्थाहरुलाई पु¥याउन पहल गरिरहेका छौं । काठमाडौंको रिङरोडभित्र थप शाखा आवश्यक छैन । काठमाडौंको रिङरोड वाहिर शाखा खोल्नु पर्छ भनेर नीतिगत पहलहरु गरिहेका छौं । सदरमुकाम वा नगरपालिका बाहिर शाखा हुनु पर्छ भनेर हामीले त्यही अनुसार काम गरिहेका छौं । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । यस्तो प्रतिस्पर्धाले भोली समस्या पार्न सक्छ ।
हामी आन्तरिक रुपमा पहिलेभन्दा निकै सवल अवस्थामा छौं । अहिले हामीसँग चार वटा त सुपरिवेक्षण विभाग नै छ । एउटा कुरा के हो भने नियमन कहिले पनि पूर्ण हुँदैन । परिवर्तनसँगै नयाँ नयाँ कुरा सृजना हुने भएकाले नियमन पनि पूर्ण हुने कुरा होइन । त्यही भएर सेल्फ रेगुलेसनको कुरा आएको हो । संस्थाहरु स्वशासित भएर गए भने राष्ट्र बैंकले नियमित नियमन गरिरहनु नै पर्दैन । निक्षेप जनताको हो यसलाई जोखिमरहित हिसावले लगानी गर्नु पर्छ भनेर सोच विकास हुने वित्तिकै राष्ट्र बैंकले निर्देशन जारी गरिरहनु पर्दैन ।


राष्ट्र बैंकको नीति निर्देशनका बारेमा टिप्पणी पनि हुन्छ । राष्ट्र बैंकले कुनै नीति निर्देशन जारी गर्छ, तत्कालै त्यसलाई संशोधन वा फिर्ता लिन्छ भन्ने गरिन्छ । यस्ता उदाहरणहरु हामीसँग प्रशस्तै छन् । यसो गर्दा नीतिगत अस्थिरता हुँदैन ? 

तपाई भनेका केही कुरामा सत्यता छन् । विगतमा कहिले काँही त्यस्तो घटना भएका थिए । तर अहिले त्यस्तो भएको छैन । अहिले विभागीय छलफल हुन्छ । त्यसपछि आन्तरिक रुपमा छलफल गर्छौं । यसका लागि एउटा छुट्टै समिति नै छ । नियमन र सुपरीवेक्षण विभागका प्रमुखहरु, विदेशी विनिमय विभागका प्रमुख, दुई जना डेपुटी गभर्नर, कानुन विभागका प्रमुखबीचमा छलफल हुन्छ । छलफल भएपछि निस्किने निष्कर्षलाई आधार मानेर निर्देशन जारी गर्छौ । धेरै वटा चरण पार गरेपछि आएको निर्देशनमा फिर्ता लिने सम्भावना निकै कम हुन्छ । हो, कतिपय कुरा प्राविधिक कारणले भएको हुन सक्छ । सौद्धान्तिक रुपमा ठिक भए पनि प्राविधिक त्रुटीका कारण त्यसमा संशोधन गर्नुपर्ने अवस्था हुन्छ । त्रुटी भयो भने त्यसलाई रियलाइजेसन पनि गर्नुपर्छ । रियलाइजेसनलाई सकारात्मक रुपमा लिनुपर्छ । 


राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको ठूला ठूला कुराहरु मात्र हेर्छ, सर्वसाधारणले पाउनु पर्नेसेवाका बारेमा भने चासो राख्दैन । बैंकहरुले त आफूले जानेर ग्राहकमैत्री सेवा ल्याउँदैनन् भन्ने कमेन्टहरु सर्वसाधारणबाट आउँछ । केन्द्रीय बैंकले यो पक्ष पनि हेर्नुपर्ने होइन ?

सर्वसाधारणले ऋण लिँदा होस् या निक्षेप राख्दा कति शुल्क तिर्नुपर्ने वा प्रतिफल पाउने भन्ने कुरा पारदर्शी हुनुपर्छ । ग्राहकलाई ऋण दिँदा लिने शुल्कका बारेमा हामीले छलफल गर्नुपर्ने अवस्था आएको छ । ग्राहकले ऋण लिँदा बैंकलाई के के शुल्क तिर्नुपर्ने हो त, यसका बारेमा उसले थाहा पाउनु पर्छ । बैंक वित्तीय संस्थाले नजिक र टाढाका मान्छेहरुलाई भेदभाव गर्ने अवस्था पनि हुनु भएन । नजिककालाई सेवा शुल्क नलिने, लिए पनि ०.२५ प्रतिशत मात्र लिने, टाढाकालाई दुई प्रतिशतसम्म लिने देखिएको छ । यसमा हामीले कडाइ गर्नुपर्ने देखिएको छ । बैंकले केमा कस्तो शुल्क लिने भनेर प्रस्ट रुपमा आउनुपर्छ । दुई चार दिन वा साता दिन ऋणको किस्ता नतिरेको अवस्थामा पनि कुल ऋणकै निश्चित प्रतिशत जरिवाना तिर्नु पर्ने कुराहरुमा कडाइ गर्नुपर्ने अवस्था छ । बैंकसँग ग्राहकले सम्झौता चाही गरेको हुन्छ तर उसले नपढी हस्ताक्षर र ल्याप्चे गरेको हुँदा केही पनि थाहा पाएको हुँदैन । सही गरेको होस् या नगरेको होस् यसमा एकरुपता हुनुपर्छ । उसले कति जरिवाना तिर्नु पर्ने हो त ? यसका बारेमा प्रस्ट पार्नका लागि जानकारी इकाइ हुनु प¥यो, वा कतै प्रस्ट देखिने गरि लेखेको हुनु प¥यो अथवा वडापत्रजस्तो केही व्यवस्था गर्नु पर्छ । यस्ता कुरामा आन्तरिक आन्तरिक रुपमा छलफल भइरहेको छ । यो विषय सम्बोधन गर्ने योजनामा छौं । निर्देशन दिनुपर्ने अवस्था छ ।

बैंक तथा वित्तीय सस्थाले एउटै कर्जाको ब्याजमा पनि ५/६ प्रतिशतसम्मको फरक दर तोकेका छन् । स्वस्थ्य अभ्यास त भएन नि यो ?

हामीले यसमा यतिदेखि यतिसम्म व्याज लेउ भन्न मिल्दैन, भन्न पनि हुँदैन । तर ब्याजमा धेरै विविधता नहोस् भनेर स्प्रेड दर कार्यान्वयनमा ल्याएका हौं । स्प्रेड दर आएपछि यसमा धेरै हदसम्म सम्वोधन भएको छ ।

राष्ट्र बैंकको मौद्रिक नीति आउँछ, निर्देशिकाहरु आउँछन्, ती कतिपय अवस्थामा मूल ऐन नै मिचेर आउँछ भन्ने पनि गुनासो तपाईहरु अन्तर्गतकै बैंक तथा वित्तीय संस्थाहरुले लगाउने गरेका छन् । राष्ट्र बैंक किन अपरिपक्क देखिएको ?

ऐनलाई मिचेर निर्देशन दिएको भन्ने कुरा गलत होे । हामी ऐनभित्रै रहेर नीति निर्देशनहरु दिन्छौं । सबै कुराहरु ऐनमा उल्लेख भएको हुँदैन । ऐनमा प्रस्ट नभएका कुराहरु त्यसैको मर्मभित्र रहेर हामीले नियमावली, विनियमावली र निर्देशनमार्फत प्रस्ट पारेका हुन्छौं । निक्षेपकर्ताको हितका लागि राष्ट्र बैंकले समय समयमा विभिन्न निर्देशनहरु दिन सक्ने छ भनेर ऐनमा नै लेखिएको छ । त्यही ऐनभित्र रहेर सर्वसाधारणको बचतलाई सुरक्षित गर्नका लागि हामीले निर्देशन दिन्छौं । सबै विषयलाई सप्रसंग ऐनमा राख्ने कुरा व्यवहारिक पनि हुँदैन । सबै कुरा ऐनमा राख्दा आफै सोच्नुस् ऐन कति मोटो हुन्छ । हामीले जारी गरेका निर्देशनहरु ऐन कानुनकै भित्र रहेर छन् । राष्ट्र बैंकले कानुन मिचेर अपरिपक्क काम गरेको छैन ।

राष्ट्र बैंकको कतिपय निर्देशन एउटा संस्था र व्यक्ति हेरेर आउँछ, जसमा समस्या हो उसैलाई विशेष निर्देशन दिए पुग्ने अवस्थामा पनि समग्रलाई नै प्रभाव पर्ने गरि निर्देशन जारी हुन्छ भन्ने टिप्पणी पनि हुनेगर्छ ?

हामीले निर्देशन त्यतिकै जारी गर्ने होइनौं । निक्षेपकर्ताको हित संरक्षणका लागि निर्देशन दिने हो । कुनै एउटा संस्थामा समस्या देखिएमा त्यो संस्था हुँदै असर अर्कोमा पनि सर्न सक्छ । त्यसैले समस्यालाई जेनरलाइज गरेर सबैलाई मान्य र लागू हुनेगरी निर्देशन दिन्छौं । मानौं हामीले २५ प्रतिशतभन्दा बढी कर्जा रियलस्टेटमा गएको बैंक भेट्यौं भने हामी जोखिम मूल्यांकन गर्छौं । जोखिम वढी भएपछि २५ प्रतिशतभन्दा कममा कर्जा झार्न निर्देशन दिन्छौं । कसैले १० प्रतिशत मात्र त्यो क्षेत्रमा कर्जा लगानी गरेको हुन्छ । अब २५ प्रतिशतवालाले त्यसलाई सीमाभित्र ल्याउनु पर्छ । १० प्रतिशत हुनेले पनि यो क्षेत्र जोखिम छ यसमा २५ प्रतिशतभन्दा वढी जानु हुँदैन भनेर आन्तरिक विश्लेषण र कार्यान्वयन गर्ने अवसर पाउँछ । कुनै एउटा संस्थामा विशेष प्रकारको समस्या छ भने उसलाई मात्र पनि निर्देशन दिएका छौं । तर नीतिगत समस्याका कुराहरु हल गर्न भने सबैलाई लागू हुने गरी निर्देशन दिनु पर्नेहुन्छ । हाम्रा निरीक्षकहरु सबै संस्थामा पुगेका हुन्छन् । उनीहरुले औल्याएको समस्याहरुलाई समाधान गर्न पनिसबैलाई लागू हुने गरी निर्देशन दिएका हुन्छौं ।

राष्ट्र बैंक वाहेक अरु पनि नियामक निकायहरु छन् । कतिपय मुद्दाहरुमा एउटा नियामकले लिएको निर्णयको असर अर्को नियामकको कार्यक्षेत्रलाई पनि छुन्छ । अरु नियामकका प्रमुखहरुले हामीसँग के भन्नु हुन्छ भने, राष्ट्र बैंक स्वायत्त छ, हामी छैनौं त्यही भएर उसले मिचाहा प्रबृत्ति देखाउँदै अर्काको कार्यक्षेत्रभित्रका बिषयमा पनि आफ्नो निर्णय लाद्छ ?

त्यसो होइन । हामीसँग एउटा समिति छ, जहाँ सबै नियामक निकायका अधिकारीहरु हुनुहुन्छ । यसमा धितोपत्र वोर्ड, स्टक एक्सचेन्ज, बिमा समिति, कम्पनी रजिस्ट्रारको कार्यालय छन् । मेरो संयोजकत्वमा नै यो समिति सञ्चालित छ । तपाईले भनेजस्तै अरु नियामक निकायको कार्यक्षेत्रलाई पनि धेरथोरे छुने बिषयहरुमा हामी त्यो समितिमा छलफल गर्छौं । असरको मूल्यांकन गर्छौ । त्यतिकै हामीले निर्देशन जारी गर्ने होइन । एउटा नियामकका कारण अर्कोको काम सहज रुपमा हुन नसक्ने अवस्था हुन्छ । त्यही भएर यस्ता विषयहरुलाई समाधान गर्न, छलफल गर्न र एकले अर्कालाई सहयोग पुर्याउनका लागि नै यो समिति बनाइएको हो । समिति कार्यान्वयनमा आएदेखि तपाईले भनेजस्ता समस्याहरु आएका छैनन् । एउटाको निर्णयले अर्कोलाई छुने अवस्था आए हामी महिनामा नियमित एक/दुई पटक छलफल गरिरहेका हुन्छौं । bizmandu

अरुण काबेलीको सेयर निष्कासन प्रस्ताव चौथो बार्षिक साधारण सभामा, सभा कात्तिक २२ गते हुने

काठमाडौं। अरुण काबेली पावर कम्पनीले पनि सर्वसाधारणमा सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले काबेली बी १ जलविद्युत् आयोजना निर्माणको लागि सेयर निष्कासन प्रस्ताव चौथो बार्षिक साधारण सभामा लैजादै छ। कम्पनीको कात्तिक २२ गते बार्षिक साधारण सभा हुने भएको छ।कम्पनीले बार्षिक साधारण सभामा अधिकृत पूँजी एक अर्ब २० करोडबाट एक अर्ब ५० करोड र जारी पूँजी एक अर्ब २० करोडबाट एक अर्ब ४० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि लैजादै छ। 
 
काबेली बी १ जलविद्युत्को पूर्ण क्षमता २५ मेगावाट रहेको छ। कम्पनीले बिसं २०६९ असार २९ गते विद्युत् खरिद सम्झौता गरिसकेको छ। कम्पनीले तेस्रो बार्षिक प्रतिवेदन अनुसार १० प्रतिशत सेयर स्थानिय बासिन्दा र ३९ प्रतिसत सेयर सर्वसाधारणको लागि जारी गर्ने लक्ष्य गरेको थियो। 
 
अरुण काबेली पावर, अरुण हाइड्रोपावरको सहायक कम्पनी हो। कुल लगानी  उठाउन सक्ने अवधि (पे ब्याक पिरियण) १०.६० बर्ष हुने प्रक्षेपण कम्पनीको छ। 
bizmandu

एनएमबी बैंकले अतुल्य बचत खाता सुरु गर्यो, ५.५ प्रतिसत व्याज दिने, न्युनमत मौज्दात १० हजारसम्म


काठमाडौं। एनएमबी बैंकले आकर्षक व्याजदरसहित नयाँ बचत योजना सुरु गरेको छ। बैंकले वार्षिक साढे पाँच प्रतिसत व्याज दिनेगरी 'एनएमबी बैंक अतुल्य बचत'  योजना लागु गरेको हो। बढी प्राप्त गर्नुहोस् भन्ने सारका साथ प्रवर्द्धन गरिएको सो खाताको न्यूनतम आवश्यक मौजदात दुई हजार पाँच सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म तोकिएको बैंकले जनाएको छ। 

क्षेत्र अनुसार न्युनतम मौज्दातको सीमा तोकिएको हो।   बैंकले यो खाता खोल्नेहरुलाई हरेक तीन महिनामा व्याज भुक्तानी दिनेछ। खातावाल व्यक्तिले निःशुल्क इन्टरनेट बैंकिङ्गका साथै डेबिट कार्डमा छूट सुविधा पाउने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।bizmandu

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा महेश ढकाल, चार वर्षको कार्यकाल

काठमाडौं। टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा महेश ढकाललाई नियुक्त गरेको छ। ढकाल चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले आइतबार देखि पदभार सम्हालेका छन्।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढकालसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ। यस अघि उनले नेपाल बैंक लिमिटेड, कमर्ज एण्ड ट्रष्ट बैंक लिमिटेड र सिद्धार्थ बैंकमा काम गरिसकेका छन्। सिद्धार्थ डेभलपमेण्ट बैंकमा उनी प्रमुख कार्यकारी अधिकृत नै थिए।

-bizmandu

किन भयो डिम्याट गरिएका शेयर धितोमा ऋण लिन समस्या ?

केन्द्रीय निक्षेप प्रणालीले आंशिक रुपमा काम गर्न थालेपछि अभौतिक (डिम्याट) गरिएका शेयर प्रमाणपत्र धितो बन्धक राखेर बैंक तथा बित्तीय संस्थाहरुबाट ऋण लिन लगानीकर्तालाई समस्या भएको छ ।
 नेपाल राष्ट्र बैंकले कागजी शेयर प्रमाण पत्र वा खाली हस्तान्तरणमा रहेका शेयरहरुलाई खरिद रसिद र शेयर दलालले गर्ने प्रमाणिकरण पत्रलाई धितो राखेर मात्र ऋण दिन सकिने नीतिमा परिवर्तन नगरेका कारण सीडीएस लागु भएपछि शेयर डिम्याट गराएका लगानीकर्ताहरुले समस्या ब्यहोर्नु परेको हो । बैंक तथा बित्तीय संस्थाका ऋण अधिकारीहरु राष्ट्र बैंकले नीतिमा परिवर्तन नगरेसम्म डिम्याट शेयरमा ऋृण प्रवाह गर्न नसकिने बताउंछन् । डिम्याट गरिएका शेयरहरु तत्काल धितो बन्धक राखी ऋण लिन समस्या भएकाले कतिपय लगानीकर्ताहरु शेयर डिम्याट गराउन समेत आनकानी गरिरहेका देखिएको छ । 
 
नेपाल स्टक एक्सचेन्ज र सीडीएससीले गत असोज २० गते यता खरिद गरिएका बाणिज्य बैंकहरुको शेयर नामसारीमा पठाउंदा खरिदकर्ताले अनिवार्य रुपमा हितग्राही खाता खोलेको हुनुपर्ने र शेयर प्रमाण पत्र अभौतिक रुपमा मात्र प्राप्त गर्नसक्ने ब्यवस्था गरेको छ । राष्ट्र बैंकको पहिलेको नीतिमा परिवर्तन नभएका कारण बैंक तथा बित्तीय संस्थाबाट ऋण लिन समस्या पर्ने देखि कतिपय लगानीकर्ताले खरिद गरेको शेयर खाली हस्तान्तरणमै राख्ने वा शेयर खरिद गर्न चाहना नगर्ने प्रबृत्ति देखिएको छ । धेरै बैंक तथा बित्तीय संस्थाहरुले क बर्गका बाणिज्य बैंकहरुको शेयरलाई बढी महत्व दिई  धितो स्वीकार गर्ने हुँदा शेयर कर्जा लिन चाहने लगानीकर्ताहरुले बाणिज्य बैंकहरुकै शेयर उठाउने गरेका थिए । 
 
सीडीएससीले शेयर अभौतिक गरिए पछि धितो बन्धक तथा रोक्का गर्न सहज हुने, प्रमाणपत्रको नामसारी प्राप्त गर्न समय नलाग्ने, प्रमाणपत्र हराउने, चोरिने, किर्ते वा जालसांझीको जोखिम नहुने भन्दै लगानीकर्ताहरुलाई हितग्राही खाता खोलेर आफ्नो स्वामित्वमा भएका शेयरहरु डिम्याट गराउन आब्हान गरिरहेको छ । तर, लगानीकर्ताले ऋण लिन समस्या भागेको बारेमा भने निमायक निकायहरुले ठोस पहल गरेका छ्रैनन् । 
 
छलफल गर्दैछौंः राष्ट्र बैंक
 
राष्ट्र बैंकले डिम्याट शेयर धितो राखेर बैंक तथा बित्तीय संस्थाबाट ऋण लिने बारेमा तत्काल कुनै ब्यवस्था नभएको जनाएको छ । राष्ट्र बैंकका प्रबक्ता मनमोहन कुमार श्रेष्ठले डिम्याट शेयरमा ऋण लिने दिनेबारे तत्काल कुनै ब्यवस्था नभएको स्पष्ट पार्दै  लगानीकर्ताहरुले भोग्नु परेको समस्याबारे अन्य निमायक निकायहरुसँग छलफल थाल्ने तयारी भएको जानकारी दिनुभयो । 
 
उहाँले कागजी शेयर प्रमाण पत्र वा शेयर खरिद रसिद र शेयर दलालको जमानतमा ऋण दिने ब्यवस्था मात्र विद्यमान रहेकाले त्यसमा परिवर्तनका लागि ब्यापक छलफलको आबश्यकता छ भन्नुभयो । राष्ट्र बैंकले कहिलेसम्ममा नयाँ निर्देशन जारी गरी डिम्याट शेयर धितो बन्धक राखेर ऋण उपलब्ध गराउन बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन देला त ? भन्ने मेरोलगानी डटकमको प्रश्नमा उहाँले कुनै समयसीमा तोक्न चाहनुभएन ।