नेपाल बैंक लिमिटेडको विशेष साधारणसभा मंसिर २८ मा हुने निश्चित भएको छ । विदेशी ब्यवस्थापन समूह र नेपाल राष्ट्र बैंकको पहलमा उल्लेखनीय सुधार भएपछि विशेष साधारणसभा गरेर निर्वाचित संचालक समितिलाई बैंक हस्तान्तरण गर्न लागिएको हो ।
झण्डै १६ बर्षपछि नेपाल बैंकको साधारणसभाको मिति तोकिनुले त्यसका लगानीकर्ताहरुलाई उत्साहित बनाएको छ ।
बैंकमा ६२ प्रतिशत सरकारको र ३८ प्रतिशत सर्वसाधारणको स्वामित्व रहेकाले अधिकांश संचालक समिति सदस्यहरु सरकारले नै मनोनीत गर्ने भएको छ । मंसिर २८ को साधारणसभाले सर्वसाधारणतर्फबाट २ संचालकको निर्वाचित गर्ने छ । राष्ट्र बैंकले पठाएको प्रा. डा देबराज अधिकारी नेतृत्वको ब्यवस्थापन समितिलाई यही मंसिर मसान्तसम्म साधारणसभा गरी बैंक निर्वाचित संचालक समितिलाई हस्तान्तरण गर्ने कार्यादेश छ ।
बैंकको शाखा संजाल, जनशक्ति र सम्पति अधिक रहेका कारण कुशल ब्यवस्थापन भएमा आगामी दिनमा धेरै प्रगति गर्नसक्ने संभावना छ । नेपालको सबैभन्दा जेठो नेपाल बैंकले आधुनिक बैंकिङ प्रणालीको विकास गर्दै अन्य प्रतिस्पर्धी निजी बैंकहरुकै तुलनामा ग्राहकहरुलाई सेवा दिन थालेको छ ।
नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा गत बर्षको सोही अबधिको तुलनामा १ हजार १ सय ७५ प्रतिशत भन्दा बढीले खुद नाफा गर्न सफल भएको छ । बैंकले यस त्रैमासमा २६ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी २७ रुपैयाँ कायम गरेको छ । गत बर्षको पहिलो त्रैमासमा खुद नाफा २ करोड ११ लाख मात्र थियो । बैंकको निस्क्रिय कर्जा ४.७८ प्रतिशत मात्र छ । बैंकको निक्षेप लागत निकै कम अर्थात ३.४९ र मूल्य आम्दानी अनुपात १४.३६ रहेको छ । बैंकले सम्पति बिक्री र २ अर्बको डिबेन्चर जारी गरेर पूँजी कोष बढाउने नीति लिएको छ ।
No comments:
Post a Comment