Thursday, November 20, 2014

सोल्टी होटलले ४० प्रतिशत बोनससहित ५८ प्रतिशत लाभाशं बाँडने

सोल्टी होटल लिमिटेडले गएको आर्थिक वर्षको खुद नाफाबाट ४० प्रतिशत बोनस सेयर र १७.८९ प्रतिशत नगद लाभाशं दिने भएको छ । होटलको १९६ औं सञ्चालक समितिको बैठकले उक्त लाभाशं प्रस्तावलाई आउँदो बार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो । 
यस होटलको प्रतिकित्त १० रुपैंया दरका तीन करोड ८७ हजार १९१ कित्ता शेयर नेप्सेमा सुचीकृत छ । नेपाल स्टक एक्सचेन्जको धितोपत्र बजारमा यसको प्रतिकित्ता शेयर ५८९ रुपियाँमा खरिद बिक्री भइरहेको छ । 
सोल्टीले गत वर्ष पहिलो त्रैमासिकमा दुई करोड ३१ लाख रुपियाँ आम्दानी गरेकोमा यस वर्षको त्रैमासिकमा उक्त आम्दानी घटेर दुई करोड ६१ लाख रुपैंयामा सीमित रहेको छ । होटलको पहिलो त्रैमासको प्रतिशेयर आम्दानी ८७ पैसा मात्रै रहेको छ । कम्पनीले आउँदो पुस २७ मा ४०औं बार्षिक साधारणसभा गर्ने सुचना प्रकाशित गर्दै मङ्सिर २८ गतेदेखि शेयरधनी दर्ता किताब बन्द हुने जानकारी दिएको छ । 
 
सार्क सम्मेलनको क्रममा यसपटक धेरै काम सोल्टीले पाएकाले उसको आम्दानी बढ्ने देखिएको छ । 
from:Mero Lagani

कौडीको भाउमा एक्विजिशन गर्ने सिटिजन्स बैंकप्रति राष्ट्र बैंकका अधिकारीको चासो

बैंकर्स संघका अध्यक्षसमेत रहेका सिटिजन्स बैंक इन्टरनेश्नलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा रहेको एक्विजिशनसम्वन्धी नयाँ व्यवस्थालाई टेकेर समस्यामा परेका बैंक, वित्त कम्पनीलाई कौडीको भाउमा आफ्नो बैंकमा गाभ्ने रणनीति अपनाएका छन् । 
विगतमा सिटिजन्स् बैंकको प्रमुख लगानीकर्ता रहेका पूर्व मुख्यसचिव डा. विमल कोइराला, डा. आरजु देउवा, डा. रामशरण महतकी पत्नि विना महतको सेयर खरिद गरेपछि उनी समस्यामा परेका बैंक, वित्तीय संस्थालाई कौडीको भाउमा आफ्नो संस्थामा गाभ्ने रणनीतिमा लागेका हुन । बैंकको यस रणनीतिप्रति राष्ट्र बैंक पनि सन्तुष्ट नभएको बुझिएको छ । 
 
पछिल्लो पटक सिटिजन्स् बैंकसँग गाभिएको पिपल्स फाइनान्सको शेयर ३० प्रतिशत स्वाप रेसियोका दरले खरिद गरिएको थियो । यसबाट उक्त फाइनान्सका शेयरधनी चिढिएका छन् । उता यस अगाडि गाभिएको नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्सको शेयर स्वाप रेसियो ३५ थियो ।
 
स्रोतका अनुसार सिटिजन्स् बैंकसँग गाभ्ने प्रक्रियामा रहेको प्रिमियर फाइनान्सको शेयर स्वाप रेसियो २५ प्रतिशत प्रस्ताव गरिएको छ । सस्तो मूल्यमा साना कम्पनीलाई गाभिरहेको बारेमा बैंकका अधिकारीहरु भने विस्तृत जानकारी दिन तयार देखिएनन् । 
 
सिटिजन्स बैंकको चुक्ता पूँजी दुई अर्ब ३७ करोड रहेकोमा नेपाल हाउजिङ, पिपल्स फाइनान्स गाभिएपछि दुई अर्ब ५० करोड नाघ्ने छ । हाल पिपल्स फाइनान्सको चुक्ता पूँजी २९ करोड ५६ लाख रुपैंया रहेको छ भने नेपाल मर्चेन्टको १९ करोड १२ लाख रहेको छ । 

copy:Mero Lagani 
Nov 19, 2014

Monday, November 17, 2014

एनसिसी र एनबीका साझा लगानीकर्ता भएको भन्दै बंगलादेशी साझेदारसँग छलफल, पुससम्म साधारणसभा

काठमाडौं। नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक र एनबी (नेपाल बंगलादेश बैंक) को मर्जर प्रकृया अगाडि वढेको छ। नेपाल राष्ट्र बैंकको पहलमा दुई कम्पनी मर्जर प्रकृया अगाडि वढेको हो।
 
सञ्चालक समिति जिम्मा लिएको राष्ट्र बैंकले एनसिसी बैंकको मर्जरका लागि संस्थापक सेयरधनीहरुसँग छलफल गरिसकेको छ भने एनबी बैंकको बंगलादेशी साझेदारसँग पनि कुराकानी गरेको छ। 
 
'हामीले दुवै संस्थाका प्रमुख सेयरधनीहरुसँग कुराकानी गरिसकेका छौं,' नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बिजमाण्डूसँग भने, 'दुबै बैंकमा साझा साझेदार भएका कारण मर्जरका लागि छलफल चलाएका हौं।' उनले बंगलादेशी साझेदारहरु मर्जरको बिषयमा सकारात्मक रहेको जानकारी दिए ।
 
सुरुमा एनसिसी बैंकमा सञ्चालक समिति अध्यक्ष भएर गएका निरौलाका अनुसार, सञ्चालक समिति जिम्मा लगाउनुअघि बैंकलाई मर्जरमा लैजाने प्रकृया थाल्नु पर्ने हुन्छ, यसका लागि पहल सुरु भइसकेको छ। 'एउटै समूह प्रबर्द्धक रहेको बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर पहिलो प्राथमिकता हो,' उनले भने।
 
राष्ट्र बैंकबाट खटिएको सञ्चालक समितिले बैंकको ०.५ प्रतिशतभन्दा वढी संस्थापक सेयर भएका लगानीकर्तासँग मर्जरको बारेमा छलफल गरिसकेको छ। प्रवर्द्धकहरुले राष्ट्र बैंकलाई मर्जरमा जाने बिषयलाई सकारात्मक रुपमा लिँदै प्रकृया अगाडि वढाउन आग्रहसमेत गरिसकेका छन्। 
 
बैंकले पुँजी बृद्धिका दागि ३८ प्रतिशत वोनस सेयर जारी गर्ने निर्णय पनि गरिसकेको छ। राष्ट्र बैंकले नै सञ्चालक समिति हेरिरहे पनि बैंकको साधारणसभा गर्ने मिति भने टुङ्गो लागिसकेको छैन। 'पहिले मर्जर टुङ्गो लगाएपछि साधारणसभा हुन्छ,' उनले भने, 'बढीमा पुस मसान्तसम्म साधारणसभा गर्ने योजना छ।'
 
राष्ट्र बैंकले यसअघि पनि एउटै प्रवर्द्धक समूह रहेका फरक संस्थालाई निर्देशन दिएर नै मर्ज गर्न लगाएको थियो। ग्लोबल बैंकसँग आइएमइ फाइनान्सियल इन्स्टिच्युट र एनआइसी बैंकसँग बैंक अफ एसिया नेपाल मर्ज भएको थियो। यसबाहेक अरु संस्था पनि एउटै प्रबर्द्धक रहेका कारण मर्जमा गएका थिए।
 
राष्ट्र बैंकले पुसभित्रै दुई आर्थिक बर्षको बार्षिक साधारणसभा गर्ने योजना बनाएको छ। बैंकको व्यवस्थापन पनि धेरै ढिला नगरी साधारणसभा सक्ने योजनामा छ। 
 
बैंकको अहिले चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ छ। असार मसान्तसम्म बैंकले दुई अर्ब पुँजी पुर्‍याउनु पर्ने राष्ट्र बैंकको निर्देशन नै छ। बैंकले दुई अर्ब पुँजी पुर्‍याउन करिव ३८ प्रतिशत वोनस सेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ।
Bizmandu

विराटलक्ष्मीले ४७.२३ प्रतिशत लाभांस दिने, ४५ प्रतिशत वोनस सेयर, निक्षेप चार अर्ब रुपैयाँ नजिक

काठमाडौं। विराटलक्ष्मी विकास बैंकले ४७.३७ प्रतिशत लाभांस दिने भएको छ। बैंकले सञ्चित नाफाबाट लाभांस दिन लागेको हो। बैंकले ४५ प्रतिशत वोनस सेयर र २.३७ प्रतिशत नगद लाभांस दिन लागेको हो। 
 
विकास बैंकको आइतवार बसेको सञ्चालक समितिको बैठकले बोनश सेयर वितरणको प्रस्ताव पारित गरेको हो। बैंकको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेपछि बार्षिक साधारणसभाले अनुमोदन गर्नु पर्छ। त्यसपछि मात्र लगानीकर्ताले पाउने छन्। 
 
बैंकको हाल तीन अर्व ८८ करोड २२ लाख ७९ हजार निक्षेप संकलन गर्नका साथै दुई अर्व ५६ करोड २६ लाख ९६ हजार कर्जा लगानी रहेको छ।  
- See bizmandu

दुई दिनमा बजार ३३ अंकले घट्यो, सोमबार मात्रै १८ अंकले गिरावट, कारोबार रकम घट्यो

काठमाडौं। सेयर बजार दुई दिनमा ३३ अंकले घटिसकेको छ। सोमबार मात्र बजार १८ अंकले घटेको छ। तर बजार घट्नु पर्ने खासै कारण नरहेको सरोकारवालाहरुले बताएका छन। अहिले पहिलो त्रैमाशको वित्तीय विवरण प्रकासित गरेका कम्पनीहरुले राम्रो पफर्मेन्स गरेको देखिन्छ। सञ्चिती नोक्सानमा रहेका कम्पनीको पनि यस्तो नोक्सान घटेको देखिन्छ, सेयर विश्लेषक अमृतनाथ रेग्मीले भने। 

अहिलेको मुख्य समस्या भनेकै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्तालाई खाता खोल्ने र डिम्याट कारोबार गर्ने बारेमा स्पष्ट रुपमा बुझाउँन नसकेकोले हो, रेग्मीले भने। उनले चुक्तापूँजी वृद्धि गरिसकेका बैंक तथा वित्तीय संस्थाले नगद लाभांशमा जोड दिनु, राजनीतिमा अस्थिरता देखिनुले पनि बजार घटेको बताए। 
प्रिमो सेक्युरिटिजका प्रमूख कार्यकारी अधिकृत मेघनाथ उपाध्यायले भने केही लगानीकर्ताहरु अहिले लघुविद्युत् क्षेत्रमा आकर्षित भएकोले पनि बजारमा थप लगानी भित्रिन नसकेको बताउँछन। ‘ अहिले काठमाडौंमा २०, २५ लाख हुनेहरु पश्चिम तिर एक दुई मेगावाट जलविद्युत्मा लगानी गरिरहेका छन्, ’ उपाध्यायले भने। 
बजार घट्नुमा सीडीएससी सञ्चालन प्रक्रियाबारे बढेको अन्यौल र राजनीतिक अस्थिरतालाई नै लगानीकर्ताहरुले मुख्य कारणको रुपमा लिएको उपाध्याायको पनि तर्क छ। तर बजार घटेको समयमा प्रवेश गर्नु उत्तम हुने भन्दै लगानीकर्ताहरुलाई यो समय बजार भित्रिन उनीहरुले सुझाव दिएका छन। 
सबै उपसुचकहरु झरेका छन्। सबैभन्दा वढी जलविद्युत् ७८.५२ अंक, बिमा ५१.२३ अंकले घटेको छ। यसैगरी बैंकिङ सुचक १९.०६ अंकले घटेको छ भने होटल, विकास बैंक उत्पादनमूलक तथाअन्य सुचक १० अंक माथिले घटेको छ। कम घट्ने फाइनान्स सुचक मात्र छ।

बीटी लोन जारी हुन ठप्प जस्तै रहेकोले पनि बजारमा लगानी बढ्न सकेको छैन। बजार घटेको मौकमा लगानीकर्ताहरुले बैंकहरुको सेयर भने उठाइरहेका छन। यस दिन सबैभन्दा धेरै रकमको कारोबार हुने १० मा सात कम्पनी वाणिज्य बैंक रहे। 


चिलिमे जलविद्युत्काे सबैभन्दा धेरै दुई करोड २७ लाख रुपैयाँको कारोबार भयो। त्यस्तै, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश, नेपाल बैंक, सिभिल, नबिल, एनआइसी एसीया, बिराट लक्ष्मी बिकास , नेशनल हाइड्रोपावर, एनसीसी बैंकको सबैभन्दा धेरे रकमको कारोबार भएको हो। 
क वर्गमा सुचिकृत कम्पनीहरुको सुचक पनि चार अंकले घटेको छ। बजारमा १९ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। १२९ वटा कम्पनीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
bizmandu

नेपाल बैंकको विशेष साधारणसभा मंसिर २८ मा, सर्वसाधारणतर्फका २ संचालक चुनिने

नेपाल बैंक लिमिटेडको विशेष साधारणसभा मंसिर २८ मा हुने निश्चित भएको छ । विदेशी ब्यवस्थापन समूह र नेपाल राष्ट्र बैंकको पहलमा उल्लेखनीय सुधार भएपछि  विशेष साधारणसभा गरेर निर्वाचित संचालक समितिलाई बैंक हस्तान्तरण गर्न लागिएको हो ।
झण्डै १६ बर्षपछि नेपाल बैंकको साधारणसभाको मिति तोकिनुले त्यसका लगानीकर्ताहरुलाई उत्साहित बनाएको छ । 
बैंकमा ६२ प्रतिशत सरकारको र ३८ प्रतिशत सर्वसाधारणको स्वामित्व रहेकाले अधिकांश संचालक समिति सदस्यहरु सरकारले नै मनोनीत गर्ने भएको छ । मंसिर २८ को साधारणसभाले सर्वसाधारणतर्फबाट २ संचालकको निर्वाचित गर्ने छ । राष्ट्र बैंकले पठाएको प्रा. डा देबराज अधिकारी नेतृत्वको ब्यवस्थापन समितिलाई यही मंसिर मसान्तसम्म साधारणसभा गरी बैंक निर्वाचित संचालक समितिलाई हस्तान्तरण गर्ने कार्यादेश छ । 
बैंकको शाखा संजाल, जनशक्ति र सम्पति अधिक रहेका कारण कुशल ब्यवस्थापन भएमा आगामी दिनमा धेरै प्रगति गर्नसक्ने संभावना छ । नेपालको सबैभन्दा जेठो नेपाल बैंकले आधुनिक बैंकिङ प्रणालीको विकास गर्दै अन्य प्रतिस्पर्धी निजी बैंकहरुकै तुलनामा ग्राहकहरुलाई सेवा दिन थालेको छ । 
नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा गत बर्षको सोही अबधिको तुलनामा १ हजार १ सय ७५ प्रतिशत भन्दा बढीले खुद नाफा गर्न सफल भएको छ । बैंकले यस त्रैमासमा २६ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी २७ रुपैयाँ कायम गरेको छ ।  गत बर्षको पहिलो त्रैमासमा खुद नाफा २ करोड ११ लाख मात्र थियो । बैंकको निस्क्रिय कर्जा ४.७८ प्रतिशत मात्र छ । बैंकको निक्षेप लागत निकै कम अर्थात ३.४९ र मूल्य आम्दानी अनुपात १४.३६ रहेको छ । बैंकले सम्पति बिक्री र २ अर्बको डिबेन्चर जारी गरेर पूँजी कोष बढाउने नीति लिएको छ ।

अब एनसेलको नेटवर्कबाट बिजमाण्डू अनलाइन निशुल्क हेर्न सकिने, यसरी गर्नुहोस् एक्टिभेट

काठमाडौं। देशकै प्रमुख मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले न्युज प्याक नामक विशेष अफर ल्याएको छ। यसअन्तर्गत  एनसेलका ग्राहकले अब तीन वटा समाचार वेबसाईट निःशुल्क ब्राउज गरी समाचार तथा समसामयिक विषयको जानकारी प्राप्त गर्न सक्नेछन्।
न्युज प्याक कात्तिक २६ गतेबाट लागु हुनेछ। यसअन्तर्गत एनसेलका ग्राहकले  प्याक एक्टिभेट गरी तीन वटा समाचार पोर्टल www.bizmandu.com, www.onlinekhabar.com तथा www.setopati.com निःशुल्क ब्राउज गर्न सक्नेछन्।
नसेलका ग्राहकले www.ncellsansar.com.np मा गई त्यहाँ रहेको न्युज प्याकको आइकनमा क्लिक गरेर सहजै न्युज प्याक सुचारु गर्न सक्नेछन्। प्याक एक्टिभेट नगरि यी वेबसाईट ब्राउज गरेमा नियमित डाटा शुल्क लाग्नेछ। यी वेबसाईटमा रहेका बाहिरी लिङ्क र भिडियो लिङ्क प्रयोग गरेमा पनि नियमित डाटा शुल्क लागु हुनेछ। प्याक अन्तर्गतको सुविधा प्रोक्सी ब्राउजर रहेका मोवाईल सेटमा लागु हुने छैन।
आफ्ना ग्राहकलाई सूचना, समसामयिक विषयको ज्ञानमा सहज पहुँच पुर्‍याउने प्रतिबद्धता अन्तर्गत विभिन्न अफर ल्याउने क्रममा एनसेलले न्युज प्याक ल्याएको एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले जानकारी दिइन्।
'निःशुल्क विकिपिडिया पश्चात आएको यो अफरले हाम्रा ग्राहकलाई नेपाल तथा विश्वका ताजा खवर तथा समसामयिक विषयबारे जानकारीमा सहज पहुँच पुर्‍याइ उनीहरुलाई सुसूचित रहन योगदान पुर्‍याउने छ,' कोइरालाले भनिन्।  यो अफर ३ महिनासम्म जारी रहने छ।

copy pest: Bizmandu