Thursday, December 11, 2014

साताको अन्तिम दिनको शेयर कारोबारमा उत्साहजनक बृद्दि, नेप्सेमा बुल आउने संकेत हो ?

नेपाल स्टक एक्सचेन्जमा बिहीबार भएको शेयर कारोबार १५ अंक भन्दा बढीले नेप्से बढेपछि लगानीकर्ताहरुको ध्यान फेरि बजारतर्फ तानिएको छ ।
सबै समूह सूचकहरु सकारात्मक भएर कारोबार रकममा अघिल्लो दिनको तुलनामा ५ करोड भन्दा बढीले बढोत्तरी भई १८ करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भएपछि लगानीकर्ताहरु उत्साहित बनेका छन् । 

जलविद्युत, होटल, बैंकिङ र बीमा समूहमा उच्च अंकको बढोत्तरीले नेप्सेलाई १५ अंकको छलाङ मार्न सहयोग पुर्याई परिसुचक ८७० मा उक्लिएको छ । सुरुदेखि क्रमशः बढ्दो प्रबृत्ति देखिएर अन्त्यसम्म त्यही क्रममा कारोबार बन्द हुनुले बजारले “बुलिस” प्रबृत्ति देखाएको विश्लेषण गर्न थालिएको छ । 
अन्य आर्थिक सूचकहरु सकारात्मक रहेको अबस्थामा बैंकहरुमा अधिक तरलता भई अन्यत्र लगानी गर्न नसकी सजिलो क्षेत्र शेयर बजारमा ८ प्रतिशत भन्दा कम ब्याज दरमा कर्जा प्रबाह गर्न थालेको, राजनीतिक वातावरण पनि क्रमशः थिग्रिने अबस्थातिर गएको विश्लेषण गरी लगानीकर्ताहरुले शेयर उठाउँन थालेको संकेत मिलेको छ ।
 
   
संस्थागत लगानीकर्ताहरुले बजारमा सर्वसाधारण लगानीकर्ताले चालै नपाउने गरी सकेसम्म घटाएर शेयर खरिद गरेका र सामान्य लगानीकर्ताहरुले पनि रकमको जोहो गरी खरिद गर्ने क्रम बढाएको शेयर दलाल सम्बद्द सुत्रले जनाएको छ । केही दिनदेखि चलिरहेको यो क्रम बुधबार र बिहीबारको कारोबारले भंग गरेपछि बजारमा खरिदकर्ताको चाप बढ्न पुगेको हो ।
केही दिनअघिसम्म संस्थागत र ठूला लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा थिए भने अहिले उनीहरु बिस्तारै सक्रिय बन्न थालेका छन् । उनीहरु मध्ये अधिकांश बजार घटेर थिग्रिने न्युनतम बिन्दुको पखाईमा थिए । अब बजार यहाँ भन्दा तल झर्दैन भन्ने अबस्था देखिन थालेकाले ठूला र संस्थागत लगानीकर्ता पनि खरिदतिर केन्द्रित भएको मान्न सकिन्छ । तर साना लगानीकर्ताहरुमा संस्थागत र ठूला लगानीकर्ताहरुलाई पछ्याउने प्रबृत्ति रहेकाले बजार बढ्दा र घट्दा उनीहरुमा बढी प्रभाव पर्ने गरेको छ । बजार बढ्दा साना लगानीकर्ताहरु बढी हौसिने र घट्दा धेरै आत्तिने प्रबृत्ति देखिन्छ । यस विपरित संस्थागत र ठूला लगानीकर्ताहरु सुचनाका आधारमा जोखिम आंकलन गरी लगानी गर्ने हुँदा उनीहरुको गतिविधिले बजारलाई बढी आधार दिने गरेको छ । 
अहिले बीमा कम्पनीहरुले शेयर बजारमा लगानी बढाउँन थालेका र संस्थागततर्फ सामूहिक लगानी कोषहरुले पनि जोखिम कम भएका र सुरक्षित धितोपत्रहरुमा लगानी बढाउने प्रयास गरेकाले बजारमा शेयरको माग बढ्न गएको देखिएको छ । 

माग र आपुर्तिको आधारमा शेयर बजारमा बियरिस र बुलिस प्रबृत्ति देखिने गर्छ । बुधबार शेयरको मूल्य बढेपछि बीच समयमा आपुर्ति बढी देखिएको थियो भने बिहीबारको बजारमा मागको तुलनामा आपुर्ति कम हुँदा खरिदकर्ताहरु हावी देखिए र बजार बढ्दो क्रममै रहेर बन्द भयो ।गत मंगलबार र बुधबारको नेप्से ग्राफ हेर्ने हो भने बिहीबारको ग्राफ विश्लेषणयोग्य रहेको देखिन्छ ।  बिहीबारको बजारको अर्को मननीय पक्ष भनेको कारोबार रकममा बढोत्तरी पनि हो । अघिल्ला दिनहरुमा स्थिर जस्तै रहेको कारोबार रकम यस दिन बढ्नुले बजारप्रति लगानीकर्तामा उत्साह आएको रुपमा लिन सकिने आधार मिलेको छ । 

अर्कोतर्फ एनआईबीएल क्यापिटलले आब्हान गरेको असी करोड रुपैयाँको सम्मृद्दि फण्ड १ मा माग भन्दा तीन गुणा बढी आबेदन परी कोषको आकार १ अर्बको हुने र सो रकममध्ये अधिकाँश शेयर बजारमै लगानी हुने समाचारले पनि बजारलाई टेवा पुर्याएको मान्न सकिन्छ । राजनीतिक अबस्थामा ठोस सुधार हुने निश्चित भएमा लगानीकर्ताहरुमा आत्मविस्वास बढ्न गई शेयर बजारमा त्यसको सीधा प्रभाव पर्ने आंकलन गर्न थालिएको छ ।

Mero Lagani 

No comments:

Post a Comment