काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रकृया अगाडि बढाएको छ। बैंकले सर्वसाधारणलाई ३० प्रतिशत सेयर वितरण गर्न लागेको हो।
'राष्ट्र बैंकको निर्देशन अनुसार सर्वसाधारणलाई सेयर जारी गर्न सरकारसँग अनुरोध गरेका छौं,' प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्माले बैंकको स्वर्ण बर्ष २०७१ र सुधारको कार्यक्रमका बारेमा जानकारी गराउने उदेद्दश्यले आयोजित पत्रकार सम्मेलनमा आइतबार भने, 'स्वीकृति आएपछि चालु बर्षभित्रै सेयर निस्कासन गरिसक्छौं।'
बैंकको अहिले पुँजी आठ अर्ब ५८ करोड रुपैयाँ छ। बैंकले यसलाई ७० प्रतिशत मानेर बाँकी ३० प्रतिशत सेयर जारी गर्ने प्रकृया सुरु गरेको हो।
बैंकले कृषि कर्जा अन्य बैंक तथा वित्तीय संस्थाको भन्दा एक प्रतिशत बिन्दु कममा उपलब्ध गराउने जनाएको छ। बैंकले पाँच प्रतिशतमै कृषि कर्जा उपलब्ध गराउने जनाएको हो।
बैंकले प्रत्येक बर्ष प्रदान गर्ने गरी पत्रकारिता पुरस्कारको पनि स्थापना गरेको छ। 'वित्तीय तथा अर्थतन्त्रका क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरुलाई प्रोत्साहन गर्नका लागि पुरस्कार स्थापना गरिएको हो,' बैंक सञ्चालक समिति अध्यक्ष डा. रेवतवहादुर कार्कीले भने। बैंकले ५० हजार रुपैयाँ राशीको पुरस्कार घोषणा गरेको हो।
कार्कीले वित्तीय क्षेत्र सुधार कार्यक्रमपछि राष्ट्रिय बाणिज्य बैंकको कायापलट भएको बताए। उनले अहिले नेपालको बैंकिङ प्रणालीको गुणात्मक विकास भइरहेको पनि बताए।
- See Bizmandu
No comments:
Post a Comment