Friday, December 5, 2014

चमेलिया आयोजनामा भ्रष्टाचार गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

चमेलिया जलविद्युत आयोजनामा हुँदै आएको भ्रष्टाचारमा संलग्न अधिकारीहरुमाथि कारबाही गर्न संसदीय समितिले निर्देशन दिएको छ ।
ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत आयोजनामा व्यापक भ्रष्टाचार भएको निश्कर्षसहित दोषीहरुलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
लेखा  समितिले चमेलियामा ५५ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै दोषीलाई दश दिनभित्र कारबाही गरी जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । आयोजनामा भ्रष्ट्राचार गर्ने उर्जा मन्त्री, सचिव र संलग्न अन्य अधिकारीहरुलाई कारबाही गर्न समितिले भनेको छ । तर दोषीहरुको नाम भने खुलाईएको छैन् ।

दार्चुला जिल्लामा निर्माणाधिन सो आयोजना सन् २०११ मा बनिसक्नु पर्नेमा भ्रष्टाचारका कारण हालसम्म पनि निर्माण पुरा हुन सकेको छैन् । ३० मेगावाट क्षमताको सो आयोजनाको सुरु ठेक्का २ अर्व ८८ करोड रुपैयाँमा दिईएकोमा भेरिएसन गरेर ७ अर्व ५१ करोड रुपैयाँ पुर्याइएको समितिको ठहर छ । समितिले चमेलिया आयोजनाको भेरिएशनबारे ब्यापक छानविन गरी भ्रष्ट्राचार भएको निष्कर्ष निकालेको हो ।

Mero Lagani 
Dec 03, 2014

शेयर बजारबारे जनचेतना जगाउन नेप्सेले कर्पोरेट बुल रेस आयोजना गर्ने

शेयर बजारबारे जनचेतना विस्तार गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कर्पोरेट बुल रेस आयोजना गर्ने भएको छ ।
नेप्सेले आफ्नो २२ औं बार्षिकोत्सवको अवसर पारेर यही मंसिर २६ गते पहिलो चरणको कार्यक्रम हुने जनाईएको छ । 
 नेप्से कर्पोरेट बुल रेसमा निमायक निकाय, सूचीकृत कम्पनी, धितोपत्र ब्यवसायीहरु, लगानीकर्ताका संघसंस्थाहरु र संचार प्रतिष्ठानहरु सहभागी हुनसक्ने नेप्सेले जनाएको छ ।
कार्यक्रमका सहभागीबाट केही शुल्क लिएर संस्थागत सामाजिक उत्तरदायित्वका कामहरुमा पनि परिचालन गरिने भएको छ । यसमा संकलन हुने रकम बराबर नेप्सेले रकम थप्ने भएको छ । कसरी कार्यक्रम आयोजना गरिने र सहभागीको भुमिका के हुने भन्नेबारे नेप्सेले प्रष्ट पार्न बांकी रहेको छ । 
कार्यक्रमबाट पूँजी बजारको प्रबद्र्दन, लगानीकर्ताको हित संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहमा महत्वपूर्ण योगदान मिल्ने विस्वास लिईएको नेप्सेको भनाई छ ।

Mero lagani 
Dec 04, 2014

हामी नौलो खाले मर्जको कुरा गरिरहेका छौं – अनिल शाह, प्रमुख कार्यकारी, मेगा बैंक

भिरकोटे राजा तारकबहादुर शाहका नाती  अनिल केशरी शाह । उहाँकी आमा विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदुत र पिता डा. नारायण केशरी शाह । ग्रिनलैंज बैंकबाट बैंकिङ क्षेत्रको जागिरे यात्रा सुरु गरी स्टयान्डर्ड चार्टड बैंकमा १३ वर्षको अनुभव संगालेर नबिल बैंकमा ६ वर्ष प्रमुख कार्यकारी अधिकृत हुँदै उहाँ मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत बन्नुभयो । प्रस्तुत छ, लगानी बोर्डका आमन्त्रित सदस्य समेत रहनु भएका शाहसँग मेरोलगानी डटकमका हरि गजुरेलले गरेको  वार्ताः

० मेगा बैंकको वर्तमान अवस्था कस्तो छ ?

–प्रथम त्रैमासको नतिजा भर्खरै निस्केको छ । हामीले जुन अपेक्षा गरेका थियौं त्यसकै सेरोफेरोमा छ । डिपोजिट १८ अर्व भन्दा बढी छ । लगानी सत्र अर्वको हाराहारीमा पुगिसकेको छ । खुद नाफा पहिलो त्रैमासमा ८ करोड हात पारेका छौं । शाखा खोल्ने काम रोकेका छौं । पहिला २८ वटा शाखा खोल्यौं । देशको अर्थतन्त्र जुन रफ्तारले अगाडि बढ्छ होला भन्ने लागेको थियौं, त्यो गतिमा अगाडि बढ्न सकेन । शाखारहित वैकिङ सेवा ४७ वटा पुगिसकेको छ । चार घण्टा बस चढेर शाखामा आउ भन्यो भने कोही पनि आउनेवाला छैन । अन्य बैंक भन्दा हाम्रो बैंकमा फरक चाही टोटल लोन प्रोर्टफोलियोको ५० प्रतिशत एसमई, माइक्रो र कन्जुमर ल्यान्डिङमा प्रवाह गरेका छौं । बांकी ५० प्रतिशत ठूलो क्षेत्रमा लगानी गरेका छौं ।
० प्रथम त्रैमासको बित्तीय विवरण हेर्दा अघिल्लो आर्थिक बर्षको सोही अबधिको तुलनामा २० प्रतिशत खुद नाफा किन घट्यो त ?

–अघिल्लो वर्षको प्रथम त्रैमासमा  राइट व्याकबाट आएको आम्दानी थियो । दूई वटा ठूला ऋणीले ऋण तिरिदिएर त्यो राइट व्याक भएको थियो । यो वर्ष प्रोभिजन पनि छैन । राइट व्याक पनि भएन । नर्मल विजनेश बाट यो रिर्पोट आएको हो । दोश्रो त्रैमासमा नर्मल देखिन्छ होला किनभने हामीसँगै खुलेका वैंकको तुलनामा हाम्रो नाफा राम्रै छ ।

० निष्क्रिय कर्जा बढेर २ दशमलव १५ पुगेको रहेछ ?

–हाम्रो व्यालेन्ससिट सानो छ । एउटा,  दुईवटा खाता चिप्लियो भने पनि प्रभाव परिहाल्छ । दुइर्वटा जस्तो खाता प्रोभाइट गर्न पर्दैन होला जस्तो लागेको थियो उहाँहरुको आर्थिक अवस्थाले गरेर डिपरराइट गर्न परेर हो । दोस्रो त्रैमासमा त्यसको व्यवस्थापन हुन्छ ।

० मेगाको खर्च घटाउने भन्ने चुनौती कसरी सामना गर्नुहुन्छ ?

–हाम्रो खर्च सबैभन्दा बढी जनशक्तिको खर्च छ । यो खर्चलाई लगानीको रुपमा लिएको छु । कुनै पनि संस्थाले कति खर्च गर्यो  भनेर होइन कति आम्दानी गर्यो त्यो चाँही हेर्नुपर्दछ । म भन्दा धेरै कमाउने प्रमुख कार्यकारी अधिकृतहरु पनि छन । हाम्रो भन्दा धेरै कम जनशक्ति भएका बैंकहरु पनि छन । तर उहाँहरुको खुद नाफा कति छ त ? सेयर होल्डरहरुले हेर्ने भनेको वैंकले कति कमायो र वोनस कति दियो भन्नेमा नै केन्द्रीत हुन्छ । खर्च कम गर्नेमा भन्दा आम्दानी बढाउन तर्फ हामी केन्द्रित छौ ।

० नबिल वैंकमा हुदाको अनिल केशरी शाहको जुन आकर्शण थियो, मेगा वैंकमा आए पछि तपाईको आकर्शण किन घट्यो ? नबिललाई जस्तै मेगालाई त्यो उचाईमा पुर्याउन तपाईलाई के ले वाधा पार्यो ?

–बााधा कसैले गरेको छैन । यो समयको कुरा हो । नविल वैंकमा म जाँदा नविल आफै २० वर्ष पूरानो भइसकेको थियो । म ६ वर्ष बसें । हुर्किसकेको संस्थालाई अगाडि लैजानु र भर्खरै जन्मेको शिशुको पालनपोषण गर्दै अगाडि लैजानुमा निकै फरक हुन्छ । भर्खरै जन्मेको बच्चालाई छिमेकीको डाक्टर पाइलट बनिसकेको बच्चासँग तुलना गरेर पनि हुन्छ र ? वैंकिङ भनेको टेडिङ विजनेश नभई लङटर्म विजनेश हो । पाँच, छ वर्ष जग राख्ने समय हो । यो अवधिमा अन्य वैंकसँग तुलना गर्ने हो भने हामी धेरै अगाडि बढेका छौं । बीस वर्ष पछाडि मेगा वैंक अर्कै लेभलमा पुगिसकेको हुन्छ । म सन्तृष्ट नै छु र मलाइ लाग्छ हाम्रा सेयर होल्डर, व्यवस्थापकहरु पनि सन्तृष्ट नै हुनुहुन्छ ।


०स्टान्डर्ड चार्टर्डमा रहदाको अनिल केशरी शाह,नविल वैंकमा रहदाको अनिल केशरी शाह र मेगा वैंकमा रहदाको अनिल केशरी शाहमा के फरक अनुभुति गर्नुहुन्छ ?

–स्टान्डर्ड  चार्टर्डमा रहदा अनिल केशरी शाहले वैंकिङ सिकिराखेको थियो । वैंकिङको विद्यार्थी थिएँ, धेरै सिकें । त्यो सिकाइलाई नबिलमा आएर बैंकरको रुपमा प्रयोग गरें । नबिललाई नम्वर वान बनाउन सकियो । त्यो नम्वर वान वैंक अहिले पनि नम्वर वान नै छ । नविल वैंकले अनिल केशरी शाहलाई वैंकर बनायो । मेगा वैंकले नेपालको अर्थतन्त्रमा आर्थिक समावेशिता कसरी ल्याउने भनेर लागिरहेको छु । वैंकर नै बन्ने भए म नविलमै बसिरहेको भए पनि हुन्थ्यो । आर्थिक रुपान्तरण ल्याउनका लागि मेगामा आएको हुँ । १२१९ जना प्रोमोटोर, एक लाख पैतालिस हजार सेयहोल्डर । कुनै पनि कम्पनीको यत्रो सेयरहोल्डर र प्रमोटर छैन । हलो देखि हाइड्रो सम्म सबै नेपालीको वैंक बन्ने हाम्रो लक्ष्य छ । नयाँ वित्तीय सोच लिएर नयाँ वैंक बनाउन हामी लागिरहेका छौं ।

० सबैभन्दा बढी सेयरहोल्डर, प्रोमोटर रहेको मेगा वैंक नबिल वैक जस्तै नम्बर वान कहिले बन्ला ?

–त्यो त लोटरी टिकट किनेको जस्तै हो । नम्वर वान हुनका लागि त समय लाग्छ । ३० वटा बैंकहरु छन । तर हामीसँग सँगै खुलेको वैंक भन्दा हामी हरेक पाइला अगाडि छौ । त्यो रफ्तारमा हामी हिडिरहेका छौं ।

० अन्य वैंकहरुले आफ्नो चुक्ता पूजीँ पाँच अर्व पुर्याईसकेको अवस्था छ । तपाईहरुको चुक्ता पूँजी २ अर्वको हाराहारीमा छ । यो अवस्थामा अन्य वैंकसँग प्रतिष्पर्धामा जानका लागि समेत मर्ज गर्ने पर्ने अवस्था छ । यो विषयमा के सोच्नु भएको छ ?

–बैंक खोल्दा २ अर्ब ३३ करोड पेड अप क्यापिटल हुँदा सबैभन्दा धेरै पूँजी भएको वैंक थियो । तर यो पाँच वर्षको अवधिमा अरु वोनस सेयर दिएर अगाडि आए । अघिल्लो वर्ष जति बोनस दिए, त्यो भन्दा बढी दिनुपर्ने हुन्छ यो वर्ष । पाँच अर्वको पूँजी पु¥याएर लाभांश पनि आधा गर्नुपर्ने भयो भने त मजा कसैलाई हुँदैन  । सात अर्ब पूँजी पु¥याएर २ प्रतिशत लाभांश दिएर के काम ? हाम्रो नेचुरल ग्रोथ भइरहेको छ । मर्जरका लागि ‘क’ वर्गको वैंकहरु सँग पनि कुरा भइरहेको छ । विकास वैंकहरुसँग पनि कुरा भइरहेको छ । सकारात्मक प्रभाव पार्ने, जहाँ हामी छैनौं, त्यस्तो बैंकसँग मर्ज गर्न चाहन्छौं । हामी नौलो खाले मर्जको कुरा गरिरहेका छौं । हामीले यस्ता वैंकहरु पनि देखेका छौं जस्ले मर्ज गरेपछि उस्को नाफा पनि कम भएर गएको छ । लाभांश पनि कम भएको छ । हामी त्यस्तो मर्ज गर्न चाहदैनौं ।

० मेगा वैंकले तपाईको विकल्प खोजिरहेको छ भन्ने हल्ला पनि सुनिन्छ नि बजारतिर ?

–कुनै पनि वैंक खाली भयो कि त्यहाँ अनिल शाह जान लागेको छ भन्ने हल्ला चल्छ । कहिले अनिल शाहको विकल्प खोजेको छ भन्ने हल्ला पनि चल्छ । आखिर यो हल्लै हल्लाको देश न हो । यो हल्लामा कुनै सत्यता छैन ।
० तपाईहरुको बैंकको एक जना निर्देशकलाई जनता वैंकले पैसा नतिरेको भनेर ३५ दिने सूचना निकाल्यो । मेगा वैंकको छविलाई धमिल्याउन त त्यसो गरिएको होइन ?

–हाम्रो मात्रै होइन, धेरै वैंकका निर्देशकहरु आ आफ्नो व्यवसाय गर्नुहुन्छ । व्यापार गर्दा कहिल्यै राम्रो, कहिल्यै नराम्रो हुन्छ । उहाँ हाम्रो वैंकको निर्देशक मात्रै होइन सभासद् समेत हुनुहुन्छ । अहिले उहाँ आफ्नै गृहजिल्लामा हुनुहुन्छ । उहाँ फर्किनुभए पछि यो समस्याको सामाधान हुन्छ ।

० मेगा वैंकको संस्थागत सुशासन चाँही कस्तो छ ?

–हाम्रा अधिकाशं सेयरहोल्डर र कर्मचारी स्टान्डर्ड  चार्टड,नविल जस्ता वैंकमा काम गरेर आएको हुदा संस्थागत सुशासन अत्यन्तै राम्रो छ । यति धेरै सेयर होल्डर र प्रोमोटर भएको वैंकमा चेक एण्ड व्यालेन्स छ ।

० ग्राण्ड वैंक प्रकरणले अहिले सबै झस्किरहेको अवस्था छ, त्यस्ता खतरा नआओस भनेर के गर्दै हुनुहुन्छ ?

–खराव हुन लाग्यो भने हामी प्रोभिजन गरिहाल्छौं । त्यो मिलाउन सकिन्छ । किनभने २५ वर्ष देखिको हाम्रो अनुभव छ । ६ वर्ष नबिलमा बसेर नम्वर वान बनाएँ । अहिले नबिल धरापमा परेको भए तपाईले मलाई के गरेर नबिल चलाउनु भएको भनेर सोध्नुहुथ्यो । त्यसैले प्रोभिजनमा हामी बढी छुट्टाउछौं ।

० अनिल केशरी शाह भन्ने वित्तिकै वैंकिङ किङको रुपमा लगानीकर्ताहरुले चिन्छन् । पछिल्लो चरणमा ओरालो लाग्दै गरेको सेयर बजारको विश्लेषण कसरी गर्नुहुन्छ ?

–हाम्रो सेयर बजारमा डेफ्थ भएन । तीन जना मान्छे बसेर पनि सेयर वजार तल माथि गर्नसक्ने अवस्था छ । अहिलेको अवस्थामा भन्ने हो भने सेयर वजार बढ्नुपर्ने हो । वैंकमा डिपोजिट बढेको कारण सेयरमा पैसा बढी हाल्नु पर्ने हो । सेयर बजार पनि घटेको घट्यै छ । वैकमा डिपोजिटर पनि घटिरहेका छन । मौसम जस्तो चिसो भइरहेको छ, लगानीकर्ताहरुमा पनि चिसो पसेको छ । विश्वाश घटेको छ । अर्कै किसिमको रुल आएर मार्केट नै धरायसी हुने हो कि भन्ने डर छ । मलाई पनि यस्ले मनमा चिसो पसेको छ । वित्तिय समावेशीकरण कायम गर्नेका लागि क्यापिटल मार्केट हुनुप¥र्यो । त्यही भएर हामीले ८.५ प्रतिशत व्याज दरमा मार्जिन ल्यान्डिङमा २ अर्व लगानी गरिरहेका छौं । यहाँ एउटाले गरेपछि अर्काेले गर्ने परिपाटी छ । यस्ले गर्दा मार्केट अलिकति तातिन्छ कि ? हामी कहाँ धेरै जनाले शेयर कर्जाका लागि आबेदन दिईसक्नु भएको छ ।

० राष्ट वैंकको पछिल्लो तथ्यांक अनुसार ६४ अर्ब भन्दा बढी तरलता थुप्रिएको अवस्था छ । यस्तो अवस्थामा देशको अर्थतन्त्र कता जान्छ ?

–क्यापिटल र पानी उस्तै हुन् आफ्नो बाटो आफै समाउँछन । बाँधेर बाँधिदैन । डिपोजिट बढेर तरलता आएको होइन । रेमिट्यान्सबाट यो आएको हो । तर लगानीको अवसर छैन । फ्याक्ट्री,हाइड्रो धेरै क्षेत्र छन् लगानीको । जुन चिसोपन सेयर मार्केटमा परेको छ त्यही चिसोपना लगानीकर्तामा परेको छ । लगानीका लागि सबै जना संविधान कुरेर बसेका छन । यद्यपि आउने दिन नेपालका लागि एकदमै राम्रो छ ।

० मेगा वैंकका १ लाख ४५ हजार सेयरहोल्डरहरु छन । उनीहरुलाई यो वर्ष कस्तो प्रतिफल बाड्दै हुनुहुन्छ ?

–हाम्रो काम भनेको काम गर्ने, नाफा बाड्ने हो । झण्डै ३० करोड हामीले अघिल्लो आर्थिक वर्षमा नाफा आर्जन गरेका थियौं । राष्ट्र वैंकमा यो पठाएका छौं । बोर्डले निर्णय गरेपछि डिभिडेन्ट र वोनस सेयरको वारेमा थाहा पाउनु हुने नै छ ।

० राष्ट्र वैंकले हालै जारी गरेको रेमिट्यान्स सम्बन्धी निर्देशिकाका कारण वैंकरहरु नै दुई धु्रवमा बाडिएका छन । त्यो निर्देशिकालाई तपाई कसरी हेर्नुहुन्छ ?

– गलत निर्देशिका ल्याएर वैकिङ क्षेत्रलाई धरापमा पार्ने राष्ट्र वैंकको मनसाय त पक्कै पनि होईन  । अर्थतन्त्रको ठूलो खम्वा नै हो–रेमिट्यान्स । खातामा गयो भने वैंकिङ क्षेत्रमा त आउँछ । कमसेकम वैंकिङ क्षेत्रमा त आउछ भन्ने उस्को सोच हो । खाता खोल, चेक काट भन्ने झन्झट भए पछि भोलि यही पनि रोकिएला भन्ने वैंकरहरुको चिन्ता हो । यद्यपि रेमिटयान्स कम्पनीलाई एउटा नियमले बाँध्न खोज्नु र अर्काेलाई अर्काे नियमले वाध्न खोज्नु चाँही राम्रो होइन । सबैलाई एउटै खालको नियम हुनुपर्दछ । हिमालयन ,नविलमा भएको भए म यो बोल्न सक्दिनथें । हामी रेमिटयान्स कम्पनी होईनौं । 
Mero Lagani 
Dec 04, 2014

Wednesday, December 3, 2014

किन भयो सीडीएससीको संचालक समिति विघटन ?

केन्द्रीय निक्षेप प्रणाली कार्यान्वयनलाई लिएर अन्योल बढिरहेको बेला अर्थ मन्त्रालयले सीडीएस एण्ड क्लियरिङ लिमिटेडको संचालक समिति विघटन गरेको छ ।
अर्थ मन्त्रालयले हाल कायम तीन सदस्यीय संचालक समिति विघटन गरी चार सदस्यीय संचालक समिति पठाउने निर्णय गरेको स्रोतले जनाएको छ । 
सीडीएससीमा अर्थ मन्त्रालयका प्रबक्ता समेत रहेका कृष्णप्रसाद देबकोटाको अध्यक्षतामा हरिप्रसाद काफ्ले र सीताराम थपलिया सदस्य रहेको संचालक समिति क्रियाशील थियो । स्वतन्त्र संचालकको पद भने खाली थियो । अर्थ मन्त्रालयका प्रबक्ता तथा सीडीएससीका निवर्तमान अध्यक्ष देबकोटाले आफु बित्तीय क्षेत्र महाशाखा प्रमुखबाट अनुगमन महाशाखा सरुवा भएकाले सीडीएससीमा फेरबदल भएको जानकारी दिनुभयो । अर्थ मन्त्रालयको बित्तीय क्षेत्र समन्वय महाशाखामा नबराज भण्डारी प्रमुख तोकिएकाले उहाँले नै सीडीएससीको नेतृत्व गर्ने संभावना ब्यक्त गरिएको छ ।
अर्थ मन्त्रालयले सीडीएससी संचालक समितिको कार्यविधि परिवर्तन गर्ने बारेमा पनि छलफल अगाडि बढाएको सुत्रले जनाएको छ ।

अर्थ मन्त्रालयमा फेरबदल भए पनि सीडीएससीको संचालक समितिका अरु पदाधिकारीको बारेमा भने टुंगो लागि नसकेको बताईन्छ । नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सिताराम थपलियाले सीडीएससीको संचालक समिति विघटन भएको आफुले पनि सुनेको तर अर्थ मन्त्रालयबाट कुनै पत्र प्राप्त नभएको बताउनुभयो । सीडीएससीका प्रमुख कार्यकारी सुबोध शर्मा सिग्देलले पनि सीडीएससीको संचालक समिति फेरिएको बारे अनभिज्ञता ब्यक्त गर्नुभयो । 
अर्थ मन्त्रालयका प्रबक्ता देबकोटाले सीडीएससी नेप्सेको सहायक कम्पनी भएकाले सोही मान्यता बमोजिम संचालन हुने जनाऊ दिनुभयो । 
सीडीएस कार्यानवयनमा देखिएको अन्योल हटाउन सीडीएससीलाई मुस्किल परिरहेको बेला संचालक समिति फेरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शेयर बजारको खस्कदो अबस्थाप्रति चिन्तित रहनु भएका अर्थमन्त्री डा. रामशरण महतले केही दिन यता सुधारको प्रयास तीब्र पार्नुभएको र सोही सन्दर्भमा पछिल्लो निर्णय आएको हुनसक्ने आंकलन गरिएको छ । सीडीएस कार्यान्वयनको प्रभावकारिता देखाउन र लगानीकर्ताहरुलाई आश्वस्त पार्न सीडीएससीमाथि दबाब पर्दै आएको छ ।

नेप्सेमा सुचिकृत कम्पनीका कागजी शेयर प्रमाणपत्रलाई अभौतिक प्रमाणपत्रमा रुपान्तरण गरी पूर्ण रुपमा अभौतिक शेयर प्रमाणपत्रको खरिद बिक्री गराउने काममा सीडीएससीले आगामी माघ २ गतेदेखि चरणबद्द कार्यक्रम लागु गर्दै छ । हाल शेयर खरिद गर्नेहरुले अनिवार्य रुपमा हितग्राही खाता खोली नामसारीमा अभौतिक प्रमाणपत्र मात्र प्राप्त हुने प्रक्रिया संचालनमा रहेको छ । यस क्रममा लगानीकर्ताहरुमा देखिएको अन्योल हटाउँन नसक्दा शेयर कारोबारमा पनि केही अन्योल छ । यही अन्योलले शेयर बजारमा निराशा ल्याउन सहयोग गरेको अनुमान केही लगानीकर्ताले गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जले सीडीएसका बारेमा देखिएको अन्योल हटाउन छिट्टै विशेष कार्यक्रम संचालन गर्ने भएको छ ।

Tilak Koirala 
Merolagani 
Dec 02, 2014

Monday, December 1, 2014

पूँजी बजारको गिर्दो अबस्थाप्रति अर्थमन्त्रीको चासो, चलखेल भएको आशंका


र्थमन्त्री डा. रामशरण महतले अर्थतन्त्रका सबै पक्ष सकारात्मक भएकै बेला पनि शेयर बजार गिर्दो अबस्थातिर जानुमा चलखेलले भएको हुनसक्ने आशंका गर्नुभएको छ । आईतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले शेयर बजारमा अस्वभाविक खेल भएको आशंका उब्जिएकाले मन्त्रालय  गंभीर भएको जनाउनुभयो । उहाँले शेयर बजार यसरी ओरालो लाग्नुको कारण नभएको भन्दै सरकारले गंभीर ढंगले अध्ययन गरिरहेको पनि उल्लेख गर्नुभयो । 

केही सिमित नाफाखोर ब्यक्तिहरुले बजारलाई प्रभावित पार्ने खेल खेलेको उहाँको आशंका छ । अर्थतन्त्रका सबै सुचक राम्रा र सुचिकृत कम्पनीहरुले आकर्शक लाभांश वितरण गरिरहंदा पनि शेयर बजार घट्नुपर्ने कारण नरहेको उहाँको तर्क छ ।
केही महिना अघि १०८३ विन्दुमा पुगेको नेप्से गत साता ८५० भन्दा तल गएको थियो । महतलाई अर्थतन्त्रका ज्ञाता मानिए पनि उहाँकै कार्यकालमा शेयर बजार निराशा जनक हुनुलाई धेरैले आश्चर्यको रुपमा लिएका छन् । महत नै अर्थमन्त्री हुँदा २०६५ सालमा नेप्से ११७५ को विन्दुमा टेकेको थियो ।
अर्थमन्त्री महतले देशमा विदेशी लगानीको वातावरण बन्दै गएको भन्दै केही महिनाभित्रै जलविद्युत क्षेत्रमा ३ खर्बको लगानी भित्रिने दावी गर्नुभएको छ । त्यसैगरी देशको अर्थतन्त्रलाई सवल बनाउन र ब्यापार घाटा कम गर्न निर्यात प्याकेज घोषणाको तयारी पनि सरकारले गरिरहेको उहाँले जनाउनुभएको छ । यसैबीच, अर्थ मन्त्रालयमा चौविसैघण्टा सेवा उपलब्ध हुने गरी जनगुनासो सुन्न विगुल कक्ष सुरु गरिएको छ ।

Mero Lagani 
Nov 30, 2014

Sunday, November 30, 2014

बैकहरुले अभौतिक शेयर धितोमा अझै ऋण दिन मानेनन्, सनराईज भन्छ–त्यस्तो ब्यवस्था छैन्

नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई शेयरका भौतिक प्रमाण पत्र, अभौतिक प्रमाण पत्र वा खाली हस्तान्तरण प्रक्रियामा रहेका शेयरहरु धितो राखेर ऋण प्रबाह गर्न अघिल्लो साता निर्देशन दिए पनि बैंकहरुमा त्यो अझै लागु हुन सकेको छैन् ।
शेयर धितोमा कर्जा माग आब्हान गरेको सनराईज बैंकले अभौतिक शेयर र खाली हस्तान्तरणमा ऋण नदिने बैंकको नीति रहेको स्पष्ट पारेको छ । सनराईजका शेयर कर्जा विभाग प्रमुखले मेरो लगानी डटकमसँग कुरा गर्दै नेपाल स्टक एक्सचेन्जले क बर्गमा बर्गीकरण गरेका कम्पनीहरुको साधारणतर्फको कागजी प्रमाणपत्रको धितोमा मात्र ऋण प्रबाह हुने स्पष्ट पारे । राष्ट्र बैंकले अघिल्लै साता अभौतिक शेयर धितोमा ऋण प्रबाह गर्न निर्देशन दिएको बारेमा सोध्दा उनले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने– हाम्रो बैंकमा त्यस्तो ब्यवस्था छैन् ।

सनराईजले ७.९९ प्रतिशत बार्षिक ब्याज दरमा एक बर्षका लागि शेयरको १ सय ८० दिनको औसत मूल्य वा अन्तिम मूल्यको ६० प्रतिशतसम्म रकम ऋण प्रबाह गरिने जनाएको छ । सेवा शुल्क एक प्रतिशत र प्रक्रियागत शुल्क एकमुष्ठ पाँच हजार रुपैयाँ लिएर ५ लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा प्रबाह गरिने जनाईएको छ ।

उता, सानिमा बैंकको कर्जा विभागले पनि अभौतिक शेयर प्रमाणपत्र धितो राखेर कर्जा दिने ब्यवस्था अहिलेसम्म नभएको जनाएको छ । सो शाखाका कर्मचारीले हालसम्म भौतिक शेयर प्रमाणपत्रलाई नै आधार मानेर ऋण प्रबाह भईरहेकोमा त्यसमा फेरबदलको संकेत नभएको जनाए ।
राष्ट्र बैंकले आफ्नो सर्कुलरमा भौतिक शेयर प्रमाणलाई धितो राखेर ऋण प्रदान गर्ने ब्यवस्था कायम राख्दै अभौतिक शेयरको हकमा प्रचलित ब्यवस्था बमोजिम धितो बन्धक लिएको प्रमाण लिएर ऋण प्रबाह गर्न बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले शेयर खरिद रसिद र शेयर दलालको जमानतमा एक बर्ष अवधिका लागि शेयर धितो कजा( बीटी लोन ) दिन पनि रोक नलगाईएको स्पष्ट पारेको छ ।
यसअघि कागजी प्रमाणपत्र वा खाली हस्तान्तरण(बीटी) मा रहेका शेयरहरुको आधारमा मात्र ऋण लिन सकिने ब्यवस्था थियो ।
नेपाल राष्ट्र बैंकका अधिकारीहरुले नियमनकारी निकायको निर्देशन मान्नु बैंक तथा बित्तीय संस्थाहरुको कर्तब्य भए पनि ऋण लगानी गर्ने बारेमा भने उनीहरु स्वतन्त्र रहेको बताएका छन् । राष्ट्र बैंकका प्रबक्ता मनमोहनकुमार श्रेष्ठले राष्ट्र बैंकले अभौतिक शेयर धितोमा कर्जा प्रबाह गर्ने बाटो खोलेको हो, कहाँ र कसरी ऋण प्रबाह गर्ने भन्ने बारेमा बैंकहरुले नै निर्णय गर्ने कुरा हो भन्नुभयो ।

बैंकहरुले यसरी अभौतिक शेयर धितोमा कर्जा प्रबाह गर्ने बारेमा आनाकानी गरिरहेकाले शेयर अभौतिक गराईसकेका कतिपय लगानीकर्ताहरु प्रभावित हुने भएका छन् । सीडीएससीले हालसम्म लगानीकर्ताका २८ लाख कित्ता शेयर अभौतिकीकरण गरिसकेको छ ।

ग्लोबल आईएमईलार्इ बैंक अफ दी इयर अवार्ड, अध्यक्ष ढकाल र सिइअो बज्राचार्यले लण्डनमा लिए सम्मान

काठमाडौं । यस वर्षको बैंक अफ दी अवार्ड ग्लोबल आईएमई बैंकले पाएको छ । बेलायतमा विहीबार यो अवार्ड घोषणा गरिएको हो । 
 
बैंक अफ दी इयरको अवार्ड वित्तीय क्षेत्रमा निकै महत्वपूर्ण मानिन्छ । लण्डनको फाइनान्सियल टाइम्सको दी व्याङ्करले निश्चित सूचकहरुको विश्लेषणका आधारमा यो अवार्ड घोषणा गर्छ । द बैंकर पत्रिकाको निर्णायक मण्डलले नेपालबाट ग्लोबल आईएमई बैंकलाई यस वर्षको बैक अफ दी ईयरको बिजेता बैकको रुपमा छनौट गरेको हो । 
 
ग्लोबल आईएमई बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्मान ग्रहण गरेका छन् । लन्डनको पार्क लेन स्थित होटल ईन्टरकन्टिनेन्टलमा गत विहीबार द बैंकरद्वारा आयोजित कार्यक्रममा यो सम्मान हस्तान्तरण गरिएको हो । कार्यक्रममा एक सय ३० भन्दा बढि मुलुकका विजेता बैंकका प्रतिनिधिहरु उपस्थित थिए ।

बैक अफ दी ईयर लामो ऐतिहासिक पृष्ठभूमि भएको बिश्वमै प्रतिष्ठित अन्तर्राष्ट्रिय स्तरको बैंकिङ उपाधि हो । विजेता बैंकको व्यवस्थापन उत्कृष्ठ रहेको, व्यावसायिक संरचना सक्षम रहेको र जोखिम व्यवस्थापन उपयुक्त रहेको प्रमाणित गर्दछ । 
 
बैंकले हरेक वर्ष व्यवसायिकतामा गुणात्मक सुधार गर्दै गएको छ । बैंक अफ दी इयरको उपाधि पाउने बैंकको सेवामा गुणस्तरीयता छ भन्ने प्रमाणित हुन्छ । 
 
ग्लोबल आईएमईमा गत वर्ष कमर्ज एण्ड ट्रष्ट बैंक मर्ज भएको थियो । ग्लोबलमा पाँच वटा अन्य सस्था मर्ज भइसकेका छन् । चुक्ता पूँजीका आधारमा यो निजीक्षेत्रको एक नम्बरमाको बैंक पर्छ भने सञ्जालका आधारमा दोस्रो स्थानमा छ । गत आर्थिक वर्षमा बैंकले एक अर्व रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
यस अघि नेपालबाट स्ट्याणर्डड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, एनआईसी एशियाले यो अवार्ड जितेका थिए ।
bizmandu