Monday, December 15, 2014

नामसारीका क्रममा हराएका शेयर प्रमाणपत्र खोज्न नेप्सेको नयाँ ब्यवस्था

नेपाल स्टक एक्सचेन्जले नामसारीको क्रममा शेयर प्रमाणपत्रहरु हराएर समस्या भोगिरहेका लगानीकर्ता र शेयर दलालहरुलाई नयाँ ब्यवस्था अनुसार गर्न निर्देशन दिएको छ । 

सबै शेयर दलालहरुको नाममा आज नेप्सेले सुचना जारी गरी नामसारीको क्रममा हराएका शेयर प्रमाणपत्रहरुको नामसारी सुनिश्चित गर्न दलालहरुलाई सर्भिलेन्स शाखामा सम्पर्क गर्न भनेको छ । यसरी सम्पर्क गर्न जाँदा शेयर खरिद गर्ने दलालले निबेदनका साथ बिक्रेता दलालको निबेदन, शेयर बिक्रेता लगानीकर्ताले रकम बुझेको भपाई र शेयर प्रमाणपत्र हराएको ब्यहोराको कागजात, खरिदकर्ता लगानीकर्ताले सही गरेको शेयर खरिद बिक्रीको लिखत समेत पेश गर्नुपर्ने भएको छ ।

झंझटिलो कागजी प्रक्रियामा शेयर किनबेच गर्ने क्रममा शेयर प्रमाण पत्र हराउने, नामसारीमा पठाउँदा अर्को शेयर दलालको कार्यालयमा पुग्ने र ब्यापक रुपमा खोज्दा पनि नभेटिने घटनाहरु बारम्बार हुँदै आएका छन् । सीडीएससी पूर्ण रुपमा कार्यान्वयनमा आई अभौतिक शेयर राफसाफ हुन थालेपछि भने यी घटनाहरु नदोहोरिने अपेक्षा गरिएको छ ।
Mero Lagani 

नेपाल बैंकले लगानीकर्तालाई लाभांश कहिले बाड्छ ?

नेपालको सबैभन्दा जेठो नेपाल बैंकले डेढ दशकपछि आईतबार बिशेष साधारणसभा आयोजना गर्यो ।
नेपाल राष्ट्र बैंकले पठाएको ब्यवस्थापन समितिले आयोजना गरेको विशेष साधारणसभामा बोल्ने उद्दवप्रसाद घिमिरेलगायतका धेरै लगानीकर्ताहरुले सोधे– हाम्रो बैंकले लाभांश चाँही कहिले बाड्छ ? 
साधारणसभामा बैंकको प्रतिबेदन प्रस्तुत गर्दै ब्यवस्थापन समितिका संयोजक प्रा. डा. देबराज अधिकारीले बैंकमा उल्लेखनीय सुधार भए पनि अझै जगेडा कोष २ अर्ब रुपैयाँले ऋणात्मक रहेकाले लाभांश वितरणको अबस्थामा पुग्न समय लाग्ने बताउनुभयो । खराब कर्जाले थलिएर झण्डै विघटनको डिलमा पुगेको बैंकलाई सुरुमा विश्व बैंक र त्यसपछि नेपाल राष्ट्र बैंकले पठाएको आफु नेतृत्वको ब्यवस्थापन समितिले सुधार गरी स्वस्थ बनाएको दाबी उहाँले गर्नुभयो । बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड पुगेको अधिकारीले जानकारी दिनुभयो ।
बैंकले गत आर्थिक बर्षमा २६ करोड खुद नाफा गरेको छ भने खराब कर्जाको अनुपातलाई ४.७८ प्रतिशतमा झारेको छ । बैंकको पूँजी कोष ११ प्रतिशत भन्दा माथि हुनुपर्नेमा त्यो ५.२८ मात्र छ ।

बैंक संचालक समितिमा सर्वसाधारणतर्फबाट प्रतिनिधित्व गर्ने दुई संचालकमा चर्चित लगानीकर्ता निर्मल प्रधानका छोरा निश्चल प्रधान र अर्का शेयरधनी सुरेन्द्रबहादुर सिंह निर्बिरोध हुनुभएको जनाईएको छ । नेपाल बैंकमा सर्वसाधारणको ३८ र सरकारको ६२ प्रतिशत स्वामित्व रहेकाले बहुसंख्य संचालकहरु भने सरकारले नै मनोनीत गर्नेछ ।

नयाँ संचालक समितिले बैंक सुधारको क्रम अझै तीब्र पारेमा कम्तिमा दुई बर्षपछि मात्र लगानीकर्ताले केही लाभांश पाउनसक्ने छन् । त्यो पनि सरकारले पठाउने संचालकहरुको कार्यकुशलता र नियतमा भरपर्नेछ । बैंकको जगेडा कोषलाई धनात्मक बनाउन बैंकले सम्पति २ अर्बको बिक्री र डिबेन्चर जारी गर्ने योजना बनाएको छ । बैंक भित्रको जटिलताले बिदेशी रणनीतिक साझेदार आउने वाताबरण भने तत्काल बन्ने देखिएको छैन ।

बैंकका हाल १ सय २० र २ हजार ६ सय १३ जना कर्मचारीहरु कार्यरत रहेका छन् । उनीहरु मध्ये आधाले आगामी २ बर्ष भित्रै अनिबार्य अबकाश पाउने हुँदा उनीहरुको निबृत्तिभरण र उपदानलगायतका सुविधामा पनि धेरै रकम बैंकले खर्च गर्नुपर्ने अबस्था रहेको छ । अर्कोतर्फ बैंकले आफुलाई आधुनिकीकरण गर्न कोर बैंकिङ सिष्टम(सीबीएस) प्रणाली लागु गर्ने सोच बनाएकाले त्यसका लागि नयाँ कर्मचारी भर्ना, तालिमसहितका ठूलो आर्थिक भार बोक्नुपर्नेछ ।
राष्ट्र बैंक भन्छः
राष्ट्र बैंकका प्रबक्ता मनमोहन कुमार श्रेष्ठले २०५८ सालदेखि पूर्ण रुपमा संचालक समितिमा रहेको आफ्नो हस्तक्षेप आईतबारबाटै समाप्त भएको जनाउनु भएको छ । उहाँले संचालक समितिमा सर्वसाधारणका तर्फबाट दुई संचालक चुनिए पछि अब राष्ट्र बैंकले पनि चार जना संचालक चाडै पठाउने बताउनुभयो । नयाँ प्रमुख कार्यकारी चयन नभएसम्म हालका मुख्य ब्यवस्थापक महेश्वरलाल श्रेष्ठ भने कायमै रहने पनि उहाँले  बताउनुभयो ।
By Tilak Koirala, Mero Lagani 

Sunday, December 14, 2014

माछापुच्छ्रेको साधारणसभाले १२ प्रतिशत लाभांस पारित गर्‍यो, २० प्रतिशत हकप्रद, अध्यक्षमा महतो -

काठमाडौं। माछापुच्छ्रे बैक लिमिटेडको १६औं बार्षिक साधारण सभाले १२.६३ प्रतिशत लाभांस अनुमोदन गरेको छ। बैंकको शुक्रबार पोखरामा भएको साधारणसभाले १२ प्रतिशत वोनस सेयर र त्यसमा लाग्ने कर वापतको ०.६३ प्रतिशत नगद लाभांस पारित गरेको हो। 
 
संचालक समितिका अध्यक्ष सूर्यबहादुर केसीको सभापतित्वमा भएको सभाले वोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको २० प्रतिशत हकप्रद सेयर निस्काशन गर्ने निर्णयसमेत गरेको छ। 
 
साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट डा. विरेन्द्रप्रसाद महतो, प्रकाश केसी, रोशन केसी, ज्ञानप्रसाद कर्माचार्य र गोपिकृष्ण न्यौपानलाई बैंकको संचालक पदमा निर्वाचित गरेको छ। साथै सञ्चालकहरुको वैठकले महतोलाई अध्यक्ष चयन गरेको छ। 
-bizmandu

Thursday, December 11, 2014

साताको अन्तिम दिनको शेयर कारोबारमा उत्साहजनक बृद्दि, नेप्सेमा बुल आउने संकेत हो ?

नेपाल स्टक एक्सचेन्जमा बिहीबार भएको शेयर कारोबार १५ अंक भन्दा बढीले नेप्से बढेपछि लगानीकर्ताहरुको ध्यान फेरि बजारतर्फ तानिएको छ ।
सबै समूह सूचकहरु सकारात्मक भएर कारोबार रकममा अघिल्लो दिनको तुलनामा ५ करोड भन्दा बढीले बढोत्तरी भई १८ करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भएपछि लगानीकर्ताहरु उत्साहित बनेका छन् । 

जलविद्युत, होटल, बैंकिङ र बीमा समूहमा उच्च अंकको बढोत्तरीले नेप्सेलाई १५ अंकको छलाङ मार्न सहयोग पुर्याई परिसुचक ८७० मा उक्लिएको छ । सुरुदेखि क्रमशः बढ्दो प्रबृत्ति देखिएर अन्त्यसम्म त्यही क्रममा कारोबार बन्द हुनुले बजारले “बुलिस” प्रबृत्ति देखाएको विश्लेषण गर्न थालिएको छ । 
अन्य आर्थिक सूचकहरु सकारात्मक रहेको अबस्थामा बैंकहरुमा अधिक तरलता भई अन्यत्र लगानी गर्न नसकी सजिलो क्षेत्र शेयर बजारमा ८ प्रतिशत भन्दा कम ब्याज दरमा कर्जा प्रबाह गर्न थालेको, राजनीतिक वातावरण पनि क्रमशः थिग्रिने अबस्थातिर गएको विश्लेषण गरी लगानीकर्ताहरुले शेयर उठाउँन थालेको संकेत मिलेको छ ।
 
   
संस्थागत लगानीकर्ताहरुले बजारमा सर्वसाधारण लगानीकर्ताले चालै नपाउने गरी सकेसम्म घटाएर शेयर खरिद गरेका र सामान्य लगानीकर्ताहरुले पनि रकमको जोहो गरी खरिद गर्ने क्रम बढाएको शेयर दलाल सम्बद्द सुत्रले जनाएको छ । केही दिनदेखि चलिरहेको यो क्रम बुधबार र बिहीबारको कारोबारले भंग गरेपछि बजारमा खरिदकर्ताको चाप बढ्न पुगेको हो ।
केही दिनअघिसम्म संस्थागत र ठूला लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा थिए भने अहिले उनीहरु बिस्तारै सक्रिय बन्न थालेका छन् । उनीहरु मध्ये अधिकांश बजार घटेर थिग्रिने न्युनतम बिन्दुको पखाईमा थिए । अब बजार यहाँ भन्दा तल झर्दैन भन्ने अबस्था देखिन थालेकाले ठूला र संस्थागत लगानीकर्ता पनि खरिदतिर केन्द्रित भएको मान्न सकिन्छ । तर साना लगानीकर्ताहरुमा संस्थागत र ठूला लगानीकर्ताहरुलाई पछ्याउने प्रबृत्ति रहेकाले बजार बढ्दा र घट्दा उनीहरुमा बढी प्रभाव पर्ने गरेको छ । बजार बढ्दा साना लगानीकर्ताहरु बढी हौसिने र घट्दा धेरै आत्तिने प्रबृत्ति देखिन्छ । यस विपरित संस्थागत र ठूला लगानीकर्ताहरु सुचनाका आधारमा जोखिम आंकलन गरी लगानी गर्ने हुँदा उनीहरुको गतिविधिले बजारलाई बढी आधार दिने गरेको छ । 
अहिले बीमा कम्पनीहरुले शेयर बजारमा लगानी बढाउँन थालेका र संस्थागततर्फ सामूहिक लगानी कोषहरुले पनि जोखिम कम भएका र सुरक्षित धितोपत्रहरुमा लगानी बढाउने प्रयास गरेकाले बजारमा शेयरको माग बढ्न गएको देखिएको छ । 

माग र आपुर्तिको आधारमा शेयर बजारमा बियरिस र बुलिस प्रबृत्ति देखिने गर्छ । बुधबार शेयरको मूल्य बढेपछि बीच समयमा आपुर्ति बढी देखिएको थियो भने बिहीबारको बजारमा मागको तुलनामा आपुर्ति कम हुँदा खरिदकर्ताहरु हावी देखिए र बजार बढ्दो क्रममै रहेर बन्द भयो ।गत मंगलबार र बुधबारको नेप्से ग्राफ हेर्ने हो भने बिहीबारको ग्राफ विश्लेषणयोग्य रहेको देखिन्छ ।  बिहीबारको बजारको अर्को मननीय पक्ष भनेको कारोबार रकममा बढोत्तरी पनि हो । अघिल्ला दिनहरुमा स्थिर जस्तै रहेको कारोबार रकम यस दिन बढ्नुले बजारप्रति लगानीकर्तामा उत्साह आएको रुपमा लिन सकिने आधार मिलेको छ । 

अर्कोतर्फ एनआईबीएल क्यापिटलले आब्हान गरेको असी करोड रुपैयाँको सम्मृद्दि फण्ड १ मा माग भन्दा तीन गुणा बढी आबेदन परी कोषको आकार १ अर्बको हुने र सो रकममध्ये अधिकाँश शेयर बजारमै लगानी हुने समाचारले पनि बजारलाई टेवा पुर्याएको मान्न सकिन्छ । राजनीतिक अबस्थामा ठोस सुधार हुने निश्चित भएमा लगानीकर्ताहरुमा आत्मविस्वास बढ्न गई शेयर बजारमा त्यसको सीधा प्रभाव पर्ने आंकलन गर्न थालिएको छ ।

Mero Lagani 

किन आयो बुधबारको शेयर बजारमा उतार चढाव ?

नेपाल स्टक एक्सचेन्जमा बुधबार प्राय सबै कम्पनीका शेयर मूल्यमा बढोत्तरी भई नेप्सेमा सुधार देखिएको छ ।
कारोबारको बीच समयतिर १२ अंक सम्मले बढेर ८६० नाघेको नेप्से अन्त्यमा ६.७८ अंकले मात्र  सकारात्मक भई ८५५.५१ मा थामियो ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ३ करोड भन्दा बढीले कम भई १३ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो । शेयर मूल्य धेरै प्रतिशतले बढ्ने कम्पनीहरुमा एनआईडीसी विकास बैंक, मर्टिपर्पोज फाईनान्स र युनिक फाईनान्स रहे भने शेयर मूल्य धेरै घट्ने कम्पनीहरुमा सिनर्जी फाईनान्स, ईन्टरनेशनल बिकास बैंक र कालिन्चोक बिकास बैंक रहे । कारोबार रकममा एक करोड भन्दा बढी रकमको शेयर कारोबार गर्ने कुनै पनि कम्पनी भएनन् ।
बुधबारको शेयर कारोबारमा धेरै उचार चढाव आउनुमा राजनीतिक सहमतिको हल्ला र बजारमा तरलता बढी भई शेयर धितोमा सस्तो ब्याज दरमा ऋण प्रबाह गर्न बैंकहरुले सुरु गरेको अभियानको प्रभाव हुनसक्ने आंकलन गरिएको छ । यसबाट लगानीकर्ताहरुले नयाँ संविधान लेखनमा राजनीतिक दलहरुबीच सहमति कुरेर बसेको संकेत मिलेको छ । दलहरुबीच छलफल भईरहेको अबस्थामा पनि लगानीकर्ताहरु प्रभावित हुनुले ठोस सहमति भएमा बजार उकालो चढ्ने प्रशस्त संभावना देखाउँछ ।
अन्य आर्थिक सुचकहरु सकारात्मक नै रहे पनि शेयर बजार उकालो लाग्न नसक्नुमा राजनीतिक अन्योलका साथै सीडीएस कार्यान्वयनको क्रममा देखिएको अस्पष्टता, सर्वसाधारण लगानीकर्तामा आत्मविस्वासको कमी, ठूला र संस्थागत लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा रहनु र बजारमा चलाईने नकारात्मक हल्लालाई पनि सहायक कारणहरु मानिएको छ । 
Mero Lagani

मेगा बैंकको १२ प्रतिशत बोनस शेयर प्रस्ताव, चुक्ता पूँजी २ अर्ब ६१ करोड पुग्ने

मेगा (MEGA) बैंकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।
बैंक संचालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।
बैंकले गत बर्ष करोड ३१ खुद नाफा गरी प्रति शेयर आम्दानी १३ रुपैयाँ ३१ पैसा कायम गरेको थियो ।
बैंकको चुक्ता पूँजी २ अर्ब ३३ करोड रहेकोमा यो बोनस जारीपछि अब २ अर्ब ६१ करोड पुग्ने छ । 
चालु बर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा गत बर्षको सोही अबधिको तुलनामा २० प्रतिशतले घटेको भए पनि दोस्रो त्रैमासमा खुद नाफा बढ्ने अपेक्षा बेंकले गरेको छ ।
 Mero Lagani 

Tuesday, December 9, 2014

सिटी डभेलपमेन्ट बैंकको लाभांस राष्ट्र बैंकले स्वीकृत गर्यो, २२ प्रतिशत वोनस सेयरको प्रस्ताव

काठमाडौं । सिटी डेभलपमेण्ट बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले २२ प्रतिशत वोनस सेयर र १.१५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको थियो । 
 
प्रस्ताबित बोनस बैंकको आगामी आठौं वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिने छ ।

स्वीकृत वोनस सेयर र बैंकले निष्काशन गरेको १० बराबर ३ को अनुपातमा हकप्रद सेयर वितरणपछि चुक्ता पुँजी ४६ करोड ८१ लाख रुपैयाँ पुग्ने छ । 
- bizmandu