Thursday, December 11, 2014

साताको अन्तिम दिनको शेयर कारोबारमा उत्साहजनक बृद्दि, नेप्सेमा बुल आउने संकेत हो ?

नेपाल स्टक एक्सचेन्जमा बिहीबार भएको शेयर कारोबार १५ अंक भन्दा बढीले नेप्से बढेपछि लगानीकर्ताहरुको ध्यान फेरि बजारतर्फ तानिएको छ ।
सबै समूह सूचकहरु सकारात्मक भएर कारोबार रकममा अघिल्लो दिनको तुलनामा ५ करोड भन्दा बढीले बढोत्तरी भई १८ करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भएपछि लगानीकर्ताहरु उत्साहित बनेका छन् । 

जलविद्युत, होटल, बैंकिङ र बीमा समूहमा उच्च अंकको बढोत्तरीले नेप्सेलाई १५ अंकको छलाङ मार्न सहयोग पुर्याई परिसुचक ८७० मा उक्लिएको छ । सुरुदेखि क्रमशः बढ्दो प्रबृत्ति देखिएर अन्त्यसम्म त्यही क्रममा कारोबार बन्द हुनुले बजारले “बुलिस” प्रबृत्ति देखाएको विश्लेषण गर्न थालिएको छ । 
अन्य आर्थिक सूचकहरु सकारात्मक रहेको अबस्थामा बैंकहरुमा अधिक तरलता भई अन्यत्र लगानी गर्न नसकी सजिलो क्षेत्र शेयर बजारमा ८ प्रतिशत भन्दा कम ब्याज दरमा कर्जा प्रबाह गर्न थालेको, राजनीतिक वातावरण पनि क्रमशः थिग्रिने अबस्थातिर गएको विश्लेषण गरी लगानीकर्ताहरुले शेयर उठाउँन थालेको संकेत मिलेको छ ।
 
   
संस्थागत लगानीकर्ताहरुले बजारमा सर्वसाधारण लगानीकर्ताले चालै नपाउने गरी सकेसम्म घटाएर शेयर खरिद गरेका र सामान्य लगानीकर्ताहरुले पनि रकमको जोहो गरी खरिद गर्ने क्रम बढाएको शेयर दलाल सम्बद्द सुत्रले जनाएको छ । केही दिनदेखि चलिरहेको यो क्रम बुधबार र बिहीबारको कारोबारले भंग गरेपछि बजारमा खरिदकर्ताको चाप बढ्न पुगेको हो ।
केही दिनअघिसम्म संस्थागत र ठूला लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा थिए भने अहिले उनीहरु बिस्तारै सक्रिय बन्न थालेका छन् । उनीहरु मध्ये अधिकांश बजार घटेर थिग्रिने न्युनतम बिन्दुको पखाईमा थिए । अब बजार यहाँ भन्दा तल झर्दैन भन्ने अबस्था देखिन थालेकाले ठूला र संस्थागत लगानीकर्ता पनि खरिदतिर केन्द्रित भएको मान्न सकिन्छ । तर साना लगानीकर्ताहरुमा संस्थागत र ठूला लगानीकर्ताहरुलाई पछ्याउने प्रबृत्ति रहेकाले बजार बढ्दा र घट्दा उनीहरुमा बढी प्रभाव पर्ने गरेको छ । बजार बढ्दा साना लगानीकर्ताहरु बढी हौसिने र घट्दा धेरै आत्तिने प्रबृत्ति देखिन्छ । यस विपरित संस्थागत र ठूला लगानीकर्ताहरु सुचनाका आधारमा जोखिम आंकलन गरी लगानी गर्ने हुँदा उनीहरुको गतिविधिले बजारलाई बढी आधार दिने गरेको छ । 
अहिले बीमा कम्पनीहरुले शेयर बजारमा लगानी बढाउँन थालेका र संस्थागततर्फ सामूहिक लगानी कोषहरुले पनि जोखिम कम भएका र सुरक्षित धितोपत्रहरुमा लगानी बढाउने प्रयास गरेकाले बजारमा शेयरको माग बढ्न गएको देखिएको छ । 

माग र आपुर्तिको आधारमा शेयर बजारमा बियरिस र बुलिस प्रबृत्ति देखिने गर्छ । बुधबार शेयरको मूल्य बढेपछि बीच समयमा आपुर्ति बढी देखिएको थियो भने बिहीबारको बजारमा मागको तुलनामा आपुर्ति कम हुँदा खरिदकर्ताहरु हावी देखिए र बजार बढ्दो क्रममै रहेर बन्द भयो ।गत मंगलबार र बुधबारको नेप्से ग्राफ हेर्ने हो भने बिहीबारको ग्राफ विश्लेषणयोग्य रहेको देखिन्छ ।  बिहीबारको बजारको अर्को मननीय पक्ष भनेको कारोबार रकममा बढोत्तरी पनि हो । अघिल्ला दिनहरुमा स्थिर जस्तै रहेको कारोबार रकम यस दिन बढ्नुले बजारप्रति लगानीकर्तामा उत्साह आएको रुपमा लिन सकिने आधार मिलेको छ । 

अर्कोतर्फ एनआईबीएल क्यापिटलले आब्हान गरेको असी करोड रुपैयाँको सम्मृद्दि फण्ड १ मा माग भन्दा तीन गुणा बढी आबेदन परी कोषको आकार १ अर्बको हुने र सो रकममध्ये अधिकाँश शेयर बजारमै लगानी हुने समाचारले पनि बजारलाई टेवा पुर्याएको मान्न सकिन्छ । राजनीतिक अबस्थामा ठोस सुधार हुने निश्चित भएमा लगानीकर्ताहरुमा आत्मविस्वास बढ्न गई शेयर बजारमा त्यसको सीधा प्रभाव पर्ने आंकलन गर्न थालिएको छ ।

Mero Lagani 

किन आयो बुधबारको शेयर बजारमा उतार चढाव ?

नेपाल स्टक एक्सचेन्जमा बुधबार प्राय सबै कम्पनीका शेयर मूल्यमा बढोत्तरी भई नेप्सेमा सुधार देखिएको छ ।
कारोबारको बीच समयतिर १२ अंक सम्मले बढेर ८६० नाघेको नेप्से अन्त्यमा ६.७८ अंकले मात्र  सकारात्मक भई ८५५.५१ मा थामियो ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ३ करोड भन्दा बढीले कम भई १३ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो । शेयर मूल्य धेरै प्रतिशतले बढ्ने कम्पनीहरुमा एनआईडीसी विकास बैंक, मर्टिपर्पोज फाईनान्स र युनिक फाईनान्स रहे भने शेयर मूल्य धेरै घट्ने कम्पनीहरुमा सिनर्जी फाईनान्स, ईन्टरनेशनल बिकास बैंक र कालिन्चोक बिकास बैंक रहे । कारोबार रकममा एक करोड भन्दा बढी रकमको शेयर कारोबार गर्ने कुनै पनि कम्पनी भएनन् ।
बुधबारको शेयर कारोबारमा धेरै उचार चढाव आउनुमा राजनीतिक सहमतिको हल्ला र बजारमा तरलता बढी भई शेयर धितोमा सस्तो ब्याज दरमा ऋण प्रबाह गर्न बैंकहरुले सुरु गरेको अभियानको प्रभाव हुनसक्ने आंकलन गरिएको छ । यसबाट लगानीकर्ताहरुले नयाँ संविधान लेखनमा राजनीतिक दलहरुबीच सहमति कुरेर बसेको संकेत मिलेको छ । दलहरुबीच छलफल भईरहेको अबस्थामा पनि लगानीकर्ताहरु प्रभावित हुनुले ठोस सहमति भएमा बजार उकालो चढ्ने प्रशस्त संभावना देखाउँछ ।
अन्य आर्थिक सुचकहरु सकारात्मक नै रहे पनि शेयर बजार उकालो लाग्न नसक्नुमा राजनीतिक अन्योलका साथै सीडीएस कार्यान्वयनको क्रममा देखिएको अस्पष्टता, सर्वसाधारण लगानीकर्तामा आत्मविस्वासको कमी, ठूला र संस्थागत लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा रहनु र बजारमा चलाईने नकारात्मक हल्लालाई पनि सहायक कारणहरु मानिएको छ । 
Mero Lagani

मेगा बैंकको १२ प्रतिशत बोनस शेयर प्रस्ताव, चुक्ता पूँजी २ अर्ब ६१ करोड पुग्ने

मेगा (MEGA) बैंकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।
बैंक संचालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।
बैंकले गत बर्ष करोड ३१ खुद नाफा गरी प्रति शेयर आम्दानी १३ रुपैयाँ ३१ पैसा कायम गरेको थियो ।
बैंकको चुक्ता पूँजी २ अर्ब ३३ करोड रहेकोमा यो बोनस जारीपछि अब २ अर्ब ६१ करोड पुग्ने छ । 
चालु बर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा गत बर्षको सोही अबधिको तुलनामा २० प्रतिशतले घटेको भए पनि दोस्रो त्रैमासमा खुद नाफा बढ्ने अपेक्षा बेंकले गरेको छ ।
 Mero Lagani 

Tuesday, December 9, 2014

सिटी डभेलपमेन्ट बैंकको लाभांस राष्ट्र बैंकले स्वीकृत गर्यो, २२ प्रतिशत वोनस सेयरको प्रस्ताव

काठमाडौं । सिटी डेभलपमेण्ट बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले २२ प्रतिशत वोनस सेयर र १.१५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको थियो । 
 
प्रस्ताबित बोनस बैंकको आगामी आठौं वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिने छ ।

स्वीकृत वोनस सेयर र बैंकले निष्काशन गरेको १० बराबर ३ को अनुपातमा हकप्रद सेयर वितरणपछि चुक्ता पुँजी ४६ करोड ८१ लाख रुपैयाँ पुग्ने छ । 
- bizmandu

Monday, December 8, 2014

एनएमबीले धमाधम गाभ्न थाल्यो साना कम्पनी, नमस्ते र प्रुडेन्सियल फाईनान्स पनि गाभिदै

क्लिन ईनर्जी बिकास बैंक, पाथिभरा बिकास बैंक र भृकुटी बिकास बैंकलाई आफुमा गाभ्ने निर्णय गरेको एनएमबीले अरु दुई वटा साना कम्पनीहरुलाई पनि आफुमा मिलाउँदै छ । 
यसरी एनएमबीमा गाभिनेमा काठमाडौको प्रुडेन्सियल फाईनान्स र दाङको नमस्ते बित्तीय संस्था भएको बताईएको छ । ती दुई कम्पनीसँग एनएमबी बैंकका प्रमुख कार्यकारी उपेन्द्र पौडेलले मर्जको कुरा भईरहेको स्वीकार गर्नुभएको छ ।  
एनएमबीले साना कम्पनीहरुलाई गाभेर आफ्नो चुक्ता पूँजी ५ अर्ब पुर्याउने भएको छ /
Mero Lagani 

Sunday, December 7, 2014

बैंकका प्रमुख कार्यकारीलाई तलव र भत्ता मालामाल, कस्को सुविधा कति ?

नेपालमा सबैभन्दा धेरै तलब सुविधा पाईने क्षेत्र कुन होला ? धेरैको अनुमान हुनसक्छ , एनजीओ र सरकारी जागिर ।
तर, नेपालका बाणिज्य बैंकका प्रमुख कार्यकारीहरुको मासिक तलब, भत्ता र सुविधा हेर्ने हो भने अरु क्षेत्रका जागिरेहरुको मन खिन्न हुनसक्छ । मेरोलगानी सम्बाददाता हरि गजुरेलको खोज ।

नेपाल राष्ट्र बैंकलाई केन्द्रीय बैंक अर्थात बैंकहरुको पनि बैंक भनिन्छ । केन्द्रीय बैंकका प्रमुख अर्थात गभर्नरको मासिक तलव ७८ हजार रुपैयाँको हाराहारीमा मात्रै रहेको छ । तर, बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले मासिक पाँच लाख देखि १५ लाख रुपैयाँ सम्म बुझ्दै आएका छन ।

कस्को कति तलब ?

बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी तलव लिनेमा ईन्भेष्टमेन्ट बैंकका ज्योति पाँडे देखिएका छन । उनको बार्षिक तलव ८६ लाख ४० हजार रहेको छ भने भत्ता, सञ्चयकोष, दशै खर्च समेत गरी एक करोड ६६ लाख ३७ हजार रुपैयाँ भन्दा माथि पुग्छ ।

बैंकिङ किङ भनेर चिनिने मेगा बैंकका प्रमुख कार्यकारी अनिल केशरी शाहको तलव भत्ता समेत गरी १ करोड ५९ लाख २५ हजारको हाराहारीमा रहेको छ ।
उता,  अनिल शाह नै पहिले प्रमुख कार्यकारी रहेको नबिल वैंकका हालका प्रमुख कार्यकारी अनिल ज्ञवालीको तलव शाहको भन्दा कम छ । अनिल ज्ञवालीले नबिल बैंकबाट एककरोड २० लाख रुपैयाँ तलव, ११ लाख ४० हजार रुपैयाँ भत्ता लिने गरेका छन् । यसबाहेक बैंकले उनलाई थप सुविधा पनि प्रदान गर्ने गरेको देखिएको छ ।

एनएमबी बैंकका प्रमुख कार्यकारी उपेन्द्र पौडेलले वार्षिक ९६ लाख चार हजार रुपैयाँ तलव भत्ता लिने गरेका छन् । उनले तलव वापत ५० लाख ४० हजार, भत्ता वापत ३३ लाख ६० हजार, दशैं खर्च सात लाख र सञ्चय कोष वापत पाँच लाख चार हजार रुपैयाँ पाउदै आएका छन ।

प्राईम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले तलव वापत ५७ लाख ६० हजार, भत्ता वापत ३८ लाख ४० हजार पाउदै आएका छन । भत्ता ,सञ्चयकोष समेत जोड्दा उनको वार्षिक आय एक करोड ७१ लाख ६५ हजार भन्दा माथि पुग्छ ।

सानिमा बैकका प्रमुख कार्यकारी भुवन दाहालको तलव ८४ लाख ५५ हजार ८ सय सात, संचयकोष तथा भत्ता छ लाख ९५ हजार ६३८ गरी जम्मा ९१ लाख ५१ हजार ४४५ रहेको छ ।
त्यस्तै, कुमारी वैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्याय ८० लाख ७६ हजार ४सय ७२ रहेको छ । 
लक्ष्मी वैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको तलव भत्ता समेत गरी वार्षिक एक करोड ९ लाख ३० हजार रहेको छ ।

त्यस्तै सिटिजन्स बैंकका मुख्य कार्यकारी राजनसिंह भण्डारीको तलव वार्षिक ९६ लाख ६३ हजार ६८० रुपैयाँ छ ।
सिभिल बैंकका प्रमुख कार्यकारी किशोर महर्जनले मासिक तलव १२ लाख रुपैयाँ बुझ्ने गरेकामा अरु सुविधा जोड्दा उनले वार्षिक एक करोड ४४ लाख रुपैयाँ  बुझ्छन् । त्यसबाहेक बैंकले उनलाई दशैं खर्च, बोनस, सञ्चयकोष सुविधा, गाडी, मेडिकल र दुर्घटना बीमा अलग्गै सुविधा पनि दिएको छ ।

लुम्बिनी बैंकका प्रमुख कार्यकारी शोभनदेव पन्तले तलव भत्ता तथा अन्य सुविधावापत वार्षिक एक करोड १६ लाख १० हजार रुपैयाँ लिने गरेका छन् ।

यस पटक वैंक अफ द ईयर को उपाधी पाएको ग्लोवल आईएमई बैंकका सिइओ रत्नराज बज्राचार्यको तलव भत्ता समेत गरी ९७ लाख ५१ हजार सात सय ७९ रहेको छ ।

उता, बिदेशी साझेदारी रहेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी एके आलुवालियाको बार्षिक तलब सुबिधा ६५ लाख ५५ हजार रहेको देखिन्छ । नेपाल एसबीई बैंकका प्रमुख कार्यकारी आलोककुमार शर्माको बार्षिक तलब सुबिधा पनि आकर्षक रहेको छ ।

तल्ला तहकालाई मार

बैंकका प्रमुख कार्यकारी र माथिल्ला तहका कर्मचारीहरुले आकर्षक तलब सुविधा लिए पनि तल्ला तहका कर्मचारीहरु भने निकै कम पारिश्रमिकमा काम गर्न बाध्य छन् । कतिपय बैंकले कर्मचारीलाई बढी तलब दिन पर्ने अबस्था देखेपछि बाहिरबाट भाडामा कर्मचारी राख्ने (आउट सोर्सिङ) गर्ने गरेका छन् भने कतिपयले प्रशिक्षार्थी कर्मचारी राखेर खाजा खर्च मात्र दिएर काममा लगाउने गरेका छन् ।
यसरी कर्मचारीलाई आउँट सोर्सिङ गर्दा कर्मचारीलाई बढी सुविधा दिनु नपर्ने, कुनै एउटा कम्पनीसँग सम्झौता गरेर भाडाका कर्मचारीलाई काममा लगाउँदा उनीहरुको सेवा सुविधा र भविष्यमा आईपर्ने उपदान, संचय कोषलगायतका रकमहरु ब्यहोर्न नपर्ने र कुनै समस्या आए सम्बन्धित कम्पनीले नै जिम्मेवारी लिने हुँदा बैंक तथा बित्तीय संस्थाहरुलाई सहज हुने गरेको छ ।

भाडामा राखिएका कर्मचारीहरुले केही समय अघि नबिल बैंकमा अन्य कर्मचारी सरह सेवा सुबिधाको माग गर्दै आन्दोलन समेत गरेका थिए । अर्को तर्फ प्रशिक्षार्थीको रुपमा राखिएका कर्मचारीलाई एक बर्षसम्म काम सिकाएर बढीमा छ हजार पारिश्रमिकमा बल्ल नियुक्त गर्ने गरिएको बताईन्छ ।

राष्ट्र बैंकले पनि केही गर्न सकेन

बैंकका कार्यकारीहरुको  सुविधामा अंकुश लगाउने गरी राष्ट्र बैंकले केही बाध्यकारी कानुनी प्रबन्ध गर्न खोजे पनि त्यो सफल हुन सकेको छैन् ।
राष्ट्र बैंकले हालै प्रस्ताव गरेको बैंक तथा बित्तीय संस्थाहरु सम्बन्धी ऐनको संशोधनमा पनि प्रमुख कार्यकारीहरुको पारिश्रमिक तथा सेवा सुविधामा अंकुश लगाउने बारेमा कुनै प्रावधान नथपिएको बताईन्छ ।

सक्नेले लिने तर्क

बैंकका कार्यकारीहरुको तलब सुविधा बढी भएको भन्ने बारेमा नाम उल्लेख गर्न नचाहने एक बैंकका कार्यकारीको तर्क छ– यो हामी आफैले लिएका हैनौं । हामी यति तलब सुबिधा दिन्छौ भनेर संचालक समितिले नै बोलाए पछि आएका हौं । कसले कति लियो हैन्, बैंकले कति प्रगति गर्यो भन्नेलाई आधार बनाउनुपर्छ ।

अर्का कार्यकारी भन्छन् – राम्रो काम गर्नेले सेवा सुबिधा पनि राम्रै खोज्छन्, जस्ले राम्रो काम गरेर बैंकको प्रगति गर्छ, उस्ले लिनु स्वभाविक हो । यस्ता मामिलामा प्रश्न उठाउनेहरुले बुझ्नुपर्छ, मह काढ्नेले हात अबश्य चाट्छ । अनि बैंकको अबस्था खस्किएर धरासायी भए त्यसको दोषको भारी पनि बोक्नुपर्छ ।

आफ्नो करियर दाउमा राखेर ठूलो जोखिम मोली बैंकलाइ फाईदामा पुर्याउने कामको नेतृत्व प्रमुख कार्यकारीले नै गर्ने हुँदा सेवा सुबिधा लिएको कुरालाई अन्यथा भन्न नमिल्ने तर्क गर्नेहरु पनि छन् ।

बसाइँ सर्नेहरु बढ्न थाले

बैंक संचालक समितिले राम्रा ब्यक्तिहरुलाई प्रमुख कार्यकारी बनिदिन आग्रह गर्दै आकर्षक तलब सुबिधा प्रस्ताव गर्न थालेपछि पछिल्लो समयमा एक बैंकबाट अर्को बैंकमा कार्यकारी प्रमुखहरु बसाइँ सर्ने क्रम पनि बढ्न थालेको छ ।
Mero Lagani

सिभिल बैंकले ७ प्रतिशत बोनस शेयर दिने, ऋण असुलीमा तीब्रता

सिभिल बैंक (CBL) ले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ  । बैंक संचालक समितिको बिहीबार बसेको बैठकले ७ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा २४ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरी प्रति शेयर आम्दानी ९ रुपैयाँ कायम गरेको थियो । 
बैंकले प्रबाह गरेको केही कर्जा असुल नभएपछि चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंक १७७ प्रतिशतले खुद घाटामा गएको छ । बैंकले धमाधम ऋणीहरुलाई ३५ दिने सूचना जारी गरी भाका नाघेको  ऋण असुली गर्ने प्रक्रिया तीब्र पारेको देखिएको छ ।
Mero Lagani