Thursday, October 30, 2014

नेपाल बैंक मंसिर भित्र साधारणसभा गरेर निर्वाचित संचालक समितिलाई जिम्मा लगाईने

नेपाल बैंकको साधारण सभा मंसिर मसान्त भित्रै गराई निर्वाचित संचालक समितिलाई बैंक हस्तान्तरण गर्न नेपाल राष्ट्र बैंकले खटाएको ब्यवस्थापन समितिले अन्तिम तयारी  गरेको छ । नेपाल राष्ट्र बैंकले आफुले खटाएको ब्यवस्थापन समुहको म्याद २ महिना मात्र थपेपछि साधारणसभाको तयारी तीब्र पारिएकोे हो । 
केही बर्ष पहिले झण्डै डुबिसकेको नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडलाई विदेशी ब्यवस्थापन समुह र हाल राष्ट्र बैंक आफैले सुधार गरी प्रतिस्पर्धी बाणिज्य बैंकहरुको हैसियतमा ल्याएपछि साधारणसभा गरेर निर्वाचित संचालक समितिको जिम्मा लगाउन लागिएको हो । नेपाल बैंक ब्यवस्थापन समितिका संयोजक प्राध्यापक डा. देवराज अधिकारीले बैंकको साधारणसभा मंसिर भित्रै गरी निर्वाचित संचालक समितिलाई हस्तान्तरण गर्ने तयारी भएको जानकारी दिनुभयो । 
 
बैंकको अबस्था 
 
६ अर्ब ४६ करोड ५० लाख चुक्ता पूँजी रहेको नेपाल बैंकको जगेडा कोष २ अर्ब ५९ करोड ८९ लाखले ऋणात्मक छ । बैंकले गत आर्थिक बर्षमा ६९ अर्ब ३४ करोड निक्षेप संकलन र ४१ अर्ब १९ करोड ऋण परिचालन गरी १ अर्ब २३ करोड खुद नाफा गर्यो । बैंकले खराव कर्जाको अनुपात ४.७४ मा झारेको छ । बैंकमा ३८ प्रतिशत तरलता छ ।
 
 बैंकको पूँजी पर्याप्तता अनुपात १० भन्दा कम रहेकाले त्यसलाई पुरा गर्न १ अर्ब १० करोड बराबरको सम्पति बेचिएको र २ अर्ब रुपैयाँ बराबरको डिबेन्चर जारी गर्ने तयारी गरिएको अधिकारीले जनाउनु भयो ।  अधिकारीका अनुसार सम्पति बिक्री र डिबेन्चर जारी गरिएपछि बैंकको पूँजी कोष राष्ट्र बैंकले तोके अनुसार हुने छ । सुधारको क्रममा रहेकाले बैंकले लगानीकर्तालाई प्रतिफल बाड्न भने अझै केही बर्ष लाग्ने देखिएको छ । 
 
कसरी भयो सुधार ?
 
बैंकले खराब कर्जाहरु असुल गर्ने काम तीब्र पारेको र नयाँ ऋणहरु पर्याप्त धितो राखेर मात्र प्रदान गरिएकाले बैंक जोखिममुक्त भएको अधिकारीले बताउनु भयो ।  अधिकारीले भन्नुभयो – राष्ट्र बैंकले हामीलाई पठाएको हुनाले जोखिम लिएर ऋण परिचालन गर्ने अबस्था थिएन, ठूला ऋणहरु परिचालन नहुँदा बैंकमा तरलता अलि बढी नै रहेको छ तर पनि बैंकको प्रगति सन्तोषजनक छ । गत आर्थिक बर्षमा १ अर्ब २३ करोड खुद नाफा गरेका छौं । 
अधिकारीले आफ्ना अनुभव सुनाउँदै अगाडि भन्नुभयो – नेपाल बैंकमा ब्यवस्थापनको मुख्य समस्या रहेछ । यथेष्ट सम्पति, निक्षेप र कर्मचारी हुँदाहुँदै पनि संस्थाले राम्रो प्रगति गर्न नसक्नुको पछाडि राम्रो ब्यवस्थापन नभएर रहेछ । हामीले बैंकको हितलाई हेरेर काम गर्यौं, कसैको दबाबको आधारमा काम गरेनौं, कम्पनीको हित र ब्यवसायिकता हेर्यौं । 
 
कर्मचारी अवकाश र अवसर 
 
कुनै बेला नेपाल बैंकमा ८ हजार कर्मचारी थिए तर अहिले त्यो संख्या घटेर २ हजार ७ सयमा झरेको छ । अधिकारी भन्नुहुन्छ – आगामी दुई बर्षमा यसमा पनि ५० प्रतिशत जत्तिले अनिवार्य अवकाश लिन्छन् । कर्मचारी अवकाशका लागि धेरै ठुलो रकम खर्च गर्नुपर्ने हुन्छ । यसबाट बैंकलाई घाटा हैन्, फाईदा नै हुन्छ । 
उहाँले थप्नुभयो – खाली भएका मध्ये ३० प्रतिशत जत्ति संख्यामा नयाँ कर्मचारी भर्ना गर्नुपर्ने हुन्छ । नयाँ प्रविधि र शीप भएका कर्मचारीको भर्नाले बैंकमा नयाँ उर्जा दिनेछ । यसबाट बैंकको प्रतिस्पर्धी क्षमता बढ्नुका साथै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न हामी सक्षम हुनेछौ । 
 
बैंकको आधुनिकीकरण 
 
कुनै समय ढड्डा प्रणालीमा काम गर्ने नेपाल बैंकका सबै शाखा संजाल अहिले कम्प्युटर प्रणालीमा आबद्ध भईसकेको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो – अहिले हामीले प्रायः सबै शाखाबाट सेवाग्राहीको खाता विवरण कागजी ढड्डामा हैन, कम्प्युटर प्रणालीमा राखिसकेका छौ । कम्प्युटर प्रणालीमा अन्तर शाखा संजाल भएकाले सेवाग्राहीले राहत पाएका मात्रै छैनन्, बैंकमा कर्मचारीको भार र झंझटिलो अबस्थामा समेत सुधार भएको छ ।
 
बैंकले चाडै सीबीएस प्रणाली लागु गर्ने तयारी गरेकाले काम अझै छिटो छरितो र ब्यवस्थित हुने उहाँको भनाई छ । 
 
विदेशी साझेदारको खोजी 
 
नेपाल बैंकमा रहेको सरकारको ६२ प्रतिशत शेयर स्वामित्व विदेशी साझेदारलाई दिएर रणनीतिक साझेदार भित्र्याउने चर्चा पनि चल्ने गरेको छ । तर यसबारेमा नेपाल बैंक भित्र भने कुनै औपचारिक छलफल र तयारी भएकै छैन् ।
 ब्यवस्थापन समितिका संयोजक अधिकारी भन्नुहुन्छ – विदेशी साझेदार आउनु त राम्रै हो तर उनीहरु यहाँको शर्तमा हैन् उनीहरुकै शर्तमा आउँछन् । सरकारले त्यो शर्त मानेर उनीहरुलाई भित्र्याउनु  निकै चुनौतिपूर्ण छ । नेपालीहरुकै ब्यवसायिक समूह भयो भने चाही  सहज हुनसक्छ । बैंक र कर्मचारीको अबस्थामा थप सुधार भएपछि मात्र विदेशी साझेदार भित्र्याउन अनुकुल वातावरण बन्ने छ । 
 
अधिकारीले विदेशी साझेदारको सवालमा बैंक भित्र कुनै छलफल नभएको र सरकार तथा राष्ट्र बैंकले पनि औपचारिक पत्राचार नगरेको स्पष्ट पार्नुभयो । उहाँले बैंकले ५ बर्षे रणनीतिक योजना अनुसार काम गरिरहेकाले भोलि ब्यवस्थापनमा जो आए पनि सहज हुने र विदेशी साझेदारको खोजी गर्नलाई पनि वातावरण बन्ने दावी गर्नुभयो । 
 
नयाँ संचालकलाई अबसर र चुनौति 
 
ब्यवस्थापन समितिका संयोजक अधिकारीले बैंकको अबस्थामा उल्लेखनीय सुधार भएको भन्दै संचालक समितिमा ब्यवसायिक ब्यक्तिहरु निर्वाचित भएर आए बैंकले चाडै फड्को मार्ने अबस्था रहेको बताउनुभयो । बैंकमा हाल सरकारको ६२ प्रतिशत र सर्वसाधारण लगानीकर्ताको ३८ प्रतिशत स्वामित्व रहेकोले धेरै संचालक सदस्यहरु सरकारकै तर्फबाट आउने पक्का छ । 
 
संयोजक अधिकारीले सरकारले ब्यवसायिक ब्यक्तिहरुलाई संचालकमा पठाउनुपर्नेमा जोड दिनुभयो । सरकारी नियन्त्रणमा रहे पनि ब्यवसायिक ब्यक्तिहरु नयाँ संचालक समितिमा आए भने कुनै समस्या नहुने तर्क अधिकारीको छ । उहाँ भन्नुहुन्छ –बैंकको भविष्य सुनिश्चित छ,  नयाँ भर्ना भएका युवा जनशक्तिलाई हाँक्न पनि ब्यवसायिक संचालकहरु नै चाहिन्छ ।  merolagani

कतार एयरवेजको टिकट अनलाइनबाट बुकिङ गर्न सकिने सुविधा सुरु, बै‌कबाट भुक्तानी गर्न सकिने

काठमाडौं । कतारको राष्ट्रिय ध्वजाबहाक वायुसेवा कतार एयरवेजले नेपालबाट पनि अनलाइन टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेको छ । 
कतार एयरवेजको नेपालस्थित कार्यालयले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि नेपालको जुनसुकै ठाउँबाट कतार एयरवेजको टिकट अनलाइन मार्फत बुकिङ गर्न सकिने जानकारी दियो । कतार एयरवेजका कन्ट्री म्यानेजर रामदास शिवरामले उपभोक्तालाई मुख्य कार्यालयसम्म धाउन नपरोस भनेर अनलाइन बुकिङ सेवा सुरु गरिएको बताए । उनले भने, 'अहिले उपभोक्ताहरु हाम्रो केन्द्रीय कार्यालय हात्तीसारमा नै आएर टिकट किन्न बाध्य छन् । तर अनलाइनबाटै बुकिङ गर्ने व्यवस्था भएपछि उपभोक्तालाई सजिलो हुन्छ ।' उनका अनुसार टिकट बुकिङको लागि www.qatarairways.com/np मा गएर बुकिङ गर्न सकिन्छ । तर अनलाइन टिकट बुकिङ गर्ने यात्रुको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा खाता हुनुपर्ने शिवरामले बताए । अनलाइनबाट टिकट बुकिङ गरेपछि भुक्तानी भने स्ट्यान्डर्ड चार्टर्ड बैंक मार्फत मात्रै गर्न सकिने छ । उनका अनुसार कतारले चाँडै नै अरु बैंकबाट पनि टिकटको रकम भुक्तानी गर्ने व्यवस्था मिलाइने तयारी भइरहेको बताए । उपभोक्ताले टिकट बुकिङ गरेको ४८ घण्टा भित्रमा रकम भुक्तानी गर्नुपर्ने छ । भुक्तानी क्रेडिट कार्ड वा चेक मार्फत गर्न सकिने छ । कम्पनीले अनलाइन बुकिङ चौविसै घण्टा र सातैदिन गर्न सकिने व्यवस्था गरेको जनाएको छ । यसैबीच कतारले अहिले दुइतर्फि टिकट किन्ने यात्रुहरु मध्येबाट लक्की ड्र मार्फत १० जनालाई  गुड्डी व्याग दिने जनाएको छ । पाँच तारे यो एयरवेजले एक सय ३८ वटा जहाज मार्फत विश्वका एक सय ४५ गन्तव्यमा उडान भरिरहेको छ । नेपालमा दैनिक तीन उडान गरिरहेको छ । bizmandu

Wednesday, October 29, 2014

नेप्सेको बढ्ने प्रयास सफल भएन, ३० प्रतिशत लाभांशले तान्यो एनआइसी एसियाका लगानीकर्ता

काठमाडौं। मंगलवार कारोबारको अन्त्यमा बढ्ने प्रयासमा देखिएको नेप्से परिसूचकमा सुधार हुन सकेन। बैंकिङ, बीमा, जलविद्युत् समूहको परिसूचक घटेपछि नेप्से ओरालो लागेको हो। नेप्सेको वेबसाइटमा समस्या आएपछि अन्तिम तथ्यांक भने प्रकाशित भएको छैन। 

कारोबारको अन्त्यमा नेप्से परिसूचक तीव्र रुपम तल ओर्लियो। बजार बन्द हुँदा नेप्से परिसूचक १.९ अंकले घटेर ९३३ मा सिमित भएको छ। बैंकिङ समूहको परिसूचक ०.३३ अंक, जलविद्युत् समूह ३६.१६ अंक, बीमा समूह ५.५९ अंकले बढ्यो। होटेल समूहको परिसूचकमा भने सुधार देखियो। यो समूहको सुचक २७.८५ अंकले बढ्यो।

बुटवल पावर, चिलिमे जलविद्युत्, सानिमामाई, रिडी हाइड्रोपावरको सेयर मूल्य घटेको छ।  १५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नै नगद लाभांशको प्रस्ताव गरेको एनआइसी एसिया बैंकको सेयर मूल्य २२ रुपैयाँले बढ्यो। बैंकको सेयर कारोबार सबैभन्दा धेरै भएको छ। बैंकको दुई करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भयो। 
 
लाभांश पाउन दुई दिन मात्र बाँकी रहदा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा पनि लगानीकर्ता तानिएका छन। बैंकको एक करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भयो। बैंकले १० प्रतिशत बोनस र ४१.५ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकको बुक क्लोज कात्तिक १४ गते रहेको छ। 

कारोबारमा आएका मध्ये ४७ कम्पनीको सेयर मूल्य बढ्यो। त्यस्तै, ६५ कम्पनीको सेयर मूल्य घट्यो। माउन्ट मकालु बिकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निलगिरी बिकास बैंक, भार्गव बिकास बैंक लगायतको मूल्य बढेपछि बिकास बैंकको सुचक ०.६३ अंकले बढेको छ।

माउन्ट मकालु बिकास बैंकको सबैभन्दा धेरै नौं प्रतिशत बढिले मूल्य बढ्यो। यस दिन जलविद्युत् र बिकास बैंकको सुचकमा मात्र सुधार भएको छ। 
एक सय २६ कम्पनीको पाँच लाख कित्ता सेयर किनबेच भएकोमा २२ करोड रुपैयाँको सेयर कारोबार भयो।bizmandu

Tuesday, October 28, 2014

कसरी हुँदैछ एच एण्ड बी बिकास बैंकमा सुधार ?

गुड फर पेमेन्ट चेक काण्ड” ले समस्यामा परेको एच एण्ड बी बिकास बैंकको समस्या समाधानतर्फ उन्मुख भएकाले चाडै नै साधारणसभा गराई राष्ट्र बैंकले ब्यवस्थापन छाड्ने संकेत गरेको छ । 

एच एण्ड बी समस्यामा परेपछि राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा  लिदै गत जेठ १४ गते विष्णुमणी गौतमको संयोजकत्वमा तीन सदस्य व्यवस्थापन समिति खटाएको थियो । त्यस लगत्तै पुनरावेदन अदालतका पूर्व न्यायाधीश केशवप्रसाद मैनालीको संयोजकत्वमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल र वरिष्ठ चार्टर एकाउटेन्ट बालमुकुन्द ढुंगाना रहेको छानविन समितिले  गुडफर पेमेन्ट चेक काण्डको अनुसन्धान थालेको थियो । 
 
सो समितिले सेवाग्राहीको रकम जम्मा नभईकन चेक जारी गरेको अवस्था देखिएको, चेक जारी गर्ने तथा चेक धारण गर्नेबीच व्यवसायिक सम्वन्ध नदेखिएको ठहर गरेको थियो । सो बिकास बैंकको कुलेश्वर शाखाबाट निरज नेपाल लगायतका कर्मचारीको मिलेमतोमा भएको बिवादित कारोवार सम्बन्धमा पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासमा मुद्दा चलिरहेको छ ।
 
यस काण्डमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत जशोधा सैंजुलाई बर्खास्त, सञ्चालक समितिलाई निलम्बन  तथा केही कर्मचारीलाई सचेतदेखि विभागीय कारवाही गरिएको छ । 
व्यवस्थापन समितिका संयोजक गौतमले गुड फर पेमेन्ट चेक काण्ड छानविन समितिले औल्याए अनुसार  सुधारको कार्य अन्तिम चरणमा पुगेकाले बैंकको व्यवस्थापन चाडै निर्वाचित संचालक समितिलाई हस्तान्तरण गरिने बताउनुभयो ।
 
उहाँले बैंकको अबस्था सवल हुँदै गएको र आत्तिनुपर्ने अबस्था नरहेको भन्दै लगानीकर्तालाई आश्वस्त पार्नुभयो । गौतमले केही बचतकर्ताको रकम खातामा जम्मा नै नभएको बारेमा अनुसन्धान भईरहेको जनाऊ पनि दिनुभयो ।
 
चालु आर्थिक वर्षको प्रथम त्रैमासको समग्र वित्तीय अवस्था अध्ययन गर्दा बैंकको चुक्ता पुँजी रु.८९ करोड, निक्षेप ४ अर्व ८६ करोड, कर्जा तथा सापटी ४ अर्व १० करोड, कुल प्रोभिजन ९५ करोड २२ लाख रुपैयाँ रहेको संयोजक गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिको अपरिष्कृत खुद मुनाफा १ करोड १९ लाख रुपैयाँ रहेको छ । 
 
यसैगरी बैंकको तरलता पर्याप्त रहेको, बैंकको पुँजीकोष पर्याप्तता नेपाल राष्ट्र बैंकले तोके बमोजिम रहेको र अन्य वित्तीय सुचकांक समेत सन्तोषजनक रहेको हुँदा निक्षेपकर्ताको लगानी सुरक्षित भई विस्वासको वातावरण बन्दै गरेको गौतमको भनाई छ ।  

बीमा समूहमा खरिदकर्ताको किन पर्यो चाप ?

नेपाल स्टक एक्सचेन्जमा सोमबार भएको कारोबारमा बीमा कम्पनीहरुले लगानीकर्ताको ध्यान खिचेको पाईएको छ । 

कारोबारमा आएका अधिकांश बीमा कम्पनीहरुको शेयर मूल्य बढ्नुका साथै उल्लेखनीय रकमको कारोबार भएको छ । नेप्सेमा ५ अंकको बढोत्तरी भई परिसुचक ९३५ पुगेकोमा बीमा समूह सुचक १०१ अंकले बढेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा दोब्बर भन्दा बढी भई ३३ करोड नाघेको छ । 
कारोबार रकममा बीमा तर्फ नेशनल लाईफको प्रबद्र्धक शेयर ३ करोड ५५ लाख ६९ हजार रुपैयाँमा कारोबार भयो भने नेपाल लाईफ, एशियन लाईफको पनि शेयर मूल्य बढेर उल्लेखनीय रकमको कारोबार गरे । त्यसैगरी गुँरास लाईफको प्रबद्र्धक शेयरको पनि ठूलो कारोबार भएको छ । 
सोमबार सोल्टी होटलको कारोबारले सबैलाई उछिनेर ४ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । सोमबार लघुवित्त कम्पनीहरुको पनि शेयर मूल्य बढेको छ । त्यस्तै टुरिजम  विकास बैंक, काष्ठमण्डप विकास बैंक, प्रुडेन्सियल ईन्स्योरेन्सका शेयर मूल्य घटे । यस दिन जलविद्युत, विकास बैंक र होटल समुह सूचक घटेका छन् । 
 
बीमामा आकर्शण किन ?
 
बाणिज्य बैंक र अरु समूहका कम्पनीको तुलनामा बीमा कम्पनीको संख्या तथा शेयर पूँजी कम रहेकाले माग र आपुर्तिको सन्तुलन कायम नहुँदा मूल्य घटबढ हुने गरेको छ । तर, तिहार लगत्तै शेयर बजारमा बीमाका शेयरप्रति आकर्शण बढ्नुको तर्कसंगत कारण देखिएको छैन् । कतिपय लगानीकर्ता निकट भविष्यमा बीमा क्षेत्रको पूँजी तथा कारोबार बृद्धि हुने आंकलनका आधारमा बीमातर्फ आकर्शित भएको पाईएको छ । 
 
बीमा क्षेत्रको तुलनामा बाणिज्य बैंक, जलविद्युत र लघुवित्तका कम्पनीहरुको आम्दानी बढी नै भए पनि बीमा कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्शण बढ्नुमा हल्लाले पनि काम गरेको हुनसक्ने विष्लेषण गरिएको छ । बैंक तथा बित्तीय संस्थाले  क्रस होल्डिङ नहुने भएकाले  बीमाका शेयर उठाउंदा पनि माग र आपुर्तिको अबस्थामा फरक पर्न जाने भई शेयर मूल्य बढ्ने गरेको छ । 
अर्को तर्फ, उपेन्द्र महतोलगायतका ठूला लगानीकर्ता हालै बीमा क्षेत्रमा प्रबेश गरेकाले पनि धेरै लगानीकर्ताको ध्यान यसतर्फ तानिएको मान्न सकिन्छ । तर हल्लाका भरमा शेयर मूल्य माथि गएको बेला लगानी गर्दा साना लगानीकर्ता फस्ने संभावना पनि उत्तिकै भएकाले राम्रा कम्पनी छनौट गरेर लगानी गर्नु उचित हुने शेयर विश्लेषकहरु बताउंछन् । Mero Lagani

युवा किसानलाई बार्षिक ६ प्रतिशत ब्याजमा सस्तो ऋण, १ करोडसम्म ऋण पाईने

सरकारले नेपाली कृषि क्षेत्रमा युवा उद्यमीको सहभागिता बढाई विदेशिने क्रम रोक्न बार्षिक ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने कार्यविधि जारी गरेको छ ।  

सरकारले सोमबार जारी गरेको युवा किसानलाई सस्तोमा ऋण उपलब्ध गराउने कार्यविधिमा  ६ प्रतिशत ब्याज दरमा ५ बर्षसम्मलाई सहुलियत ऋण उपलब्ध गराईने उल्लेख छ । यसरी ऋण लिन चाहने फर्मले बाणिज्य बैंकमा आबेदन दिएपछि सरकारले ब्याज अनुदान दिई सस्तोमा ऋण उफलब्ध हुनेछ । बाणिज्य बैंकलाई ६ प्रतिशत भन्दा बढी लागत ब्याज रकम सरकारले उपलब्ध गराउने छ । 
आबेदकले ऋण माग गर्दै कागजात पेश गरेपछि बाणिज्य बैंकहरुले ऋण दिने बारेमा निर्णय गर्नसक्ने छन् । यस्तो ऋण लिनका लागि २१ देखि ४५ बर्ष उमेर समुहका युवाहरु ह्ुनुपर्ने र उनीहरुले अधिकतम १ करोड रुपैयाँसम्म कर्जा ब्याज अनुदानमा पाउने छन् । 
सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत युवा किसानलाई ६ प्रतिशत ब्याजमा सस्तो ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । गत असोजमा मन्त्रिपरिषदबाट सस्तो ऋण सम्बन्धी कार्यविधि पारित भए पनि सोमबारदेखि मात्र लागु भएको हो । ब्याज अनुदान राष्ट्र बैंकले उपलब्ध गराउने छ ।
सरकारी नीतिले रोजगारीका लागि युवा विदेशिने क्रममा कमी आउने र शिीक्षत युवा बेरोजगार कृषि क्षेत्रमा परिचालन भई उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।Mero Lagani
 

एनएमबी बैंकको खुद नाफामा बृद्धि, पहिलो त्रैमासमा १४ करोड कमायो

एनएमबी बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १४ करोड २७ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तृलनामा ५ करोड रुपैयाँ बढी हो ।

बैंकले ब्याज आम्दानी र संचालन मुनाफा बढाएर खुद नाफामा बृद्धि गरेको देखिएको छ । २ अर्ब चुक्ता पूँजी रहेको बैंकको प्रति शेयर आम्दानी बार्षिकीकरण गर्दा २८ रुपैयाँ पुगेको छ । बैंकको प्रशासन खर्च भने बढेको छ ।
बैंकको निस्क्रिय कर्जाको अनुपात ०.५३ प्रतिशत,  प्रति शेयर सम्पतिको मूल्य १ हजार ५ सय ७ रुपैयाँ,  मुल्य आम्दानी अनुपात १७.७५ र प्रतिशेयर नेटवर्थ १६०.४४ रहेको छ । बैंकले २७ अर्ब ३५ करोड निक्षेप संकलन गरी २१ अर्ब ११ करोड ऋण परिचालन गरेको छ । पाथीभरालगायतका  क्षेत्रीयस्तरका विकास बैंकहरुलाई मर्ज गर्ने क्रममा रहेकाले एनएमबीको शेयर कारोबार हाल रोक्का रहेको छ । 
 

Monday, October 20, 2014

केही वित्तीय सस्थामा अझै समस्या छ, राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठको अन्तर्वार्ता

सबैमा होइन, केही सस्थामा यो समस्या छ । संस्थालाई व्यापारीकरण गर्ने, परिवारको व्यवसायजस्तो ठान्ने प्रबृत्ति छ । ती संस्थाहरुले पठाउने विवरण हेर्दा राम्रो देखिन्छ, तर हाम्रो सुपरिवेक्षण समूहले अनुगमन गर्दा उनीहरुले उपलब्ध गराएको विवरणभन्दा ठिक उल्टो अवस्था पनि देखिने गरेको छ ।
---
ऐनलाई मिचेर निर्देशन दिएको भन्ने कुरा गलत होे । हामी ऐनभित्रै रहेर नीति निर्देशनहरु दिन्छौं । सबै कुराहरु ऐनमा उल्लेख भएको हुँदैन । ऐनमा प्रस्ट नभएका कुराहरु त्यसैको मर्मभित्र रहेर हामीले नियमावली, विनियमावली र निर्देशनमार्फत प्रस्ट पारेका हुन्छौं । निक्षेपकर्ताको हितका लागि राष्ट्र बैंकले समय समयमा विभिन्न निर्देशनहरु दिन सक्ने छ भनेर ऐनमा नै लेखिएको छ ।
---
ग्राहकले ऋण लिँदा बैंकलाई के के शुल्क तिर्नुपर्ने हो त, यसका बारेमा उसले थाहा पाउनु पर्छ । बैंक वित्तीय संस्थाले नजिक र टाढाका मान्छेहरुलाई भेदभाव गर्ने अवस्था पनि हुनु भएन । नजिककालाई सेवा शुल्क नलिने, लिए पनि ०.२५ प्रतिशत मात्र लिने, टाढाकालाई दुई प्रतिशतसम्म लिने देखिएको छ । यसमा हामीले कडाइ गर्नुपर्ने देखिएको छ ।
---
संख्या धेरै हुँदा तिनीहरुलाई नियमन तथा निरीक्षण गर्न हाम्रो जनशक्तिले नपुग्ने हुनसक्छ । अहिले भएको संख्यालाई बढाउनु भन्दा सेवा नपुगेका क्षेत्रमा भएकै संस्थाहरुलाई पु¥याउन पहल गरिरहेका छौं । काठमाडौंको रिङरोडभित्र थप शाखा आवश्यक छैन । रिङरोड वाहिर शाखा खोल्नु पर्छ भनेर नीतिगत पहलहरु गरिहेका छौं । सदरमुकाम वा नगरपालिका बाहिर शाखा हुनुपर्छ भनेर त्यही अनुसार काम गरिहेका छौं । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा अस्वस्थ प्रतिस्पर्धा छ ।


केन्द्रिय बैंकको नियमन बलियो नभएका कारण बैंक तथा वित्तीय सस्थामा समस्या देखिएको हो भनेर राष्ट्र बैंककै अधिकारीहरुले स्वीकारेका छन् । अहिले विस्तारै यस्ता समस्या कम हुदै गएका छन् । तर, राष्ट्र बैंकले राम्रा भनेका सस्था केही महिनामै धरासयी पनि हुने गरेका छन् । बिजमाण्डू सम्वाददाता सुदर्शन सापकोटाले नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक मनमोहनकुमार श्रेष्ठलाई सोधे, सबै सूचना हुँदा हुदैपनि केन्द्रिय बैंक नै सस्था धरासयी हुदैछ भन्ने किन ढीला थाहा पाउँछ ?

बैंक तथा वित्तीय संस्थामा देखिएको समस्या केही वर्ष अघिसम्म नियमन कमजोर भएर हो भनिन्थ्यो । अहिले वित्तीय क्षेत्रको अवस्था समग्रमा ठिकठाकै देखिन्छ । अहिले राष्ट्रबैंकको नियमन क्षमता सुदृढ भएको हो ?

बैंक तथा वित्तीय संस्थाहरुका लागि नियमन विभागबाट जारी भएका नीति, निर्देशनहरुको प्रभाव पक्का पनि परेको छ । संस्थागत सुशासनसँग सम्बन्धि हामीसँग आएका उजुरीहरु, कुनै किसिमका जिज्ञासाहरुलाई हामीले धेरै हदसम्म संवोधन गरेका छौं । हामी आफैले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिषयहरुलाई अध्ययन तथा अनुसन्धान गरेर पनि निर्देशनहरु जारी गरेका छौं ।
बाणिज्य बैंकहरुभन्दा पनि केही विकास बैंक र फाइनान्स कम्पनीहरुमा संस्थागत सुशासनका कमजोरीहरु धेरै भेटिएका छन् । उनीहरुको कमीकमजोरीलाई सुधार्न गरिएका कारवाहीको असर अन्य बैंक तथा वित्तीय संस्थाहरुमा पनि परेका कारणले गर्दा तुलनात्मक रुपमा विगतमा भन्दा अहिले पक्का पनि सुशासनमा सुधार आएको छ । हामीले ऋणीलाई पनि बैंकिङ कसुरमा लैजाने प्रकृया अगाडि बढायौं । कतिपयलाई कारवाही गरेका छौं । सम्वन्धित निर्णयकर्ता वा ऋण स्वीकृत गर्ने अधिकारीहरुले गलत नियतबाट निर्णय गरेको रहेछ भने उनीहरुलाई पनि कारवाहीको दायरामा ल्याएका छौं । धितोको अधिक मूल्यांकन गर्ने, कमसल धितोमा ऋण दिने वा धितो राख्नेहरुलाई पनि कारवाही हुन थालेको छ । हाम्रा नीति नियम, कारवाहीबाट अहिले संस्थागत सुशासन बलियो भएको छ ।
हामी नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत कारवाही गर्छौ । ऐनले जरिवानाको व्यवस्था गरेको छ । जरिवाना हुने वित्तिकै सञ्चालकहरु पदबाट बाहिरिन्छन् । यसका कारण सञ्चालकहरु जो पायो त्यही नियुक्त हुने वा जुन पायोत्यही संस्थामा सञ्चालक हुन लगानीकर्ताहरु हच्किरहेको अवस्था छ । गल्ति वा अनियमितता गरे उन्मुक्ति पाउँदैनौं, जुनसुकै बेला कारवाहीमा पर्न सकिन्छ भन्ने सरोकारवालाहरुमा परेको छ । यसले धेरै हदसम्म संस्थाहरुमा सुधार आएको छ ।

बैंक वित्तीय संस्थाका उपल्ला व्यवस्थापक वा सञ्चालकहरु राष्ट्र बैंकको निर्देशन एउटा ठाउँमा छ, हामीले पनि तत्कालको नाफा होइन संस्थालाई बलियो बनाएर लैजानु पर्छ भन्ने ठानेपछि सुशासनका समस्याहरु हट्दै गएको बताउँछन् ?

हाम्रो पनि प्राथमिकता त्यही नै हो । हामीले पनि संस्थाहरुलाई दीर्घकालसम्मका लागि बलियो बनाउनु पर्छ भनेका हौं । क्षणिक मुनाफा देखाउने, मुनाफाका कारण संस्था बलियो देखिने कुराहरु गर्नु हुदैन । बैंक वित्तीय संस्थाका दुई चार वटा ठूला ऋण विग्रिने वित्तिकै ठूलो समस्या आउँछ । बैंक तथा वित्तीय संस्थाले लगानी गरेर विग्रिएका कर्जामा बैंक व्यवस्थापनका कमजोरीहरु देखिन्छन् । कमजोरीहरुलाई हामीले हेर्ने, औंल्याउने हो । सर्ट टर्ममा त्यही संस्थाहरु राम्रो देखिने र निरीक्षणका क्रममा जोखिमको स्तर देखाइ दिएपछि त्यो संस्थामा नराम्रो अवस्था आएका उदाहरणहरु पनि हामीसँग छन् । एउटै क्षेत्रमा बढी लगानी गरिरहेका संस्थाहरुलाई हामीले छरिएर लगानी गर्न भनिरहेका हुन्छौं । उनीहरुको जोडवल त नियमित आम्दानी भइरहेको क्षेत्रमा राष्ट्र बैंकले वेवास्ता गरिदेओस भन्ने हुन्छ । तर हामी जोखिमको स्तर हेरेर उनीहरुका समस्या औंल्याइ दिन्छौं, सुधार गर्न निर्देशन दिन्छौं । जोखिममा आधारित सुपरिवेक्षण गरिरहेका हुन्छौं ।


नेपाल राष्ट्र बैंकले आन्तरिक, वाह्य दुबै निरीक्षण तथा सुपरीवेक्षण गरिरहेको हुन्छ । तपाईले यति भन्दा भन्दै यत्रो निरीक्षण हुने संस्थाहरु एउटा क्वाटरमा धेरै राम्रो तर अर्को क्वाटरमा आउँदा वर्वादै भएको उदाहरण पनि देखिएको छ । राष्ट्र बैंकले किन ढिला थाहा पाउँछ समस्या ? 

कुनै पनि संस्थाहरु एउटा क्वाटरमा ठिक अर्को क्वाटरमा खराव निश्चियनै देखिए । यसमा के हुन्छ भने, आजकाल छ महिना मात्रै पनि ऋण तिर्ने भाका नाघ्यो भने त्यो संस्थाको स्थिति नाजुक हुन्छ । छ महिनामा नै उसको नोक्शानी वापतको रकम (प्रोभिजनिङ) ५० प्रतिशत पुगिसकेको हुन्छ । एउटा ठूलो ऋणको ५० प्रतिशत प्रोभिजनिङ मात्रै भयो भने पनि संस्थाको खराव कर्जा, पुँजी कोषमा असर परिसकेको हुन्छ । मैले भन्न खोजेको संस्थाको अवस्था छ महिनामा नै धेरै फरक भइसकेको हुन्छ । हामीलाई ढिलो थाहा भएर समस्या वाहिर आएको होइन, उनीहरुले दिएको ऋण उठ्ने अवस्था नभएका कारण समस्या भएको हो । छ महिनाअघिको असल कर्जा छ महिनापछि विग्रिएर खराव कर्जामा आउने वित्तिकै संस्था समस्यामा गएको हो । बैंकहरुले कुन कुन क्षेत्रमा कति कति ऋण लगानी गरिरहेका छन् भनेर हामीले विश्लेषण गर्नु परेको कारण नै यही हो । हाम्रो विश्लेषणको निस्कर्षपछि दिएको निर्देशन पालना गरेर कतिपय संस्था सुधार भएर सफल रुपमा सञ्चालन भइरहेका छन् । कतिपयले पालना गर्न नसकेका कारण थप विग्रिएर गएका पनि छन् । 

हामी यसरी बुझौं,  जसले संस्था चलाइरहेका छन् उनीहरु जोखिम न्युनीकरणभन्दा पनि नाफामा नै बढी केन्द्रित हुन्छन् । केन्द्रीय बैंकले नै तिमीहरुको जोखिम यहाँ यहाँ छ भन्दिनु पर्छ, उनीहरु जोखिम विश्लेषण गर्दैनन् ? 

संस्थालाई कसरी अगाडि वढाउने भन्ने सञ्चालक र प्रमुख कार्यकारीको मूख्य भूमिका हुन्छ । उनीहरुको जुन भिजन हुन्छ, जुन किसिमको व्यवसायिकता हुन्छ त्यो कुरा केही संस्थाहरुमा कमजोर देखिन्छ । सबैमा होइन, केही सस्थामा यो समस्या छ । संस्थालाई व्यापारीकरण गर्ने, परिवारको व्यवसायजस्तो ठान्ने प्रबृत्ति छ । ती संस्थाहरुले पठाउने विवरण हेर्दा राम्रो देखिन्छ, तर हाम्रो सुपरिवेक्षण समूहले अनुगमन गर्दा उनीहरुले उपलब्ध गराएको विवरणभन्दा ठिक उल्टो अवस्था पनि देखिने गरेको छ । हामीले पनि सबै फाइल त हेर्ने होइन, स्याम्पल हेर्ने हो । कतिपय विवादमा आएका ऋणहरुको विवरण हेर्छौं, उजुरी परेका फाइलहरु पनि हेर्छौं । मुख्य २० ऋणी वा ३० ऋणीका फाइल हेर्छौं । अफसाइड सुपरिवेक्षणमा राम्रो देखिएको संस्था अनसाइड सुपरिवेक्षण गर्दा पुँजी कोष नपुगेको, खराव कर्जाले आकास छोएको पनि भेटिने गरेको छ । यो किन हुन्छ त भन्दा बैंक तथा वित्तीय संस्था चलाउनेहरुको सर्ट टर्म भिजन भएका कारणले हो । राष्ट्र बैंकको निरीक्षण अहिले आउँदैन, अर्को पटक आउँदासम्म यो फाइल मिलिसकिहाल्छ, अहिले साधारणसभा गरिहालौं, लिनु पर्ने लाभांस पनि लिइहालौं भनेर सोच्ने र त्यही अनुसार लगानी गर्ने प्रबृत्ति पनि देखिन्छ ।  यसवाहेक हामीले विशेष निरीक्षण पर्ने गरिरहेका हुन्छौं । यसमा हामी विशेष कर्जाका फाइलहरुमा केन्द्रीय हुन्छौं । 

तपाईहरुलाई कतिपय अवस्थामा दैनिक, नभए साप्ताहिक त्यो पनि नभए मासिक रिपोर्टिङ हुन्छ । तर पनि संस्थामा भ्वाङ परेपछि मात्र राष्ट्र बैंकले थाहा पाउने गरेको देखिन्छ । यसमा प्रभावका कुरा पनि हुन्छ ? 

त्यस्तो होइन । हामीले ढिलो थाहा पाउने होइन, वाहिर अरुले थाहापाउँदा राष्ट्र बैंकले नै ढिला जानकारी पाएर सुचना यतिखेर आयो भन्ने परेको हो । हामीसँग त अनलाइन तथ्यांकहरु आइरहेका हुन्छन् । हामी अनलाइन तथ्यांकहरुलाई विश्लेषण गर्छौं । विश्लेषणका आधारमा गलत भेटिए सचेत गराउने काम नियमित भइरहेको हुन्छ । निर्देशन पालना भइरहेकोे छ÷छैन भनेर हेर्ने छुट्टै डेक्स छ । उसले आफ्नो नियमित काम गरिहेको हुन्छ । निर्देशनबाट पालन हुन्छ भने सुरुमा निर्देशन दिन्छौं । निर्देशनबाट नभए कारवाही गर्छौं । कतिपयले निर्देशन पालना नगरेका पनि देखिन्छ । 

राष्ट्र बैंकको क्षमता बढाउन धेरै खालका लगानीहरु पनि भइसकेका छन् । समस्या पत्ता लगाउने र सुधारको उपाय अवलम्बनमा राष्ट्र बैंककै जनशक्ति र यसको क्षमता चाही पर्याप्त छ ? 

मुलुकको जनसंख्याको करिव करिव ४० प्रतिशतमा मात्र बैंकिङ सेवा पुगेको छ । अझ ६० प्रतिशतमा पुगेको छैन । संख्यात्मक हिसावले बैंक तथा वित्तीय सस्थाहरु धेरै छन् । संख्या धेरै हुँदा तिनीहरुलाई नियमन तथा निरीक्षण गर्न हाम्रो जनशक्तिले नपुग्ने हुनसक्छ । अहिले भएको संख्यालाई बढाउनु भन्दा सेवा नपुगेका क्षेत्रमा भएकै संस्थाहरुलाई पु¥याउन पहल गरिरहेका छौं । काठमाडौंको रिङरोडभित्र थप शाखा आवश्यक छैन । काठमाडौंको रिङरोड वाहिर शाखा खोल्नु पर्छ भनेर नीतिगत पहलहरु गरिहेका छौं । सदरमुकाम वा नगरपालिका बाहिर शाखा हुनु पर्छ भनेर हामीले त्यही अनुसार काम गरिहेका छौं । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । यस्तो प्रतिस्पर्धाले भोली समस्या पार्न सक्छ ।
हामी आन्तरिक रुपमा पहिलेभन्दा निकै सवल अवस्थामा छौं । अहिले हामीसँग चार वटा त सुपरिवेक्षण विभाग नै छ । एउटा कुरा के हो भने नियमन कहिले पनि पूर्ण हुँदैन । परिवर्तनसँगै नयाँ नयाँ कुरा सृजना हुने भएकाले नियमन पनि पूर्ण हुने कुरा होइन । त्यही भएर सेल्फ रेगुलेसनको कुरा आएको हो । संस्थाहरु स्वशासित भएर गए भने राष्ट्र बैंकले नियमित नियमन गरिरहनु नै पर्दैन । निक्षेप जनताको हो यसलाई जोखिमरहित हिसावले लगानी गर्नु पर्छ भनेर सोच विकास हुने वित्तिकै राष्ट्र बैंकले निर्देशन जारी गरिरहनु पर्दैन ।


राष्ट्र बैंकको नीति निर्देशनका बारेमा टिप्पणी पनि हुन्छ । राष्ट्र बैंकले कुनै नीति निर्देशन जारी गर्छ, तत्कालै त्यसलाई संशोधन वा फिर्ता लिन्छ भन्ने गरिन्छ । यस्ता उदाहरणहरु हामीसँग प्रशस्तै छन् । यसो गर्दा नीतिगत अस्थिरता हुँदैन ? 

तपाई भनेका केही कुरामा सत्यता छन् । विगतमा कहिले काँही त्यस्तो घटना भएका थिए । तर अहिले त्यस्तो भएको छैन । अहिले विभागीय छलफल हुन्छ । त्यसपछि आन्तरिक रुपमा छलफल गर्छौं । यसका लागि एउटा छुट्टै समिति नै छ । नियमन र सुपरीवेक्षण विभागका प्रमुखहरु, विदेशी विनिमय विभागका प्रमुख, दुई जना डेपुटी गभर्नर, कानुन विभागका प्रमुखबीचमा छलफल हुन्छ । छलफल भएपछि निस्किने निष्कर्षलाई आधार मानेर निर्देशन जारी गर्छौ । धेरै वटा चरण पार गरेपछि आएको निर्देशनमा फिर्ता लिने सम्भावना निकै कम हुन्छ । हो, कतिपय कुरा प्राविधिक कारणले भएको हुन सक्छ । सौद्धान्तिक रुपमा ठिक भए पनि प्राविधिक त्रुटीका कारण त्यसमा संशोधन गर्नुपर्ने अवस्था हुन्छ । त्रुटी भयो भने त्यसलाई रियलाइजेसन पनि गर्नुपर्छ । रियलाइजेसनलाई सकारात्मक रुपमा लिनुपर्छ । 


राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको ठूला ठूला कुराहरु मात्र हेर्छ, सर्वसाधारणले पाउनु पर्नेसेवाका बारेमा भने चासो राख्दैन । बैंकहरुले त आफूले जानेर ग्राहकमैत्री सेवा ल्याउँदैनन् भन्ने कमेन्टहरु सर्वसाधारणबाट आउँछ । केन्द्रीय बैंकले यो पक्ष पनि हेर्नुपर्ने होइन ?

सर्वसाधारणले ऋण लिँदा होस् या निक्षेप राख्दा कति शुल्क तिर्नुपर्ने वा प्रतिफल पाउने भन्ने कुरा पारदर्शी हुनुपर्छ । ग्राहकलाई ऋण दिँदा लिने शुल्कका बारेमा हामीले छलफल गर्नुपर्ने अवस्था आएको छ । ग्राहकले ऋण लिँदा बैंकलाई के के शुल्क तिर्नुपर्ने हो त, यसका बारेमा उसले थाहा पाउनु पर्छ । बैंक वित्तीय संस्थाले नजिक र टाढाका मान्छेहरुलाई भेदभाव गर्ने अवस्था पनि हुनु भएन । नजिककालाई सेवा शुल्क नलिने, लिए पनि ०.२५ प्रतिशत मात्र लिने, टाढाकालाई दुई प्रतिशतसम्म लिने देखिएको छ । यसमा हामीले कडाइ गर्नुपर्ने देखिएको छ । बैंकले केमा कस्तो शुल्क लिने भनेर प्रस्ट रुपमा आउनुपर्छ । दुई चार दिन वा साता दिन ऋणको किस्ता नतिरेको अवस्थामा पनि कुल ऋणकै निश्चित प्रतिशत जरिवाना तिर्नु पर्ने कुराहरुमा कडाइ गर्नुपर्ने अवस्था छ । बैंकसँग ग्राहकले सम्झौता चाही गरेको हुन्छ तर उसले नपढी हस्ताक्षर र ल्याप्चे गरेको हुँदा केही पनि थाहा पाएको हुँदैन । सही गरेको होस् या नगरेको होस् यसमा एकरुपता हुनुपर्छ । उसले कति जरिवाना तिर्नु पर्ने हो त ? यसका बारेमा प्रस्ट पार्नका लागि जानकारी इकाइ हुनु प¥यो, वा कतै प्रस्ट देखिने गरि लेखेको हुनु प¥यो अथवा वडापत्रजस्तो केही व्यवस्था गर्नु पर्छ । यस्ता कुरामा आन्तरिक आन्तरिक रुपमा छलफल भइरहेको छ । यो विषय सम्बोधन गर्ने योजनामा छौं । निर्देशन दिनुपर्ने अवस्था छ ।

बैंक तथा वित्तीय सस्थाले एउटै कर्जाको ब्याजमा पनि ५/६ प्रतिशतसम्मको फरक दर तोकेका छन् । स्वस्थ्य अभ्यास त भएन नि यो ?

हामीले यसमा यतिदेखि यतिसम्म व्याज लेउ भन्न मिल्दैन, भन्न पनि हुँदैन । तर ब्याजमा धेरै विविधता नहोस् भनेर स्प्रेड दर कार्यान्वयनमा ल्याएका हौं । स्प्रेड दर आएपछि यसमा धेरै हदसम्म सम्वोधन भएको छ ।

राष्ट्र बैंकको मौद्रिक नीति आउँछ, निर्देशिकाहरु आउँछन्, ती कतिपय अवस्थामा मूल ऐन नै मिचेर आउँछ भन्ने पनि गुनासो तपाईहरु अन्तर्गतकै बैंक तथा वित्तीय संस्थाहरुले लगाउने गरेका छन् । राष्ट्र बैंक किन अपरिपक्क देखिएको ?

ऐनलाई मिचेर निर्देशन दिएको भन्ने कुरा गलत होे । हामी ऐनभित्रै रहेर नीति निर्देशनहरु दिन्छौं । सबै कुराहरु ऐनमा उल्लेख भएको हुँदैन । ऐनमा प्रस्ट नभएका कुराहरु त्यसैको मर्मभित्र रहेर हामीले नियमावली, विनियमावली र निर्देशनमार्फत प्रस्ट पारेका हुन्छौं । निक्षेपकर्ताको हितका लागि राष्ट्र बैंकले समय समयमा विभिन्न निर्देशनहरु दिन सक्ने छ भनेर ऐनमा नै लेखिएको छ । त्यही ऐनभित्र रहेर सर्वसाधारणको बचतलाई सुरक्षित गर्नका लागि हामीले निर्देशन दिन्छौं । सबै विषयलाई सप्रसंग ऐनमा राख्ने कुरा व्यवहारिक पनि हुँदैन । सबै कुरा ऐनमा राख्दा आफै सोच्नुस् ऐन कति मोटो हुन्छ । हामीले जारी गरेका निर्देशनहरु ऐन कानुनकै भित्र रहेर छन् । राष्ट्र बैंकले कानुन मिचेर अपरिपक्क काम गरेको छैन ।

राष्ट्र बैंकको कतिपय निर्देशन एउटा संस्था र व्यक्ति हेरेर आउँछ, जसमा समस्या हो उसैलाई विशेष निर्देशन दिए पुग्ने अवस्थामा पनि समग्रलाई नै प्रभाव पर्ने गरि निर्देशन जारी हुन्छ भन्ने टिप्पणी पनि हुनेगर्छ ?

हामीले निर्देशन त्यतिकै जारी गर्ने होइनौं । निक्षेपकर्ताको हित संरक्षणका लागि निर्देशन दिने हो । कुनै एउटा संस्थामा समस्या देखिएमा त्यो संस्था हुँदै असर अर्कोमा पनि सर्न सक्छ । त्यसैले समस्यालाई जेनरलाइज गरेर सबैलाई मान्य र लागू हुनेगरी निर्देशन दिन्छौं । मानौं हामीले २५ प्रतिशतभन्दा बढी कर्जा रियलस्टेटमा गएको बैंक भेट्यौं भने हामी जोखिम मूल्यांकन गर्छौं । जोखिम वढी भएपछि २५ प्रतिशतभन्दा कममा कर्जा झार्न निर्देशन दिन्छौं । कसैले १० प्रतिशत मात्र त्यो क्षेत्रमा कर्जा लगानी गरेको हुन्छ । अब २५ प्रतिशतवालाले त्यसलाई सीमाभित्र ल्याउनु पर्छ । १० प्रतिशत हुनेले पनि यो क्षेत्र जोखिम छ यसमा २५ प्रतिशतभन्दा वढी जानु हुँदैन भनेर आन्तरिक विश्लेषण र कार्यान्वयन गर्ने अवसर पाउँछ । कुनै एउटा संस्थामा विशेष प्रकारको समस्या छ भने उसलाई मात्र पनि निर्देशन दिएका छौं । तर नीतिगत समस्याका कुराहरु हल गर्न भने सबैलाई लागू हुने गरी निर्देशन दिनु पर्नेहुन्छ । हाम्रा निरीक्षकहरु सबै संस्थामा पुगेका हुन्छन् । उनीहरुले औल्याएको समस्याहरुलाई समाधान गर्न पनिसबैलाई लागू हुने गरी निर्देशन दिएका हुन्छौं ।

राष्ट्र बैंक वाहेक अरु पनि नियामक निकायहरु छन् । कतिपय मुद्दाहरुमा एउटा नियामकले लिएको निर्णयको असर अर्को नियामकको कार्यक्षेत्रलाई पनि छुन्छ । अरु नियामकका प्रमुखहरुले हामीसँग के भन्नु हुन्छ भने, राष्ट्र बैंक स्वायत्त छ, हामी छैनौं त्यही भएर उसले मिचाहा प्रबृत्ति देखाउँदै अर्काको कार्यक्षेत्रभित्रका बिषयमा पनि आफ्नो निर्णय लाद्छ ?

त्यसो होइन । हामीसँग एउटा समिति छ, जहाँ सबै नियामक निकायका अधिकारीहरु हुनुहुन्छ । यसमा धितोपत्र वोर्ड, स्टक एक्सचेन्ज, बिमा समिति, कम्पनी रजिस्ट्रारको कार्यालय छन् । मेरो संयोजकत्वमा नै यो समिति सञ्चालित छ । तपाईले भनेजस्तै अरु नियामक निकायको कार्यक्षेत्रलाई पनि धेरथोरे छुने बिषयहरुमा हामी त्यो समितिमा छलफल गर्छौं । असरको मूल्यांकन गर्छौ । त्यतिकै हामीले निर्देशन जारी गर्ने होइन । एउटा नियामकका कारण अर्कोको काम सहज रुपमा हुन नसक्ने अवस्था हुन्छ । त्यही भएर यस्ता विषयहरुलाई समाधान गर्न, छलफल गर्न र एकले अर्कालाई सहयोग पुर्याउनका लागि नै यो समिति बनाइएको हो । समिति कार्यान्वयनमा आएदेखि तपाईले भनेजस्ता समस्याहरु आएका छैनन् । एउटाको निर्णयले अर्कोलाई छुने अवस्था आए हामी महिनामा नियमित एक/दुई पटक छलफल गरिरहेका हुन्छौं । bizmandu

अरुण काबेलीको सेयर निष्कासन प्रस्ताव चौथो बार्षिक साधारण सभामा, सभा कात्तिक २२ गते हुने

काठमाडौं। अरुण काबेली पावर कम्पनीले पनि सर्वसाधारणमा सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले काबेली बी १ जलविद्युत् आयोजना निर्माणको लागि सेयर निष्कासन प्रस्ताव चौथो बार्षिक साधारण सभामा लैजादै छ। कम्पनीको कात्तिक २२ गते बार्षिक साधारण सभा हुने भएको छ।कम्पनीले बार्षिक साधारण सभामा अधिकृत पूँजी एक अर्ब २० करोडबाट एक अर्ब ५० करोड र जारी पूँजी एक अर्ब २० करोडबाट एक अर्ब ४० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि लैजादै छ। 
 
काबेली बी १ जलविद्युत्को पूर्ण क्षमता २५ मेगावाट रहेको छ। कम्पनीले बिसं २०६९ असार २९ गते विद्युत् खरिद सम्झौता गरिसकेको छ। कम्पनीले तेस्रो बार्षिक प्रतिवेदन अनुसार १० प्रतिशत सेयर स्थानिय बासिन्दा र ३९ प्रतिसत सेयर सर्वसाधारणको लागि जारी गर्ने लक्ष्य गरेको थियो। 
 
अरुण काबेली पावर, अरुण हाइड्रोपावरको सहायक कम्पनी हो। कुल लगानी  उठाउन सक्ने अवधि (पे ब्याक पिरियण) १०.६० बर्ष हुने प्रक्षेपण कम्पनीको छ। 
bizmandu

एनएमबी बैंकले अतुल्य बचत खाता सुरु गर्यो, ५.५ प्रतिसत व्याज दिने, न्युनमत मौज्दात १० हजारसम्म


काठमाडौं। एनएमबी बैंकले आकर्षक व्याजदरसहित नयाँ बचत योजना सुरु गरेको छ। बैंकले वार्षिक साढे पाँच प्रतिसत व्याज दिनेगरी 'एनएमबी बैंक अतुल्य बचत'  योजना लागु गरेको हो। बढी प्राप्त गर्नुहोस् भन्ने सारका साथ प्रवर्द्धन गरिएको सो खाताको न्यूनतम आवश्यक मौजदात दुई हजार पाँच सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म तोकिएको बैंकले जनाएको छ। 

क्षेत्र अनुसार न्युनतम मौज्दातको सीमा तोकिएको हो।   बैंकले यो खाता खोल्नेहरुलाई हरेक तीन महिनामा व्याज भुक्तानी दिनेछ। खातावाल व्यक्तिले निःशुल्क इन्टरनेट बैंकिङ्गका साथै डेबिट कार्डमा छूट सुविधा पाउने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।bizmandu

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा महेश ढकाल, चार वर्षको कार्यकाल

काठमाडौं। टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा महेश ढकाललाई नियुक्त गरेको छ। ढकाल चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले आइतबार देखि पदभार सम्हालेका छन्।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढकालसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ। यस अघि उनले नेपाल बैंक लिमिटेड, कमर्ज एण्ड ट्रष्ट बैंक लिमिटेड र सिद्धार्थ बैंकमा काम गरिसकेका छन्। सिद्धार्थ डेभलपमेण्ट बैंकमा उनी प्रमुख कार्यकारी अधिकृत नै थिए।

-bizmandu

किन भयो डिम्याट गरिएका शेयर धितोमा ऋण लिन समस्या ?

केन्द्रीय निक्षेप प्रणालीले आंशिक रुपमा काम गर्न थालेपछि अभौतिक (डिम्याट) गरिएका शेयर प्रमाणपत्र धितो बन्धक राखेर बैंक तथा बित्तीय संस्थाहरुबाट ऋण लिन लगानीकर्तालाई समस्या भएको छ ।
 नेपाल राष्ट्र बैंकले कागजी शेयर प्रमाण पत्र वा खाली हस्तान्तरणमा रहेका शेयरहरुलाई खरिद रसिद र शेयर दलालले गर्ने प्रमाणिकरण पत्रलाई धितो राखेर मात्र ऋण दिन सकिने नीतिमा परिवर्तन नगरेका कारण सीडीएस लागु भएपछि शेयर डिम्याट गराएका लगानीकर्ताहरुले समस्या ब्यहोर्नु परेको हो । बैंक तथा बित्तीय संस्थाका ऋण अधिकारीहरु राष्ट्र बैंकले नीतिमा परिवर्तन नगरेसम्म डिम्याट शेयरमा ऋृण प्रवाह गर्न नसकिने बताउंछन् । डिम्याट गरिएका शेयरहरु तत्काल धितो बन्धक राखी ऋण लिन समस्या भएकाले कतिपय लगानीकर्ताहरु शेयर डिम्याट गराउन समेत आनकानी गरिरहेका देखिएको छ । 
 
नेपाल स्टक एक्सचेन्ज र सीडीएससीले गत असोज २० गते यता खरिद गरिएका बाणिज्य बैंकहरुको शेयर नामसारीमा पठाउंदा खरिदकर्ताले अनिवार्य रुपमा हितग्राही खाता खोलेको हुनुपर्ने र शेयर प्रमाण पत्र अभौतिक रुपमा मात्र प्राप्त गर्नसक्ने ब्यवस्था गरेको छ । राष्ट्र बैंकको पहिलेको नीतिमा परिवर्तन नभएका कारण बैंक तथा बित्तीय संस्थाबाट ऋण लिन समस्या पर्ने देखि कतिपय लगानीकर्ताले खरिद गरेको शेयर खाली हस्तान्तरणमै राख्ने वा शेयर खरिद गर्न चाहना नगर्ने प्रबृत्ति देखिएको छ । धेरै बैंक तथा बित्तीय संस्थाहरुले क बर्गका बाणिज्य बैंकहरुको शेयरलाई बढी महत्व दिई  धितो स्वीकार गर्ने हुँदा शेयर कर्जा लिन चाहने लगानीकर्ताहरुले बाणिज्य बैंकहरुकै शेयर उठाउने गरेका थिए । 
 
सीडीएससीले शेयर अभौतिक गरिए पछि धितो बन्धक तथा रोक्का गर्न सहज हुने, प्रमाणपत्रको नामसारी प्राप्त गर्न समय नलाग्ने, प्रमाणपत्र हराउने, चोरिने, किर्ते वा जालसांझीको जोखिम नहुने भन्दै लगानीकर्ताहरुलाई हितग्राही खाता खोलेर आफ्नो स्वामित्वमा भएका शेयरहरु डिम्याट गराउन आब्हान गरिरहेको छ । तर, लगानीकर्ताले ऋण लिन समस्या भागेको बारेमा भने निमायक निकायहरुले ठोस पहल गरेका छ्रैनन् । 
 
छलफल गर्दैछौंः राष्ट्र बैंक
 
राष्ट्र बैंकले डिम्याट शेयर धितो राखेर बैंक तथा बित्तीय संस्थाबाट ऋण लिने बारेमा तत्काल कुनै ब्यवस्था नभएको जनाएको छ । राष्ट्र बैंकका प्रबक्ता मनमोहन कुमार श्रेष्ठले डिम्याट शेयरमा ऋण लिने दिनेबारे तत्काल कुनै ब्यवस्था नभएको स्पष्ट पार्दै  लगानीकर्ताहरुले भोग्नु परेको समस्याबारे अन्य निमायक निकायहरुसँग छलफल थाल्ने तयारी भएको जानकारी दिनुभयो । 
 
उहाँले कागजी शेयर प्रमाण पत्र वा शेयर खरिद रसिद र शेयर दलालको जमानतमा ऋण दिने ब्यवस्था मात्र विद्यमान रहेकाले त्यसमा परिवर्तनका लागि ब्यापक छलफलको आबश्यकता छ भन्नुभयो । राष्ट्र बैंकले कहिलेसम्ममा नयाँ निर्देशन जारी गरी डिम्याट शेयर धितो बन्धक राखेर ऋण उपलब्ध गराउन बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन देला त ? भन्ने मेरोलगानी डटकमको प्रश्नमा उहाँले कुनै समयसीमा तोक्न चाहनुभएन ।  

Friday, October 17, 2014

चैत भित्र अपिको ४० करोड रुपैयाँको सेयर आउने, स्थानीयलाई सेयर दिने प्रस्ताव धितोपत्र बोर्डमा

काठमाडौं। चैत भित्र अपि पावर कम्पनीले ४० करोड रुपैयाँको (४० लाख कित्ता) सेयर जारी गर्ने भएको छ । कम्पनीले १० करोड रुपैयाँको (१० लाख कित्ता) सेयर स्थानीय तथा प्रभावित क्षेत्रका बासिन्दाको लागि जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पेश गरेको छ । कर्मचारी तथा अन्य सर्वसाधारणलाई कम्पनीले ३० करोड रुपैयाँ (३० लाख कित्ता) सेयर जारी गर्ने भएको हो ।
हामी स्थानीय र सर्वसाधारण दुवैलाई चैतसम्ममा सेयर जारी गरिसक्ने लक्ष्य लिएका छौं, कम्पनीका कार्यकारी अध्यक्ष गुरुप्रसाद न्यौपानेले भने। कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 
 
पहिलो चरणमा कम्पनीले स्थानिय तथा प्रभावित क्षेत्रका बासिन्दाको लागि सेयर जारी गर्ने भएको हो । स्थानिय तथा प्रभावित क्षेत्रका बासिन्दाको लागि छुट्याइएको मध्ये दुई लाख कित्ता सेयर दार्चुला जिल्लाको बेथला, धुलिगडा, रानी शिखर तथा शिखर गाविसका सबै वडा र बैतडी जिल्लाका रुदे्रश्वर गाविसका सबै वडाका बासिन्दाको लागि जारी हुने छ । बाँकी आठ लाख कित्ता सेयर दार्चुला र वैतडीका अन्य गाविस र सेती अञ्चलका पाँच जिल्लाका बासिन्दाको लागी जारी गरिने छ ।
 
कम्पनीको हाल अधिकृत पुँजी एक अर्ब २० करोड रुपैयाँ, जारी पूँजी एक अर्ब रुपैयाँ रहेको छ । जारी पूँजी मध्ये हाल चुक्तापूँजी ६० करोड रुपैयाँ रहेको छ । स्थानिय र सर्वसाधारणलाई सेयर निष्कासन गरेपछि चुक्तपूँजी एक अर्ब रुपैयाँ पुग्ने छ । 
 
हाल कम्पनीले दार्चुला र बैतडी जिल्लाको सिमानामा रहको नौगढ गाँड आयोजना निर्माण गरिरहेको छ । आयोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ, न्यौपानेले बताए । यो आयोजनाको पूर्ण क्षमता ८.५ मेगावाट रहेको छ । न्यौपानेले यो आयोजनापछि अपर नौगढ गाँड आयोजना पनि निर्माण गर्ने बताए । दोस्रो आयोजनाको भने आठ मेगावाट क्षमता रहने छ । 
 
अपि पावरको संस्थापकमा साउथ एसिया इन्जिनियरिङ कम्पनी, अरुणभ्याली हाइड्रोपावर र न्यौपाने समूह रहेको छ ।सुदुरपश्चिम क्षेत्रमा जलवद्युत् आयोजनाको बिकास गर्ने अपि पावर कम्पनी पहिलो नेपाली निजी क्षेत्रको कम्पनी भएको न्यौपालेले दाबि गरे । bizmandu

१३ वटा कम्पनीले सञ्चालन अनुमति माग गर्दै आवेदन, पुँजी बृद्धि गरेर लाइसेन्स दिने योजना

काठमाडौं । नियामक निकाय बिमा समितिले नयाँ बिमा कम्पनीहरुलाई सञ्चालन अनुमति दिन छलफल थालेको छ । समितिले करिव छ बर्षदेखि नयाँ बिमा कम्पनी सञ्चालन अनुमति दिन बन्द गरेको छ ।

लामो समयदेखि नयाँ कम्पनीहरुलाई सञ्चालन अनुमति दिन बन्द गरेका कारण समितिलाई पनि लाइसेन्स खुलाउन चौतर्फी दवाव पर्दै आएको छ । यही दवावकाबीच समितिले नयाँ कम्पनी खोल्न दिने बारेमा छलफल थालेको हो । आठ जीवन र पाँच गैरजीवन बिमा कम्पनी सञ्चालन गर्न अनुमति माग्दै समितिमा आवेदन दिएको छ बर्ष नाघिसकेको छ । 
‘नयाँ कम्पनीहरु खोल्न दिँदा के हुन्छ, कस्तो मापदण्ड बनाउँदा ठीक हुन्छ भनेर मैले आफ्ना सिनियर व्यवस्थापनका कर्मचारीहरुसँग राय मागेको छु,’ समितिका अध्यक्ष प्रा. डा. फत्तवहादुर केसीले भने, ‘पुँजीको आधारमा मात्र लाइसेन्स दिँदा धेरै कम्पनी आउन सक्छन् । सबै कुरा विचार गर्नु पर्ने हुन्छ ।’
बिमा समितिमा यसअघि नै १३ वटा कम्पनीले सञ्चालन अनुमति माग गर्दै आवेदन दिइसकेका छन् । कारोबार अनुमति माग्नेमा जीवन बीमातर्फ सिटिजन्स्, स्टार, सन नेपाल, रिलायवल, रिलायन्स, आईएमई, स्ट्यान्डर्ड र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी छन् ।
गैरजीवन बिमा कम्पनीतर्फ आइडल, जनरल इन्स्योरेन्स, अजोडा, मनकामना र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले समितिमा आवेदन दिएका छन् ।
आवेदन दिएका १३ कम्पनीमध्ये तीन वटाले पुँजी बृद्धि गरेर भए पनि तत्काल लाइसेन्स दिनु पर्ने भन्दै लविङ गर्न नै थालेका छन् । एउटा भरपर्दो मापदण्ड तयार पारेर भएपनि लाइसेन्स दिनु पर्ने लविङमा गैरआवासीय नेपालीहरुको समूह र देशकै दुई व्यवसायिक घराना लागेका छन् । 
समिति पनि पुँजी बृद्धिका साथै केही विशेष व्यवस्था गरेर अनुमति दिने पक्षमा छ । लाइसेन्स खुलाउँदा एकैचोटी धेरै कम्पनीले पाउन सक्ने भन्दै समितिले विशेष मापदण्ड तयार पारेर त्यसमा उत्तिर्ण हुनेलाई मात्र सञ्चालन अनुमति दिनु पर्ने समितिका अधिकारीहरुको राय छ ।
समितिले नयाँ ऐनको मस्यौदामा उल्लेख भएजस्तै नयाँ इन्स्योरेन्स कम्पनीलाई त्यसैका आधारमा पुँजी तोकेर लाइसेन्स दिने योजना बनाएको छ । मस्यौदामा जीवन बिमा कम्पनीका लागिा दुई अर्ब र गैरजीवन बिमा कम्पनीका लागि एक अर्ब रुपैयाँ पुँजी तोकिएको छ ।
अहिले गैरजीवन बिमा कम्पनीको पुँजी २५ करोड र जीवन बिमा कम्पनीको पुँजी ५० करोड रुपैयाँ छ । पुरानै व्यवस्था अनुसार बिमा कम्पनीहरुले समितिमा आवेदन हालेका हुन् । समितिले नयाँ मापदण्ड तयार पारेपछि पुँजी संरचना परिवर्तन गरेर कम्पनीहरुले आवेदन दिनु पर्ने हुन्छ ।bizmandu

नेप्से परिसूचक स्थिर, बीमामा लगानी बढ्यो, बीमाको आठ करोड बढि रुपैयाको सेयर कारोबार

काठमाडौं। कारोबार खुलेदेखि बढ्ने क्रममा देखिएपनि नेप्से परिसूचक लगभग स्थिर रह्यो। नेप्से परिसूचक ०.४७ अंकले बढेर ९२३ मै रह्यो। कारोबार अवधिमा करिब आठ अंकसम्म बढेको नेप्से पछि घटेको हो। तुलनात्मक रुपमा बीमा कम्पनीमा लगानीकर्ताहरुले लगानी बढाइरहेका देखिन्छन । यो क्षेत्रका कम्पनीमा मात्रै आठ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । २१ कम्पनीमा विहीवार यति रकमको लगानी भएको हो । यस दिन २५ करोड ५८ लाख रुपैयाँ कुल कारोबार भएको छ । 
पुँजी बढि तोकेर भएपनि नयाँ बीमा कम्पनीलाई अनुमती दिने बिषयमा बीमा समितिमा छलफल चलेको समाचार पछि यो क्षेत्रमा लगानीकर्ता आकर्षित भएका हुन । पूँजी वृद्धि गरेर नयाँलाई अनुमती दिदा पुरानालाई पनि निश्चित समयपछि पुँजी वृद्धि गराउन लगाउनेछ भन्ने अपेक्षामा लगानीकर्ता देखिएका छन । तर हाल भने नयाँ कम्पनी खोल्न दिने बिषयमा छलफल मात्र भएको हो । 

वाणिज्य बैंकमा २४ कम्पनीको सर्वसाधारण र दुईको संस्थापक समूहका सेयर कारेबार भएको छ। यो समूहले सबैभन्दा धेरै रकम (१० करोड २५ लाख रुपैयाँ) तान्यो। यो समूहको परिसूचक भने २.४३ अंकले घटेको छ। क बर्गमा रहेका कम्पनीहरुको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक पनि बढ्न सकेन। 
 
२० प्रतिशत बोनस सेयर र त्यसपछि ३० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको लक्ष्मिले पनि लगानी तानेको छ। बैंकको एक करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बैंकले यसअघि २५ प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको भएपनि त्यो निर्णय फेरेर ३० प्रतिशत दिने भएको हो। 
 
बागमती डेभलपमेन्ट बैंकले पनि १०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको नेप्सेमा सुचना छ। एक सय ४१ कम्पनीको यस दिन सेयर कारोबार भएको छ । बैंकिङ, वित्त कम्पनी र उत्पादन मुलक समूहको परिसूचक घटेको छ। bizmandu

लक्ष्मी बैंकले २० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव, कार्तिक २५ मा साधारणसभा

लक्ष्मी बैंकले लगानीकर्तालाई गत बर्षको खुद नाफाबाट २० प्रतिशत बोनस शेयरको प्रस्ताव सहित कार्तिक २५ मा साधारणसभा गर्ने निर्णय गरेको छ । 
बैंक संचालक समितिको १ सय ५५ औं बैठकले २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गर्दै बैंकको १४ औं साधारणसभा कार्तिक २५ मा गर्ने निर्णय गरेको हो । यसअघि बैंकको १३ औ  साधारणसभाले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेकोमा आगामी साधारणसभामा त्यसलाई संशोधन गरी ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव लगिने निर्णय पनि गरिएको छ । 
 बैंकको गत आर्थिक बर्षको अन्त्यसम्म चुक्ता पूँजी १ अर्ब ९४ करोड र प्रति शेयर आम्दानी २२ रुपैयाँ रुपैयाँ रहेको छ । 
Mero Lagani 
Oct 16, 2014

कुमारी बैंकको साधारणसभा कार्तिक २६ मा, ३३ प्रतिशत बोनस र मर्ज मुख्य ऐजेण्डा

कुमारी बैंकले आफ्नो चौथो साधारणसभा आगामी कार्तिक २६ मा आयोजना गर्ने भएको छ ।  

साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरेको ३३ प्रतिशत बोनस शेयर वितरण र कम्पनीलाई मर्ज वा एक्विजिशनमा लैजाने प्रस्तावबारे मुख्य रुपमा छलफल हुने जनाईएको छ । बैंकको साधारणसभा प्रयोजनका लागि कार्तिक ५  गतेदेखि कार्तिक २६ गतेसम्म शेयरधनी दर्ता किताव बन्द हुने छ । कार्तिक ४ गतेसम्म शेयर किनी नामसारी गराउने लगानीकर्ताले ३३ प्रतिशत बोनस शेयर र साधारणसभामा भाग लिने अबसर पाउने भएका छन् । 
 
नेपाल राष्ट्र बैंकले तोकेको अनिवार्य पूँजी सिमा २ अर्ब नपुगेकोले बैंकले जगेडा कोष समेत उपयोग गरी बोनस शेयर दिएर पूँजी बृद्धि गर्न लागेको हो । कुमारी यस बर्ष सबैभन्दा धेरै बोनस शेयर प्रस्ताव गर्ने दोस्रो बाणिज्य बैंक हो । कुमारीलाई उछिन्दै एनसीसी बैंकले ३७ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । 

 
Mero Lagani 
Oct 15, 2014

सानिमा बैंकको दशौ साधारणसभामा १५ प्रतिशत बोनस पारित, पूँजी २ अर्ब ५५ करोड पुग्यो

सानिमा बैंकको बिहीबार राजधानीमा भएको दशौ साधारणसभाले १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । गैर आवासीय नेपालीहरु पनि प्रर्बद्धक  रहेको बैंकको पूँजी अब २ अर्ब २१ करोडबाट २ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । 
बैंकको साधारणसभामा बोल्दै अध्यक्ष  विनय कुमार श्रेष्ठले बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक वर्ष २०७० / ०७१ मा ४० प्रतिशतले मुनाफा बृद्धि गरी ४२ करोड ७६ लाख ९५ हजार खुद मुनाफा गर्न सफल भएको बताउनुभयो ।। बैंकले भिसा ब्राण्डका कार्डहरु जारी गर्ने र नविनतम कोर बैंकिङ प्रणाली   खरिद गरि सेवालाई प्रभावकारी बनाउने लक्ष्य रहेको अक्ष्यक्ष  श्रेष्ठले बताउनुभयो ।
 
आर्थिक बर्ष २०६९/०७० मा करिब १७ अर्व ७९ करोडको निक्षेप संकलन गरी १५ अर्वको कर्जा प्रवाह गरेको बैंकले आर्थिक वर्ष २०७०/०७१ मा करिब २४ अर्व ८७ करोडको निक्षेप संकलन गरी  २० अर्व बराबरको कर्जा प्रवाह गरेको जनाएको छ ।  बैंकले हाल ३७ शाखाबाट सेवा प्रदान गदैं आएको छ ।
Kailash Khadka 
Oct 16, 2014

ईन्द्रेणी आकार बनाएर बन्द भयो महिनाको अन्तिम दिनको शेयर कारोबार, नेको र लक्ष्मीमा पर्यो धेरै चाप

नेपाल स्टक एक्सचेन्जमा बिहीबार भएको शेयर कारोबार मध्यसमयसम्म उत्साहजनक भए पनि अन्त्यमा सकात्मक विन्दु मात्रमा टेकेर बन्द भयो ।
कारोबारको मध्य समयसम्म लगातार बढेको  नेप्से त्यसपछि घट्दै गई अन्त्यमा ०.४७ अंकले सकारात्मक भई ९२३.५९ मा बन्द भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै ३ करोडले कमी आई २५ करोड ५८ लाख मात्र भयो । 
 
अधिल्लो दिन नेको ईस्योरेन्सको संस्थापक शेयर उपेन्द्र महतो समूहले खरिद गरेको समाचार बाहिर आएपछि सो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । बजार बन्द हुने बेलामा पनि सो कम्पनीको शेयर खरिद गर्न ६ हजार कित्ताको माग बांकी नै थियो । 
 
त्यसैगरी मेट्रो बिकास बैंक, फेवा फाईनान्स र सिद्धार्थ विकास बैंकका शेयरहरु पनि उच्च अंकले बढे । लक्ष्मी बैंकले २० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव गरी कार्तिक २६ मा साधारणसभा गर्ने निर्णय सार्वजनिक गरेपछि त्यसको मूल्य बढ्नुका साथै सबैभन्दा धेरै रकम १ करोड ७३ लाख बराबरको शेयरको कारोबार भयो । त्यसैगरी नेशनल लाईफ ईन्स्योरेन्स, कुमारी बैंक, नेको ईन्स्योरेन्स, प्राईम लाईफ ईन्स्योरेन्स र एशियन लाईफ प्रत्येकका १ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भयो । 
 
अर्कोतर्फ मल्टिप्रपोज फाईनान्स, नारायणी नेशनल फाईनान्स र जानकी फाईनान्सका शेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले घटे । महिनाको अन्तिम दिनको कारोबार सकारात्मक विन्दुमा अडिएर बन्द भएको छ भने अघिकांश समूह सूचकहरु सकारात्मक रहेका छन् । Mero Lagani 
Oct 16, 2014